• ८ मंसिर २०८१, शनिबार

मन छ (कविता)

blog

भन्छन् उठाउन गाह्रो छ 

सुतेको बहाना गर्नेहरूलाई

मलाई सुतेझैँ गर्नेहरूलाई उठाइदिन मन छ ।


छैन कसैलाई कसैको वास्ता

न छ कसैको पिर अनि व्यथा

मन ढुङ्गा नै भएछ कि कसो ?

पगालेर त्यो पानीझैँ,

सबैलाई अचम्ममा पारिदिन मन छ ।


भो अति भो सबै कुरा

सबैको बगलीमा छ केवल छुरा

आखिर मरेर लान्छ को, के ?

युगको दोष हो यो भने सबैले 

मलाई कलियुगको अन्त्य गराइदिन मन छ ।


देखेर पनि नदेखेझैँ गर्छन् सबै 

एकले अर्कोलाई आँखा तर्छन् सबै

राष्ट्रप्रतिको समर्पण, देखावटी भयो सब

जङ्गेहरू पालै पालो पारि तरे रे

सिमानामा विश्वास, ठड्याइदिन मन छ ।


स्वाभिमानमा आँखा लाग्यो रे भन्छन्

साँच्चै हो कि हामी अन्धो भयौँ ?

तराईलाई बचाउन तेस्रो तापबाट

रोपेर भलायो, अरिङ्गाल र सिस्नोहरू

पहाडलाई फेरि सेना बनाइदिन मन छ ।


भन्थे हुन्न भरोसा अरूहरूको

आफ्नैहरू नै बन्दैछन् रे घाती

बनाएर हिमाल, पहाड बनाउन समथर

सुनेपछि सह्य बन्छ कुन नेपाली ?

मलाई एउटा भुचाल, ल्याइदिन मन छ ।


मलाई पानीमा आगो लगाइदिन मन छ

मलाई दिनमा जुन उदाइदिन मन छ

मलाई रातमा घाम कुदाइदिन मन छ

आँखा देख्नेहरू त सबै अन्धा भए

लाटोकेसेरोलाई दिनमा आँखा देखाइदिन मन छ ।