• १२ साउन २०८१, शनिबार

अलैँची बिक्रीबाट करिब तीन करोड आम्दानी

blog

बाबुराम शर्मा 

दोलखा, मङ्सिर १६ गते । लामो समय अलैँचीको मूल्य नपाएका दोलखाका किसानले यो पटक प्रतिकिलो नौ सयदेखि १३ सय रुपियाँसम्म मूल्य पाएका छन् । 

किसानले पाएको यो मूल्य विगत ५ वर्ष यताकै उच्च हो । दोलखाको वैतेश्वर गाउँपालिकाको मिर्गे, काब्रे र गैरीमुदी, मेलुङ गाउँपालिका–१ पवटी, कालिन्चोक गाउँपालिका–२ बाबरेको सिस्नेरी, बसेरी, धारा पानी, निकोभुमे, कालिन्चोक– ७ र ८ सुनखानी, भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावती, सेरावेशीमा अन्य क्षेत्रको तुलनामा यो वर्ष २५ हजार किलो भन्दा बढी अलैँची उत्पादन भएको बताइएको छ ।

मेलुङ गाउँपालिका–१ पवटीको नेपाल एग्रो टुरिजम प्रालिले मात्रै चार सय किलो अलैँची बिक्री गरेको स्थानीय कृषक शान्त बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा उत्पादित अलैँची बिक्रीबाट दुई करोड ७८ लाख ६० हजार रकम जिल्ला भित्रिएको छ । यो वर्ष वैतेश्वर गाउँपालिकाको मिर्गे, काब्रे र गैरीमुदीबाट १५ हजार किलो बढी अलैँची उत्पादन भएको छ । यहाँका किसानले उत्पादन गरेको अलैँची प्रतिकिलो एक हजारदेखि १३ सय रुपियाँसम्ममा बिक्री गरेका छन् । 

कालिन्चोक गाउँपालिकाको बाबरे, सिस्नेरी, बसेरी, धारा पानी, सुनखानी र निकोभुमेका किसानले यो वर्ष एक हजार सात सय किलोभन्दा बढी अलैँची उत्पादन गरी बिक्री गरेका छन् । यो क्षेत्रका किसानले भने प्रतिकिलो नौ सय रुपियाँमा अलैँची बिक्री गरेका वडा नम्बर २ बाबरेका वडाध्यक्ष हेमबहादुर पाण्डेले बताउनुभयो । 

भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावती स्थित सुस्पा फेदी, दामाराङ, टारी र बुमाका किसानले यो वर्ष तीन सय किलो र सेरावेँशीका किसानले पनि करिब नौ सय किलो अलैँची बिक्री  गरेका छन् । 

यहाँका किसानले यो वर्ष अलैँचीको राम्रो मूल्य पाए पनि उत्पादन भने घटेको देखिएको छ । किसानले लगाएको अलैँची बगानमा बोट सुक्ने, गानो र जरा कुहिने, फल नलाग्ने, लागेको फल नपाक्ने, पात तथा डाँठमा किरा लाग्ने र बोट मर्ने समस्याले किसानलाई हैरान पारेको छ । बर्सेनि अलैँची उत्पादन घट्दै गएको छ । 

किसानहरूले अलैँची झापाको बिर्तामोड र काठमाडौँमा लगेर बिक्री गर्ने गरेका छन् । झापाको बिर्तामोडमा प्रतिकिलो १३ सयदेखि १४५० सम्म र काठमाडौँमा प्रतिकिलो १३५० रुपियाँसम्ममा अलैँची बिक्री गर्ने गरेका छन् ।

अलैँची सङ्कलन गरी बिक्री गर्दै आउनुभएका वैतेश्वर गाउँपालिकाका सुकमान तामाङले जिल्लामा उत्पादन भएको अलैँची भारत र वङगलादेशसम्म पुग्ने गरेको जानकारी दिँदै भन्नुभयो,यो वर्ष अलैँचीको धेरै माग भएकाले मूल्य पनि उच्च भएको हो । गत वर्ष दोलखाका किसानले प्रतिकिलो अलैँचीको मूल्य प्रतिकिलो चार सयदेखि पाँच सयसम्म मात्रै पाएका थिए ।