राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर २२ गते । स्याङ्जाको गल्याङ नगरपालिकाले छोरीको जन्मदर बढाउन ‘नगरकी छोरी’ कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय छोरीहरूको जन्मदर कम हुँदै गएको भन्दै पालिकाले यस्तो कार्यक्रम सुरु गरेको जनाएको छ
छोरी जन्माउने आमालाई समाजले हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको भन्दै प्रोत्साहन स्वरूप यस्तो कार्यक्रम सुरु गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“छोरी पाउने अभिभावकलाई हौसला प्रदान गर्न र छोराछोरीको जन्मदरलाई व्यवस्थापन गर्ने हाम्रो लक्ष्य हो ।”
समाजमा रहेको लिङ्गका आधारमा विभेदलाई अन्त्य गर्न पालिका सक्रिय रहेको उहाँको भनाई छ ।
कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको साउन यता जन्मिएका छोरीहरूका लागि नगरपालिकाले रु.पाँच हजार सहित खाता खोलिदिन सुरु गरेको प्रमुख भट्टराईले बताउनु भयो ।
नगरपालिकाले खाता खोलेर छोरीका नाममा राखिदिएको पाँच हजार रुपियाँ छोरी १८ वर्षकी भएपछि मात्रै झिक्न मिल्ने व्यवस्था गरिएको छ ।
गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले वडा नम्बर ३ का मिना दर्जीकी आठ दिनकी छोरीको नाममा गरिमा विकास बैङ्कमा खाता खोलेर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
संविधानले महिला अधिकारका क्षेत्रमा धेरै काम गरे पनि व्यवहारिक रूपमा छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन यो कार्यक्रम सुरु गरिएको उपप्रमुख न्यौपानेको भनाई छ ।
पलिकाले गर्भावस्थाका महिलाहरूलाई लक्षित गरी अण्डा वितरण,सुत्केरी भेटघाट सहित कार्यक्रम यसअघिबाट नै सञ्चालन गरिरहेको उहाँको भनाई छ ।
दर्जीकी छोरीको नामकरण पछि नाम सहितका कागजी प्रक्रिया पुरा भएपछि खाता सञ्चालन हुने गरिमा बैङ्ककी कर्मचारी कोपिला भट्टराईले जानकारी दिनुभयो ।
केही हप्ता अघि बसेको कार्यपालिका बैठकले महिला सशक्तीकरणको कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा जन्मेका छोरीहरूका लागि बैङ्क खाता खोलेर पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।
‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत मिना मिजार की आठ दिनकी छोरीको बैङ्कमा खाता खोलेर नगद जम्मा गरिदिँदै नगर उपप्रमुख हेमा न्यौपाने लगायत । तस्बिर: गोरखापत्र