• १२ साउन २०८१, शनिबार

आकाशे पुल निर्माण योजना अलपत्र

blog

नेपालगञ्जको व्यस्त धम्बोझी चोक । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २२ गते । पन्ध्र महिनामा आकाशे पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता भएको १३ महिना हुँदासमेत काम सुरु हुन नसक्दा नेपालगन्ज र कोहलपुरमा निर्माण गरिने आकाशे पुल निर्माण योजना अलपत्र परेको छ । 

आकाशे पुल निर्माणका लागि सम्झौता भएको १३ महिना बिते पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन रिभ्यु स्वीकृत नगर्दा काम सुरु नभएकाले निर्माण अनिश्चित बनेको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । 

सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्रालयबाट डिजाइन रिभ्यु स्वीकृत भएर नआएकाले निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो ।  

उहाँले डिजाइन रिभ्युका लागि पुल महाशाखामा पठाएको लामो समय भए पनि अहिलेसम्म डिजाइन रिभ्यू स्वीकृत नभएकाले निर्माण अनिश्चित बनेको बताउनुभयो । नेपालगन्जको गणेशमान चोक, बीपी चोक, धम्बोझी चोक, कारकाँदो चोक र राँझा चोक तथा कोहलपुरको एक ठाउँमा आकाशे पुल निर्माणका लागि एक वर्षअघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले शिलान्यास गर्नुभएको थियो । 

आकाशे पुल निर्माणका लागि २८ कात्तिक २०७९ मा चितवनको भरतपुरस्थित डायनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । सम्झौता भएको १५ महिनामा काम सक्ने सहमति भएकोमा १३ महिना बितिसक्दा पनि काम सुरु नहुँदा योजना नै अलपत्र परेको उहाँको भनाइ छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख शाक्यले डिजाइन रिभ्यू स्वीकृत भएपछि मात्र काम अघि बढाउन सकिने बताउनुभयो । उहाँले थप्नुभयो, ‘एक त डिजाइन रिभ्यू भएको छैन । अर्कोतर्फ निर्माण गर्ने भनिएको आकाशे पुल निर्माण शीर्षकमा बजेट नै छैन, सोही कारणले निर्माण अनिश्चित बनेको हो ।’

पूर्व मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा नेपालगन्जमा चार र कोहलपुरमा एक गरी पाँचवटा आकाशे पुल निर्माण गर्ने योजना परेको थियो । सो बारेमा पूर्व मन्त्री राईसँग प्रतिक्रिया माग्दा उहाँले बाँकेबाट विजयी सांसदले चासो नदिँदा आकाशे पुल निर्माणले गति लिन नसकेको बताउनुभयो । 

पूर्वमन्त्री राईले यस विषयमा आफूले विभागीय मन्त्री, मन्त्रालयका उच्च पदाधिकारी र पुल महाशाखाका कर्मचारीलाई निरन्तर ताकेता गरिरहेको वताउनुभयो । डिजाइन रिभ्यू छिट्टै स्वीकृत गरेर काम अघि बढाउने आश्वासन पाएको पनि राईको भनाइ छ ।  बढ्दो यातायातको चापलाई मध्यनजर गरेर नेपालगन्ज र कोहलपुरका विभिन्न चोकमा आकाशे पुल निर्माण अपरिहार्य भएको स्थानीयको बुझाइ छ ।