अरुण गाउँपालिका कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरको सुगम गाउँपालिका हो । नारदमुनि थुलुङ राजमार्गले बिच भागबाट काटेको पालिकामा सात वटा वडाको क्षेत्रफल १५४.७६ वर्ग किमीमा १७ हजार ६८७ जनसङ्ख्या छ । स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएका गाउँपालिका अध्यक्ष शालिकराम खत्रीसँग भोजपुर जिल्लाका गोरखापत्र समाचारदाता गोकुल भुजेलले गर्नुभएको अन्तर्वार्ता:
पालिकाको नेतृत्व लिएको साढे एक वर्षसम्म तपाईंको अनुभव कस्तो रह्यो ? कुन कुन क्षेत्रमा के के काम गर्नुभयो ?
विगत लामो समयदेखि म राजनीतिक सेवामै समर्पित भएकाले त्यस्तो नयाँ अनुभूति त भएको छैन । पालिका अध्यक्ष भएसँगै मलगायत सबै जनप्रतिनिधिको सहकार्यमा पालिकाको सात वटै वडामा विद्युत्को पहुँच प्रायः पुगेको छ । सोही आधारमा हामी पालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारीमा छौँ । शिक्षा क्षेत्रमा पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकालाई लक्षित गरी गाउँपालिका केन्द्र प्याउलीमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर अरुण बहुमुखी क्याम्पस सञ्चालनको अन्तिम तयारीमा छौँ । पालिका क्षेत्रभरिका सामुदायिक विद्यालयमा सूचना प्रविधिमैत्री वातावरणमा शिक्षण सिकाइ तथा इलर्निङ माध्यमबाट पठनपाठन जारी छ भने स्थानीय पाठ्यव्रmम तयारी पारी पठनपाठन गर्ने तयारी गरेका छौँ । भौतिक पूर्वाधार तथा सडक, यातायात क्षेत्र अन्तर्गत बर्सेनि कृषि सडक निर्माण हँुदै आएका छन् । यस आर्थिक वर्षमा पनि जरायोटार–सिक्रेटार, जरायोटार–पालपाले, प्याउली–याकु–भर्लाबोट, प्याउली–चम्पे–हिलेभन्ज्याङ सडक प्रत्येकमा एक करोडभन्दा बढीको लागतमा निर्माण जारी छ । कृषि क्षेत्रमा पालिका क्षेत्रभरिका साना, ठुला कृषक, अग्रज तथा युवा कृषि उद्यमीलाई प्रोत्साहनका कार्यक्रम, तालिम, अनुदान, चिस्यान केन्द्र सञ्चालन, चिलिङभ्याट सञ्चालन गरेका छौँ । स्वास्थ्यको क्षेत्रमा तत्काल १५ श-याको अस्पताल सञ्चालनार्थ भवन निर्माणको काम अन्तिम चरणमा रहेको छ । करिब ५० लाख लागतमा डिजिटल एक्सरे सञ्चालन गर्ने, प्रविधिमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भइरहेको छ । पालिकाभरि रहेका सानाठुला पानीका मुहान मर्मत तथा संरक्षण गर्ने, बृहत् खानेपानी आयोजना सञ्चालन गर्न भोजपुर नगरपालिकासँग सहकार्य गरी सिमिखाम भामराङबाट पानी ल्याउने तयारी भएको छ । सामाजिक सुरक्षा भत्ता घर घरमा गएर वितरण गर्दै आएका छौँ । सुत्केरी महिलालाई घरमै गएर पोषणयुक्त खाद्य सामग्री प्रदान गर्दै आएका छौँ ।
तपाईंको सार्वजनिक घोषणापत्र, वाचा तथा जनताका दुःखलाई सम्बोधन गरेको छु जस्तो लाग्छ ?
चुनावी घोषणापत्र तथा प्रतिबद्धताहरू हाम्रा लागि मार्गचित्र हुन् । विकास जादुको छडी हैन तर निर्वाचनपश्चात् अहिलेसम्म आइपुग्दा सन्तोषजनक काम भएका छन् । कार्य प्रगतिको आधारमा हेर्ने हो भने पनि विकास र परिवर्तन भएको आभास हुन्छ । कृषि तथा मुख्य राजमार्ग जोड्ने सडकमा वार्षिक १० करोडभन्दा बढीका काम भइरहेका छन् । बिजुली ९० प्रतिशत घरपरिवारमा जडान भइसकेको छ । गाउँपालिकाको प्रशासनिक भवनका लागि जग्गा प्राप्ति तथा भवन निर्माणको अन्योल हटाउने काम भइरहेको छ ।
अरुणमा मिश्रित कार्यपालिका रहेको छ, निर्णय प्रव्रिmयामा बाधा अवरोध तथा महìवपूर्ण विषयमा निर्णय गर्न समस्या भएको छ कि ?
गाउँ कार्यपालिकामा तीन वटा पार्टी (कांग्रेस, एमाले, माओवादी) का प्रतिनिधि निर्वाचित भएका छौँ । गाउँपालिकामा हुने नीति, बजेट तथा कार्यक्रम बहुमतद्वारा पारित हुन आवश्यक छ । पालिका, वडा तथा कार्यपालिकाको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिले सार्वजनिक सरोकारका विषयमा छलफल, अन्तव्रिर्mयासहित निर्णय भएको छ । हामी सबैको साझा उद्देश्य जनतालाई सेवा प्रवाह गर्नु भएकाले स्वाभाविक मनमुटाव भए पनि निर्णय समयमै हुनुका साथै प्रभावकारी कार्यान्वयन भएका छन् ।
पालिकाको चौतर्फी विकासमा स्थानीय राजनीतिक दल, नागरिक समाज तथा बुद्धिजीवी, पालिकाका कर्मचारीको भूमिका कस्तो छ ?
पालिका क्षेत्रमा भौतिक पूर्वाधार, कृषि, उद्योगधन्दा, कलकारखाना, रोजगार, ज्ञान, सिपलगायत चौतर्फी विकासका लागि सबैको भूमिका सकारात्मक रहेको छ । स्थानीय तहमा काम गर्ने कर्मचारीलाई प्रदेश तथा सङ्घको निजामती ऐन, कानुनले गर्दा निराशा त छ तर उहाँहरूमा असहयोगी भावना छैन । सबै जनप्रतिनिधिसँग कर्मचारीको सम्बन्ध राम्रै छ भन्न चाहिँ सकिँदैन तर नराम्रो भएको भन्ने सुनिएको छैन ।
विकासका पूर्वाधारमध्ये तपाईंको प्राथमिकतामा के के छन् ?
मुख्यतः रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि नै प्राथमिकताका क्षेत्र हुन् । हामीभन्दा अघि आउनुभएका जनप्रतिनिधिले गरेका राम्रा कामलाई पूरा गर्ने तथा थप नयाँ कार्यक्रम सञ्चालन गरी जनताको समस्या समाधान गर्नु पर्छ भन्ने मान्यता राखेको छु । दिगो विकास तथा बहुवर्षीय योजनामा गुरुयोजनासहित काम भएका छन् । किवी, सुन्तला, आँप, कटहरलगायत फलफूल खेती, दुधमा आत्मनिर्भर तथा गाई, भैँसी तथा बाख्रा, पशुपालन, चिस्यान केन्द्र स्थापना तथा सञ्चालन आजको आवश्यक्ता हो ।
तपाईंको पालिका धार्मिक तथा सांस्कृितक महìवको क्षेत्रमा अब्बल छ, त्यसलाई कतिको प्राथमिकतामा राख्नुभएको छ ?
वास्तवमा अरुण गाउँपालिकामा क्षेत्री, बाहुन, मगर, राई, भुजेल, नेवार, तामाङ, गुरुङ, थामीलगायत धेरै जातिको बहुभाषा, धर्म, संस्कार संस्कृतिको विविधता छ । पातले गुफा, कोटगढी, दूरपिन डाँडा, हरेलो डाँडा, मनकामना मन्दिर, शिवालय, चण्डी, लाखे, मारुनी, बालन नाचहरू संस्कार संस्कृतिका जीवन्त उदाहरण हुन् । पालिकाले उक्त क्षेत्रको संरक्षण संवर्धनमा वार्षिक कार्यक्रम तय गरी बजेट विनियोजनसहित काम पनि गरेको छ ।
पालिकालाई प्रदेश र सङ्घको सहयोग कस्तो छ ?
वडा कार्यालयदेखि पालिकाको केन्द्र जोड्ने सडक, बृहत् खानेपानी, स्वास्थ्य क्षेत्रमा भवन तथा उपकरण खरिद, विद्यालय, वडा कार्यालय भवनलगायत क्षेत्रमा प्रदेश तथा सङ्घको सहयोग रहेको छ । वार्षिक १० देखि २० करोड रुपियाँसम्मका ठुला आयोजना पालिकाले प्रदेश र सङ्घको सहयोगमा सञ्चालन गर्दै आएको छ ।
स्थानीय तहमा व्यापक भ्रष्टाचार र सुशासनका बारेमा प्रश्न उठने गरेका छन्, अरुणमा यसको अवस्था कस्तो छ ?
स्रोतसाधनको उपलब्धतासँगै सुशासनमा प्रश्न आउनु स्वाभाविक हो तर अरुण गाउँपालिकामा नागरिक सचेतना, महिला सशक्तीकरण, कर्मचारी व्यवस्थापन प्रभावकारी भएकाले हामी काम गर्न सफल भएका छौँ । विषयगत शाखालाई पूर्ण जिम्मेवार बनाएर काम गर्दा नतिजा उपलब्धिमूलक पाएका छौँ । कुनै कर्मचारी दबाब र प्रभावमा नपरी काम गर्ने वातावरण सिर्जना गरेका छौँ । यो नै समृद्ध समाजको कडी हो जस्तो लाग्छ ।
पाँचवर्षे कार्यकालमा पालिकालाई कस्तो बनाउने परिकल्पना छ ?
गाउँपालिका क्षेत्रमा कम्तीमा एउटा उद्योग सञ्चालन गर्ने, गाउँमै स्वरोजगार हुने वातावरण सिर्जना गर्ने, खानेपानीको दिगो समाधान, सडक तथा यातायात क्षेत्रमा बाह्रैमास सवारीसाधन सञ्चालन गर्ने, पूर्ण विद्युतीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य खाद्यान्नको व्यवस्था तथा सुनिश्चितता, रोजगारीको ग्यारेन्टी हाम्रो पहिलो प्राथमिकता हो ।