• २१ असार २०८१, शुक्रबार

पञ्चासेमा बालाचतुर्दशी मेला

blog

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर २१ गते । स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा आउने सोमबार पहिलो पटक भजन कीर्तन प्रतिस्पर्धा तथा बालाचतुर्दशी मेला हुने भएको छ । 

यहाँ मुख्य गरी आँधिखोला गाउँपालिका–४ मा पर्ने पञ्चासेमा पालिकाको आर्थिक सहयोगमा भजन कीर्तन तथा मेला हुन लागेको हो । श्रवणकुमार समाधि क्षेत्र संरक्षण तथा तथा बिकास समितिको आयोजनमा गरिएको प्रतिस्पर्धामा तीन जिल्लाका ५० भन्दा बढी भजन कीर्तन समूहको सहभागिता हुने बताइएको छ ।  

आँधिखोलाले पहिलो पटक गर्न लागेको भजनकीर्तन कार्यक्रम तथा मेलामा पहिलोले आठ हजार, दोस्रोले ६ हजार, तेस्रोले चार हजार र चौथोले दुई हजार नगद हात पार्नेछन् । 

अन्धाअन्धी दह तथा समाधिस्थलको विश्वमै परिचित गराउने उद्देश्यले पछिल्लो क्रममा गाउँपालिका सक्रिय रुपमा लागेको छ । गाउँपालिका अध्यक्ष विश्व पौडेलले हरियाली जङ्गल र योगाका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य नै पञ्चासे रहेको बताउनुभयो । 

सुनाखरीको राजधानी भनेर चिनिएको पञ्चासेमा थरीथरीका चरा, सुनगाभा र जडीबुटी पाइने गरेको छ । प्राकृतिक सौन्दर्य नियाल्न पञ्चासे उपयुक्त स्थान रहेको पौडेलले बताउनुभयो । दुई हजार ५१७ मिटर उचाइमा रहेको पञ्चासेबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरि, लमजुङ र मनास्लु हिमाल प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । यहाँ हरेक वर्ष बालाचतुर्दशी सतबिज छर्न हजारौंको सङ्ख्यामा पञ्चासेमा सर्वसाधारण आउने गर्दछन् ।