• १३ असोज २०८१, आइतबार

नेपाल भाषाको संरक्षणमा जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १७ गते । बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले शनिबार दोस्रो विश्व नेवाः हाजिरीजवाफ प्रतियोगितामा विजेता टिमहरूलाई नगदसहित पुरस्कृत गर्नुभएको छ । विश्वमा छरिएर रहेको नेवार समुदायको छाता सङ्गठन वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरको आयोजनामा भएको सो प्रतियोगितामा ल्वंचामरी समूहले विजेता बनेर एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त ग-यो । यसै गरी उपविजेता अंय्थ्यामरी समूहले आठ सय डलर, तेस्रो हुने चटामरी समूहले छ सय डलर र  सान्त्वना पुरस्कार जित्ने प्यारमरीले चार सय अमेरिकी डलरका हकदार बने ।

नेपाल भाषामा यो सर्वाधिक पुरस्कार राशिको हाजिरी जवाफ प्रतियोगिता हो । आयोजकका अनुसार यस प्रतियोगिताको कुल पुरस्कार रकम तीन हजार ६८० अमेरकी डलर रहेको छ । यस प्रतियोगितामा नेपालका १७ र नेपाल बाहिरबाट चार गरी २१ टिमले सहभागिता जनाएका थिए । यस वर्ष विभिन्न नेवार रोटीको नाम दिएर टिम बनाइएको थियो । 

मन्त्री महर्जनले बागमती प्रदेशले नेपाल भाषा राष्ट्रिय कामकाजीको विशेष प्रयोग हुन लागेको र त्यसका लागि चाहिने नियमावली र भाषा विकास प्रतिष्ठान बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । यसै गरी वल्र्ड नेवाः अर्गनाइजेसन नेवाः च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले अहिले नेवार समुदायका बालबालिकाले नेपाल भाषामा कुरा नगरिरहेको स्थितिमा अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिएको यस हाजिरीजवाफमा उत्साहजनक सहभागिता रहेपछि आयोजनाको उद्देश्य सफल भएको उहाँले बताउनुभयो । चार महिना चलेको प्रतियोगिताको समापन समारोहमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।