• १२ साउन २०८१, शनिबार

माछामा आत्मनिर्भर बन्दै किसान

blog

पूर्वी नवलपरासीमा फस्टाउँदो माछापालन व्यवसाय ।

होमराज रानाभाट 

कावासोती, मङ्सिर २१ गते । पूर्वी नवलपरासीमा माछा पालनमा किसानको आकर्षण बढ्दै गएपछि जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको छ । जिल्लाको दक्षिणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका कावासोती, देवचुली, मध्यबिन्दु नगरपालिकाका धेरै भागमा व्यक्तिगत तथा सामूहिक रूपमा माछापालन गरिँदै आएको छ । 

निकुञ्जबाट निस्किने गैँडा, बँदेल, हरिण लगायतका जङ्गली जनावर आएर खेती नष्ट गर्ने क्रम बढ्दै गएपछि अहिले किसान खेती गर्न छाडेर माछापालनतर्फ आकर्षित हुन थालेका देवचुलीका कृषक प्रदीपराज घिमिरेले बताउनुभयो । खेती गर्दा आफूले कहिल्यै पुरा बाली स्याहार्न नपाएको तर अहिले माछापालन सुरु गरेपछि आर्थिकपार्जोनसँगै जङ्गली जनावरले दुख दिने झन्झटबाट मुक्त भएको कावासोती नगरपालिका १३ पिठौलीका किसान लक्ष्मी प्रसाद न्यौपानेले बताउनुभयो ।

पूर्वी नवलपरासीमा रहु, नैनी, सिल्भर कार्प, ग्रास कार्प लगायत स्थानीय जातका माछापालन गरिएको छ । चार वर्षअघि प्रयोगशाला स्थापना भएपछि माछा पोखरीमै पुगेर प्यारामिटर परीक्षण गर्नेदेखि नयाँ पोखरी निर्माण गर्दा लागत साझेदारीको आधारमा रोपनिको हिसाबले अनुदान दिइएकाले पनि यो वर्ष नवलपरासी पूर्वमा माछा उत्पादन बढ्ने माछापालन व्यवसायी तथा माछापालन व्यवसायी सङ्घका केन्द्रीय सहसचिव इन्द्र भुसालले बताउनुभयो ।

जिल्लामा तीन हजार चार सय रोपनी क्षेत्रफलमा दुई हजार तीन सय बढी साना ठुला पोखरीबाट यस वर्ष अघिल्लो वर्षभन्दा ३० प्रतिशतले माछा उत्पादन बढ्ने आङ्कलन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीले जनाएको छ । गत वर्ष एक हजार तीन सय मेट्रिक टन माछा उत्पादन भएको मा यस वर्ष करिब एक हजार आठ सय मेट्रिक टन पुग्ने अनुमान गरिएको व्यवसायी भुसालले बताउनुभयो ।

केही वर्ष अघिसम्म भारतीय माछामा निर्भर रहेको जिल्लामा माछापालन गर्ने किसानको सङ्ख्या र उत्पादन बढेसँगै जिल्ला माछा उत्पादनमा आत्मनिर्भर हुँदै गएको हो । जिल्लाका सबै पोखरी र घोलमा हुने माछापालन व्यवसायबाट वार्षिक १२ करोड बढी मूल्यको माछा उत्पादन हुँदै आएको माछा पालन कृषक समितिका केन्द्रीय सहसचिव भुसालले बताउनुभयो । 

पूर्वी नवलपरासीमा छ हजार बढी जनसङ्ख्या प्रत्यक्ष मत्स्यपालन संलग्न रहेको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जिल्लामा उत्पादन भएको माछा अहिले रु तीन सय ५० देखि चार सय ५० रुपियाँ प्रतिकेजी विक्री वितरण हुने गरेको छ भने जिल्लामा माछाको बढ्दो माग भएकाले प्रयोग विहीन घोल, त्रिवेणीक्षेत्रका जग्गालाई पोखरी बनाई माछा उत्पादनमा वृद्धि गर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीले बताउनुभयो । 

जिल्लाको रजहर, त्रिवेणी, कावसोती, अग्यौली, दलदले, कोल्हुवामा सानो भुरा माछा राख्न कलागी नर्सरी समेत स्थापना गरिएको र जिल्लामा भुरा माछाभन्दा खाने माछाको माग बढी भएको तिवारीको भनाइ छ । थोरै लगानीले धेरै आम्दानी हुने भएकाले अपेक्षाभन्दा सजिलो रहेको किसानहरू माछा पालन व्यवसायप्रति आकर्षित भएको किसान लक्ष्मी प्रसाद न्यौपानेले बताउनुभयो ।