• १३ साउन २०८१, आइतबार

किवी फलका लागि ‘कुलबुट’ प्रभावकारी

blog

देउमाइ नगरपालिका –३ मा किवी भण्डारणका लागि निर्माण गरिएको कुलबुट । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, मंङ्सिर २० गते । किवी फल उत्पादन पछि भण्डारण गर्न नसक्दा घाटा सहन बाध्य भएका इलामका किसानका लागि ‘कुटबुट’ यतिबेला निकै प्रभावकारी भएको छ । 

कृषि ज्ञान केन्द्र इलामको सहयोगमा जिल्लाका विभिन्न स्थानमा कुलबुट निर्माण गरिएपछि किवी भण्डारणका लागि सहयोग मिलेको किसानले बताएका छन् । पछिल्लो समय इलाममा किवी खेती तथा उत्पादन विस्तारको क्रम बढेको छ । तर, भण्डारण अभावले टिपेको करिब एक महिना मात्रै टिक्ने किवीलाई कुटबुटमा राख्न थालेपछि करिब पाँच–छ महिना राख्न सकिने हुँदा त्यसबाट फाइदा भएको देउमाइ नगरपालिकाका किसान दीपेन्द्र रानामगरले बताउनुभयो । 

‘कुटबुट उपयोगी छ । यसलाई ट्रायलका रूपमा लिएका छौँ’ रानामगरले भन्नुभयो, ‘कस्तो टिकाउ हुन्छ भनेर ट्रायलकै लागि उत्पादनको ५० प्रतिशत किवी यहाँ राखिएको छ ।’ रानामगरले २५ रोपनी जमिनमा किवी खेती गरिरहनु भएको छ । यो कुलबुटमा हेवार्ड, एलिसन, मुन्टीलगायत जातका किवी राखिएको छ ।

कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा सन्दकपुर गाउँपालिका र माइजोगमाइ गाउँपालिकामा पनि अन्य छ वटा कुलबुट निर्माण गरिएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । प्रत्येक कुलबुटलाई प्रतिगोटा पाँचलाख रुपियाँ सहयोग गरिएको छ भने किसानको बाँकी एक लाख ६७ हजार रुपियाँ लागत रहेको बताइएको छ । 

कुलबुट निर्माणपछि खेर जाने किवीलाई कम्तीमा पाँच–छ महिना टिकाइ राख्न सहयोग पुगेको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी वर्देवाले बताउनुभयो । ‘एउटा कुलबुटमा पाँचदेखि सात मेट्रिक टन किवी राख्न सकिन्छ । यो किवी किसानहरूले आगामी चैत–वैशाखसम्म राखेर बिक्री गर्न सक्नेछन्’ वर्देवाले भन्नुभयो, ‘वर्षैनि किवीको उत्पादन पनि बढिरहेको छ ।’ 

जिल्लाको सातसय हेक्टरमा भइरहेको किवी खेतीबाट दुईसय हेक्टरमा उत्पादन सुरु भएको ज्ञान केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष इलाममा एक हजार आठसय ४० मेट्रिक टन किवी उत्पादन भएको थियो । यो वर्ष भने किवीको सबै तथ्याङ्क आइसकेको छैन । 

तर, उत्पादन बढिरहेकाले यो वर्ष किसानले एकसय रुपियाँ प्रतिकिलो मात्र किवी बिक्री गरिरहेको बताएका छन् । दुई वर्ष अघिसम्म किसानले बोटबाटै प्रतिकिलो दुईसय पचासदेखि तीनसय रुपियाँ प्रतिकिलोका दरले किवी बिक्री गरिरहेका थिए ।