• १३ असोज २०८१, आइतबार

भारती खरेल पुरस्कार गिरिलाई

blog

डा.स्वामी आत्मानन्द गिरि पुरस्कार ग्रहण गर्नुहुँदै ।

काठमाडौँ, मङ्सिर १६ गते । भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा.स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा.वासुदेव त्रिपाठीले उहाँलाई ५१ हजार राशि नगदसहितको पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

साहित्यकार स्व भारती खरेलको ८६ औँ जन्मजयन्ती तथा ३१ औँ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक प्रयागराज भट्टराई वाशिष्ठले सम्मानित व्यक्तित्वको परिचय र योगदानबारे प्रकाश पार्नुभयो । प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र साकारले अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गजलकार प्रा.डा.सनतकुमार बस्तीले साहित्यसेवी खरेलको सामाजसेवा र अध्यात्मसाधनामा भएको योगदानको विभिन्न पाटो पक्ष तथा प्रकाशित कृतिबारे जानकारी दिनुभयो ।

वि.सं.१९९५ मङ्सिर १६ गते जन्मनुभएकी खरेलको वि.सं.२०४९ साउन ४ गते निधन भएको थियो । वि.सं. २०४९ मा पति समाजसेवी चद्रिकानन्द खरेल र छोरा गायक दीपक खरेललगायत पुरस्कारका लागि अक्षयकोष र प्रतिष्ठान स्थापना गर्नुभएको हो । प्रतिष्ठानले यसअघि विभिन्न सात संस्था, १५ साहित्यकार, चार समाजसेवी र पाँच अध्यात्मसाधकलाई यो पुरस्कार प्रदान गरिसकेको छ । स्व खरेलका गङ्गा-जमुना, एउटी आमाको कथा, भजन भारती तथा नवरत्नलगायत नौ कृति प्रकाशित छन् । रासस