• १२ फागुन २०८०, शनिबार

सामुदायिक सिकाइ केन्द्रले सहज बनाएको कृषिकर्म

blog

तरकारी खेतीमा व्यस्त चन्द्रबहादुर जिसी । तस्विर : नवीन शाही

नवीन शाही

सुर्खेत, मङ्सिर २२ गते । घर परिवारको खर्च जोहो गर्न भारतको गुजरात पुग्ने चन्द्रबहादुर जिसी अहिले आफ्नै आँगनमा व्यस्त हुनुहुन्छ । रेडियोमा कृषि कार्यक्रम सुनेपछि तरकारी खेती सुरु गर्नुभएको जिसीले २०७१ सालदेखि कृषकको परिचय बनाउनुभएको छ । 

त्यसयता परिवारका चार जना सदस्यको वार्षिक कम्तिमा साढे चार लाख चोख्खो नाफा बचत हुने गरेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ बस्ने जिसी अहिले १७ रोपनी जग्गामा तरकारी खेती गर्नुहुन्छ । त्यसमध्ये ७ रोपनी जग्गा भाडामा लिनुभएको छ । उहाँले उत्पादन र बजार देखेपछि खेतीयोग्य जमिन बढाउनुभएको हो । 

"१६ वर्षसम्म भारतमा काम गरेँ । गतिलो आम्दानी हुन सकेन," जिसीले भन्नुभयो, "अहिले घरमै वार्षिक साढे चार लाख चोख्खो नाफा बचत हुन्छ । सुरुका वर्ष १ रोपनीमा लगाएको खेती अहिले १७ रोपनीमा पुगेको छ । अब नाफा बढ्ने अनुमान छ ।"

जिसीले वार्षिक मौसम अनुसार आलु, काउली, बन्दा, प्याज, सिमी, काँक्रा, करेला लगायतका तरकारी फलाउने गर्नुभएको छ । अब आगामी वर्षदेखि भने बेमौसमी प्याज खेती गर्ने योजना बुन्नुभएको छ । यस पटक गरिएको परिक्षणमा बेमौसमी प्याज राम्रै उत्पादन भएपछि प्याज खेती गर्ने निचोडमा पुग्नुभएको हो । उहाँले अहिले तरकारीमा रसायनिक विषादी निषेध गर्नुभएको छ । आफैंले विभिन्न प्रविधिबाट बनाएको मल प्रयोग गर्नुभएको छ । तरकारी खेतीमा गड्यौलाबाट उत्पादन भएको मल प्रयोग गर्नुभएको छ । विषादीको रुपमा उनले तरकारीमा भर्मीवाशको प्रयोग गर्नुहुन्छ । भर्मीवाश भनेको गड्यौलाबाट निकालिने पानी हो । यसलाई विभिन्न किसिमका म्याक्रो, सुक्ष्म र लाभकारी पोषक तत्वहरु साथै लाभकारी सुक्ष्मजीव, वृद्धिहार्मोन, भिटामिन इन्जाइम र एमिनो एसिडहरु हुने कारणले दिगो कृषिमा बोटविरुवाको पोषणको रुपमा प्रयोग गरिन्छ ।

तरकारीमा लाग्ने किरा फट्याङ्ग्रा भगाउन विभिन्न प्रविधीको प्रयोग गर्नुभएको छ । "विषादी गर्दाभन्दा अहिले खर्च पनि कम भएको छ । पहिलाको तुलनामा कम्तिमा ३० प्रतिशत खर्च घटेको छ। त्यसले गर्दा आम्दानीमा टेवा पुगेको छ," जिसीले भन्नुभयो, "शरिर चिलाउने, आँखा पोल्ने जस्ता शारिरिक समस्या पनि हट्ने रहेछ ।" 

जिसीको तरकारी खेतीलाई अहिले सामुदायिक सिकाई केन्द्रले प्रोत्साहन गरिरहेको छ । एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) र वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड)सँगको साझेदारीमा ग्रेप परियोजनाले सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ साँधीखोलामा सामुदायिक सिकाई केन्द्र स्थापना गरिदिएको हो । यो परियोजना अन्र्तगत सुर्खेतका भेरीगङ्गा सहित वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकामा १–१ वटा सिकाई केन्द्र स्थापना गरिएको छ । 

जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा देखिएको समस्या न्यूनीकरण गर्न र सरल तथा किफायती प्रविधिबाट अनुसन्धान गर्ने उद्देश्यले सिकाई केन्द्र स्थापना गरिएको सिप्रेडका ग्रेप परियोजना संयोजक शंकर न्यौपानेले बताउनुभयो । यसमा जलवायु उत्थानशील कृषि अभ्यासहरु एकै ठाउँमा अभ्यास गरि प्रदर्शन गरिन्छ । 

न्यौपानेका अनुसार सबै सामुदायिक केन्द्रमा विभिन्न प्रबिधि जस्तै झोलमलको उत्पादन तथा प्रयोग, गँड्यौले मलको उत्पादन तथा प्रयोग, भर्मीवाशको उत्पादन तथा प्रयोग, विभिन्न जैविक मल तथा जैविक विषादीको परिक्षण तथा तरकारीमा लाग्ने किरा अनुसारको मोहनी पासोको प्रयोग गरि प्रदर्शन हुने गरेको छ । 

मुख्यतया सामुदायिक सिकाई केन्द्रमा माटो व्यवस्थापन, पौष्टिक तत्व व्यवस्थापन तथा पानी व्यवस्थापन सम्बन्धि परिक्षण तथा प्रदर्शन गरिन्छ । साँधीखोला सिकाई केन्द्रमा भेरीगङ्गाका ७ वटा समूहका १७९ कृषक लाभान्वित छन् । त्यसमध्ये अहिले विषादी न्यूनीकरण कृषक समूहले सिकाई केन्द्रको नेतृत्व गरिरहेको छ । यो परियोजना कर्णालीका सुर्खेतसहित दैलेख र हुम्ला जिल्लाका विभिन्न ९ स्थानीय तहमा सञ्चालित छ ।

परियोजनाले जलवायु परिवर्तन तथा जोखिमका कारणले कृषि क्षेत्रमा देखा परेको समस्याहरुको पहिचान, जलवायुमैत्री प्रविधिहरुको पहिचान र अनुसन्धान, रसायनिक विषादीका वैकल्पिक विधिहरुको पहिचान र अनुसन्धान गर्ने, सरल थोरै खर्च, घरेलु र समुदायमा पाईने सामग्रीहरुको प्रयोग गरि उत्पादन गर्ने विधिहरुको पहिचान र अनुसन्धान, जैविक र अर्गानिक उत्पादन गर्ने कार्य उद्देश्य छ । 

जलवायु परिवर्तनले कृषि क्षेत्रलाइ निकै असार परिरहेकाले विभिन्न स्थानीय र सरल प्रविधिको परिक्षण गरि समुदाय स्तरमा पुर्याउन जरुरी छ जसले गर्दा उत्पादनमा वृद्धि गरि जीविकोपार्जनमा थप टेवा पुग्ने परियोजनाको विश्वास छ ।