• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिमको विकासको लागि गम्भीर छु : प्रधानमन्त्री

blog

सुदूरपश्चिमको विकासको लागि १० बुँदे माग राख्दै प्रधानमन्त्रीलाई १० किलो फूलको माला लगाइँदै। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर २२ गते।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमको विकासका लागि आफू गम्भीर रहेको बताउनु भएको छ।  आज धनगढीमा सुदूरपश्चिम महोत्सव एवम् व्यापार मेलाको उद्घाटन गर्नुहुँदै उहाँले स्वास्थ्य, शिक्षा लगायतका विकासको लागि आफूले सुदूरपश्चिमलाई नै सबैभन्दा बढी समय दिदैं आएको बताउनु भएको हो।  

उहाँले सुदूरपश्चिममात्र नभइ समग्र नेपालको आर्थिक विकासको गेम चेन्जरको रुपमा लिइएको कर्णाली–चिसापानी जलविद्युत परियोजना क्याबिनेटबाट पास भइसकेको बताउनुभयो।  एडीबीको आर्थिक सहयोगमा यो परियोजना अगाडि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।  यसैगरी, खप्तड क्षेत्रलाई साँस्कृतिक र प्राकृतिक पर्यावरणीय केन्द्रको रुपमा निर्माण गर्नका लागि नेपाल सरकारले पहल गरिरहेको बताउनुभयो।  

सुदूरपश्चिमसहित समग्र मुलुककै विकास गर्ने पञ्चेश्वर जलविद्युत आयोजनाको डिपिआरलाई अन्तिम रुप दिइएको प्रचण्डले बताउनुभयो।  यसलाई अगाडि बढाउने सहमति भइसकेको उहाँको भनाइ थियो।  यसैगरी, फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको योजनाको रुपमा अगाडि बढाउनका लागि छिट्टै क्याबिनेटबाट निर्णयसमेत गरिने प्रधानमन्त्रीको प्रतिवद्धता छ।  उहाँले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रुपमा अगाडि बढाउनका लागि विधेयक बन्ने क्रममा रहेको उल्लेख गर्नुभयो।  

यस्तै, प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रलय समात्ने बाटोतिर अग्रसर भएको बताउनु भएको छ।  बैङ्कको व्याजदर घटाउने गरी नेपाल राष्ट्र बैङ्कको बोर्डले गरेको निर्णयले पनि मानिसको धेरै आशङ्कालाई हटाएको प्रधानमन्त्रीको भनाइ थियो।  उहाँले भन्नुभयो,“अर्थतन्त्र सुधारतिर गइरहेको छ।  थोरैमात्रै मिहिनेत गरेमा नेपाली अर्थतन्त्रले लय समात्ने छ। ”

बोर्डले गरेको निर्णय पर्याप्त नरहे पनि अर्थतन्त्रमा भएको जटिलतालाई सहजीकरण गर्ने र अर्थतन्त्रको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्रीको विश्वास छ।  उहाँले अबको केही महिनाभित्र अर्थतन्त्रलाई लयमा ल्याउन सकेमा आफ्नो लागि यो भन्दा खुशी र गर्वको कुरा अरु केही पनि नहुने उल्लेख गर्नुभयो।  

गतवर्ष राजस्व, विप्रेषण र विदेशी मुद्रा घटिरहेको बेला आफूले जिम्मेवारी सम्हालेको भन्दै प्रधानमन्त्री प्रचण्डले अगाडि थप्नुभयो,“परिवर्तन नचाहनेहरुले नेपाल त श्रीलङ्का भइसक्यो।  डुबी सक्यो भन्ने एउटा भाष्य नै त्यो बेला बनाए।  अहिले अर्थतन्त्रको समस्याम पूर्ण रुपले समाधान भयो त म भन्दैन।  तर, अब श्रीलङ्का बन्ने खतरा छैन। ”

यद्यपि, अहिले पनि नेपाली अर्थतन्त्र दबाबमा रहेको प्रधानमन्त्रीको भनाइ थियो।  सटरहरु अहिले पनि बन्द रहेका उल्लेख गर्दै उहाँले आर्थिक क्रियाकलापलाई बढाउन जरुरी रहेको औंल्याउनुभयो।  

मुलुकमा अहिले ३० प्रतिशतलेभन्दा बढी रेमिट्यान्स भित्रिएको, विदेशी पर्यटकहरु नेपालको इतिहासमै यो वर्ष सबैभन्दा बढी आएको प्रधानमन्त्रीले बताउनुभयो।  गत महिनादेखि राजस्व उल्लेख्य रुपमा बढिरहेको उहाँको भनाइ थियो।  यसैगरी, विदेशी मुद्राको सञ्चिती १६÷१७ महिनालाई पुग्ने गरी भएको प्रधानमन्त्रीले बताउनुभयो।  

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनू भएका प्रचण्डले नेपालको राजनीति पनि मोटामोटी अब लयमा आएकोे जनाउनु भएको छ।  संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको विरुद्धमा हुने अराजक तथा अतिवादी क्रियाकलापको विरुद्धमा सत्ता पक्ष र प्रतिपक्ष एक भएको उहाँले बताउनुभयो।  प्रचण्डले भन्नुभयो,“त्यस खालको बितण्डा र गतिविधिलाई परास्त गर्ने गरी तयारी भएको छ।”