• ९ मंसिर २०८१, आइतबार

आखिर याद न हो ! (कविता)

blog

यस्तो सोच्छु, 

शिल्पा केवल दिनभरका लागि बाहिर कतै गएको होस् 

साथीहरूसँग मुभी गइरहेको 

सपिङ गरिरहेको 

वा कुनै युवकसँग डेटिङमा गइरहेको कतै आफ्नो प्रिय स्थानमा

कफीसपमा बसेर कुनै फिक्सन पढिरहेको 

वा स्कुलको असाइन्मेन्ट गरिरहेको

बेलाबेलामा मेसेज गर्न बिर्सेर वा साथीहरूसँग व्यस्त भएर 

हामीलाई कुनै अपडेट दिन नसकोस् धेरै बेरसम्म 

थाहा नपाएर

ऊ कहाँ छ र के गरिरहेछ 

हामीहरू बेचैन बनौँ

तर राति धेरै अबेर हुनुभन्दा अघि घर फर्कोस् 

र डोरबेलको पहिलो रिङमै ढोका खोल्दै 

अलि नर्भस जस्तो भएर

हामीहरू सोधुँ,  

कहाँ तिमी थियौ यतिन्जेल ?

र उसले भनोस्,

साथीहरूसँग रमाइलो गर्दै थिएँ 

अलि अबेर भयो ड्याड !

तर आजको दिन साह्रै रमाइलोसँग बित्यो !


आखिर याद न हो 

अगाडि ल्याइदिन्छ कहिल्यै नफर्कने गरी धेरै टाढा गइसकेको मान्छे ।