काठमाडौं, मङ्सिर २० गते । कनफट्टा जोगी कथामा आधारित जोगीको फेरी परम्परा नामक वृत्तचित्रले अवार्ड प्राप्त गरेको छ ।
पत्रकार भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेको उक्त वृत्तचित्रले गत मङ्सिर १५, १६ र १७ गते भारतको बनारसमा आयोजित संस्कृति र पर्यटन सम्बन्धी लघु चलचित्र महोत्सवमा अवार्ड हात पारेको हो ।
महोत्सवमा प्रदर्शनका लागि छनौटमा परेका ४४ देशका ९४ फिल्म मध्ये पत्रकार श्रेष्ठका वृत्तचित्रले पनि अवार्ड पाएको हो ।
श्रेष्ठलाई एक समारोहबीच आयोजक संस्थाका अध्यक्ष देवन्द्र खंडेलवालले अवार्ड प्रदान गर्नुभयो । विश्वका एक सय १५ देशबाट ३ हजार दुई सय १२ फिल्ममध्येबाट प्रर्दशनका लागि छनौट भएका ९४ फिल्ममा श्रेष्ठले निर्माण तथा निर्देशन गरेको ‘जोगीको फेरी परम्परा’ र ‘मकै विवाह गरी २’ वृत्तचित्र पनि छनौट भएको थियो । ती मध्ये जोगीको फेरी परम्पराले संस्कृति विधा अन्तर्गतको अवार्ड पाएको हो ।