• १६ वैशाख २०८१, आइतबार

हृदयमा छ तिर्सना कतै

blog

छन्द : मनोरमा


छ दिलकी मुना  लजाउँदै

   प्रणय    ऐसमा    रजाउँदै

      कुसुम  कुञ्जमा   हराउँदै

         अझ छ मिष्ठ  गीत गाउँदै ।१।


मधुर बाँसुरी बजाउँदै

   र सपनाहरू सजाउँदै

     हृदयमा अनेक भावना

        सरस  रम्य फुर्छ सिर्जना ।२।


रहर माझिँदो छ रागमा

 छ ऋतु पाजिँदो  परागमा

   हृदय बाफिँदो छ प्यासले

      समय लम्बिँदो छ आसले ।३।


बिरहका तुफान छन् अझै

   कहरका पुराण छन् अझै

      सहरका कुचाल छन् अझै

         जहरका रछान छन् अझै ।४।


रहरको साधना छ कतै

   छ सपना, कामना कतै ।

     प्रकृतिमा छ अर्चना कतै

          हृदयमा छ तिर्सना कतै ।५। 


        रत्ननगर, चितवन