• २१ असार २०८१, शुक्रबार

वराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

blog

बराहक्षेत्र (सुनसरी),   मङ्सिर २२ गते । पछिल्लो समय सुनसरीको वराहक्षेत्रमा घुम्नआउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै वराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिउँद लागेसँगै विशेषगरी कात्तिकेमेला र माघीमेलामा बढी तीर्थालु भक्तजन वराहक्षेत्र मन्दिर आउने गरेका छन् ।”

वराहक्षेत्र मन्दिरमा पूजाआजा एवं कोकाकौशिका नदी र सप्तकोशीको जलले स्नान गर्न धार्मिक पर्यटक यहाँ आउने गर्दछन् ।  उहाँले भन्नुभयो, “यसपटकको कात्तिकेमेलामा झण्डै चार लाख पर्यटक वराहक्षेत्र आएका छन् । ”

वराहक्षेत्र मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म कात्तिकेमेला लाग्ने गर्दछ । मेलामा नेपालका विभिन्न जिल्लासहित भारतको बिहारबाट तीर्थालु भित्रिने गरेको वराहक्षेत्र नगरपालिका वडा नं १ का वडाध्यक्ष किसन थापाले बताउनुभयो ।

चार क्षेत्रमध्येको एक क्षेत्र मानिएको वराहक्षेत्रमा हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल रहेको वराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “किंवदन्तीअनुसार पृथ्वी आकाशगङ्गामा हराएको बखत सम्पूर्ण प्राणीजगतकाे उद्धार गरेर यस ठाउँमा वराह भगवानकाे अवतार भएको मानिन्छ । यही  विश्वासले महिमागान गर्दै वराहक्षेत्रको दर्शन गर्न तीर्थालु आउने गर्दछन् ।”

वराहक्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने विश्वास छ ।  साथै वराहक्षेत्र मन्दिरमा भाकल गर्ने, पूजा गर्ने, कोकाकौशिका नदीमा स्नान गर्नाले पाप नष्ट भ आनन्द प्राप्त हुने जनविश्वास छ ।  रासस