• १२ साउन २०८१, शनिबार

माइपोखरी त्रि-धार्मिक महायज्ञमा ३६ लाख रुपियाँ सङ्कलन

blog

रामसार सूचीमा सूचीकृत इलामको धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी । तस्विर : कोकिला ढकाल ।

कोकिला ढकाल 

इलाम, मङ्सिर २२ गते । इलामको माइपोखरीमा मङ्सिर १ देखि ८ सम्म आयोजित त्रि–धार्मिक महायज्ञमा ३६ लाख ३३ हजार रुपियाँ सङ्कलन भएको छ । महायज्ञ आयोजक समितिले महायज्ञको आम्दानी र खर्च विवरण सर्वजनिक गर्दै महायज्ञमा २८ लाख ७७ हजार रुपियाँ खर्च भएको जनाएको छ । 

महायज्ञको मुख्य आम्दानीतर्फ बैंक खातामा आठ लाख ३७ हजार, आरती र भेटीबाट छ लाख ६५ हजार, इलाम नगरपालिकाबाट एक लाख ११ हजार, रोङ गाउँपालिकाबाट ४० हजार (प्राप्त हुन बाँकी) छ । यसैगरी, विभिन्न दाताबाट ७८ हजार रुपियाँ प्राप्त हुन बाँकी रहेको आयोजक समिति कोषाध्यक्ष निर्मला निरौलाले बताउनुभयो । 

कोषाध्यक्ष निरौलाका अनुसार मुख्य खर्चतर्फ खाद्य तथा पूजा सामग्रीमा छ लाख २९ हजार, गुरुभेटी तथा दान–दक्षिणामा आठ लाख ३२ हजार, व्यवस्थापकीय खर्च सात लाख २८ हजार, प्रचारप्रसारमा चार लाख १६ हजार तथा यातायातमा एक लाख ७७ हजार रुपियाँ खर्च भएको छ । 

महायज्ञमा हिन्दु, बौद्ध र किराँत परम्परा अनुसार श्रीमद्भागवतसहित अन्य धर्मग्रन्थको धर्मगुरुहरुबाट वाचन तथा प्रवचन गरिएको थियो । महायज्ञ अवधिमा करिब ६० हजार भक्तजनले माइपोखरीको दर्शन गरेका थिए । 

रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीलाई जैविक विविधताको दृष्टिले महत्वपूर्ण सम्पदा मान्ने गरिएको छ ।