सृष्टिको सर्वश्रेष्ठ प्राणीका रूपमा रहेको मानव आज आफ्नै अस्तित्व समाप्त पार्ने गतिविधिमा सक्रिय छ । उन्नति, सुविधा, प्रतिष्ठा र विश्वमा हैकम जमाउने लोभमा प्रकृति कुपित पार्ने क्रम बढ्दै जाँदा आज मानवसभ्यता सङ्कटमा पर्न थालेको छ । पृथ्वीलाई जोगाउन र यसका सबै संरचनालाई अनुकूल वातावरण दिन भनेर अनेक प्रतिबद्धता भएका छन् । ‘क्योटो सम्मेलन’ देखि पेरिस सम्झौतासम्म आइपुग्दा जलवायु परिवर्तन कम गर्न केही न केही त भएकै छन् तर त्यो पर्याप्त छैन । जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाली मुलुक र माल्दिभ्स जस्ता समुद्री टापु मुलुक अत्यधिक प्रभावित बनेका छन् ।
नेपाल यतिबेला गम्भीर वातावरणीय दुष्प्रभावमा परेको छ । आफूले गर्दै नगरेको अपराधको सजाय नेपालले भोगिरहेको छ । नेपालले प्रत्यक्ष यसको प्रभाव अनुभूत गरिरहेको छ भने यसका कारक मुलुकले पनि अनेक प्राकृतिक समस्या नभोगेका होइनन् । उनीहरू यसलाई कटौती गर्ने दिशातिर अग्रसर हुनै चाहँदैनन् । हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउनु भनेको हाम्रो औद्योगिकीकरण र विकासको गति रोक्नु हो भन्ने दम्भसमेत सुनिएको छ । यसले गर्दा नै आज मानव सभ्यता प्राकृतिक प्रकोपको दुष्चक्रमा पिल्सिँदै गएको छ । यसको दोष प्रकृतिलाई हैन, स्वयं मानवलाई नै जान्छ । जबसम्म मानिस प्रकृतिसँग निकट रहेर प्रकृति संरक्षण गर्दै आफ्नो जीवन निर्वाह गर्दथे, तबसम्म प्रकृति कुपित भएको थिएन । आजभोलि प्रकृति कुपित छ–बेसमयमा बाढी पहिरोको चपेटामा मानव समुदाय परिरहेको छ ।
विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो । पृथ्वी क्रमशः तात्न थालेको झन्डै सय वर्ष पुग्यो । यसको प्रमुख कारण भनेको आमविनाशकारी र रासायनिक हातहतियारको बढ्दो उत्पादन र प्रयोग तथा औद्योगिकीकरणको नाममा वातावरणीय सन्तुलनलाई ख्याल नगर्नु नै हो । यसको प्रत्यक्ष असर मौसममा समेत परेको छ । नेपाल जस्तो जैविक र भौगोलिक विविधता भएको मुलुकमा मौसम अनुसारको खेतीपाती गर्नु अब ठुलो चुनौतीको विषय बन्न थालेको छ । केही दशकयता नेपालमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको छ । खेतीपातीको समय सुक्खा हुने तर बाली भित्र्याउने बेलामा खेतबारी डुबाउने गरी वर्षा हुने गरेको छ । बेसमयमा हिमपहिरो जाने, सुक्खा पहिरो खस्ने जस्ता समस्या मात्र होइन कि चैत–वैशाखमा फुल्ने गुराँस र पाक्ने काफल समेत माघ–फागुनमै देख्न थालिएको छ । उच्च हिमाली क्षेत्रमा लामखुट्टे देखिनु अर्को गम्भीर चुनौती र यसको असर कति परिरहेको छ भन्ने तथ्यको ज्वलन्त नमुना हो ।
बितेको सय वर्षयतादेखि तात्न थालेको पृथ्वी डेढ दशकयता बढी नै तातिरहेको छ । पृथ्वीको तापक्रम औसतभन्दा निकै बढेको छ । यसको प्रत्यक्ष असर हिमाल र सागरलाई पर्ने विज्ञहरू बताउँछन् । यतिखेर नेपाल जस्ता हिमाली मुलुकमा हिमाल पग्लेकै कारण हिमतालको सङ्ख्या बढ्दै छ । यसै गरी तापक्रम बढ्दै जाने हो भने यी हिमताल कुनै पनि बेला विस्फोट हुने खतरा औँल्याउन थालिएको छ । हिमाल पग्लँदै गएपछि समुद्रको सतह पनि बढ्ने र यसले कतिपय टापु मुलुकको अस्तित्व विलीन हुने अवस्था आउने छ । यसले गर्दा जलवायु परिवर्तन नेपाल वा कुनै एक मुलुकको मात्र चासो र चिन्ताको विषय होइन । यो पृथ्वीको भविष्यको विषय हो ।
जलवायु परिवर्तनको प्रभाव गरिब र विकासशील तथा विकासोन्मुख मुलुकमा मात्र होइन, धनी र औद्योगिक राष्ट्रमा पनि उत्तिकै परिरहेको छ । प्रकृतिलाई आफ्नो अनुकूलतामा छाडिएन भने र वायुमण्डल, जलमण्डल तथा स्थलमण्डललाई प्रदूषित पारियो भने यसले दुर्दशा मात्र निम्त्याउँछ भन्ने सत्य हो । धनी मुलुकले उतिबेलै निर्मूल गरेका रोग पुनः बल्झिन थालेको छ । जलवायु परिवर्तनको प्रभावले लुप्त भइसकेका किटाणु पुनः उत्पन्न भइरहेका छन् ।
जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण गर्न र आगामी पुस्तालाई स्वस्थ र स्वच्छ धर्ती उपहार दिनका लागि अब नेपाल जस्ता जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित मुलुकले नेतृत्व लिएर धनी, शक्तिशाली मुलुकलाई आफ्नो एजेन्डामा सामेल गराउनु पर्छ । किनभने जसरी जलवायु परिवर्तनका लागि उनीहरूको भूमिका महìवपूर्ण र अग्रणी रह्यो, त्यसलाई रोक्न पनि उनीहरूको भूमिका सर्वाधिक महत्वपूर्ण छ । धनी देशहरू (जो वायुमण्डलमा अत्यधिक कार्बन उत्सर्जन गर्नेमा पर्दछन्) ले गरिब तथा साना मुलुकको भविष्यलाई ख्याल गरेर जलवायु परिवर्तनबाट परेका प्रभाव न्यूनीकरण गर्ने र उनीहरूले गर्दै नगरेको कुकर्मको फल भोग्नबाट बचाउन उनीहरू नै अग्रसर हुनु पर्छ ।
जलवायु परिवर्तनले समुद्रको सतह बढिरहेको छ । अर्कोतिर मरुभूमिले पनि आफ्नो स्वरूप बदल्दै गरेको छ । अहिले जसरी मौसम परिवर्तन भइरहेको छ; यसले पानी, खाद्यान्न, औषधोपचारलगायत मानव जीवनलाई कष्टपूर्ण बनाउने छ । नेपाल जस्ता जलस्रोतमा धनी मुलुकहरूमा खानेपानीकै अभाव हुने र अरबी राष्ट्रहरूमा तेलको हाहाकार हुन बेर लाग्दैन । यो तथ्य बुझ्ने हो भने धनीका लागि जे पनि गर्ने प्रवृत्तिमा कमी आउन सक्छ ।
सबैले बुझ्नुपर्ने कुरा के हो भने विकासका लागि पृथ्वीमा अथाह स्रोत छ तर यसको दोहन होइन सदुपयोग गर्नु पर्छ । नेपाली समाजमा एउटा रुख काट्दा पहिला नमस्कार गरेर सोही ठाउँमा वृक्षरोपण गरिन्थ्यो । किनभने पृथ्वीको जीवन चक्रलाई सन्तुलन कायम राख्न सबै पक्षलाई यथास्थान, यथागति छाडिनु पर्छ भन्ने वैदिक मान्यता छ । नदीनालादेखि हिमाल, पहाड, समुद्र, मरुभूमिको अत्यधिक उपयोग र त्यसको स्वरूपमै खलबल आउने गरी गरिएको उत्खनन तथा विकास निर्माणले पनि प्राकृतिक सन्तुलनमा ठुलो गडबडी ल्याइरहेको छ ।
अहिलेकै अनुपातमा तेल निकाल्ने हो भने यसको आयु अब छोटो समयसम्म मात्र रहने भविष्यवाणी भइसकेको छ । यसपछि विश्वमा ठुलो ऊर्जा सङ्कट उत्पन्न हुने छ । अर्कोतिर पृथ्वीलाई चाहिने ९८ प्रतिशत ऊर्जा उपलब्ध गराउने सूर्य आफैँ विषाक्त हुँदै गएको अवस्थामा समुद्र र पृथ्वीको तापक्रममा ठुलो अन्तर आउने छ । समुद्र र भूमि तापव्रmमको सम्बन्ध एक आपसमा जोडिएको छ । समुद्र तातो हुनासाथ त्यहाँबाट वाफ उत्पन्न भएर भूमि वर्षा गराउँछ भने भूमि तातो हुँदा समुद्रमा हलचल आउँछ । तापक्रमको यो सम्बन्धमा गडबडी उत्पन्न हुनासाथ ‘सुनामी’, ‘क्याटरिना’ जस्ता समुद्री आँधीले ठुलो जनधनको विनाश निम्त्याउँछ । अर्कोतिर समुद्र किनारमा रहेका देशको भविष्य त यसै पनि असुरक्षित छ ।
आफूलाई धनी र विकसित भन्ने, ठान्ने र विश्वलाई आफ्नो मट्ठीमा पारिरहन चाहने मुलुकले प्रकृतिमाथि गरेको अत्यधिक शोषणको परिणाम नेपाल जस्ता मुलुकले भोग्नु परिरहेको छ । केही वर्षयता नेपालमा जलवायु परिवर्तनको स्पष्ट सङ्केत देखिएका छन् । नेपाल गम्भीर वातावरणीय प्रभावको दुष्चक्रमा पिसिएको छ । यसको प्रमुख कारणमा वातावरण जोगाउने नेपालको आफ्नै परम्पराको बेवास्ता पनि हो । पानी, वन, नदी, हावा, सबैमा देवताको अस्तित्व रहेको मानेर संरक्षण गर्ने नेपाली संस्कृति थियो र यसबाट नेपालको वातावरण संरक्षित पनि थियो तर परिवर्तनको नाममा परम्परागत यस्ता संस्कृति विस्मृतिको गर्तमा पुरिँदै गयो ।
अब समय आएको छ कि नेपाल स्वयंले वातावरण शुद्ध राख्न हाम्रा सांस्कृतिक महत्वका पक्षलाई पुनः जागृत गर्नु पर्छ । नेपालमा परम्परादेखि नै वातावरणमैत्री कार्यव्रmम चलिआएका थिए । उदाहरणका लागि वैदिक संस्कृतिमा यज्ञलाई सबभन्दा प्राथमिकतामा राखिएको छ । यसको एउटै कारण हो – सृष्टि संरचनाका यावत् जीव, वनस्पतिको रक्षाका लागि आवश्यक शुद्ध हावापानी र खाद्यान्न । यज्ञमा होमिने चरुबाट निस्कने धुवाँ नै वातावरण शुद्ध राख्ने सबभन्दा उपयुक्त पदार्थ हो । यज्ञकुण्डमा हालिएको पदार्थ सूक्ष्म भएर फैलिँदै हावाका माध्यमबाट टाढाटाढासम्म पुग्छ र सुगन्ध फैलाउँछ । जल, जमिन, वनस्पति सबै शुद्ध हुन्छन् । यसले दीर्घजीवन प्राप्त हुन्छ । खाद्यान्नदेखि सबै अत्यावश्यक वस्तु प्राकृतिक हुन्छन् तर आज यी सबको साटो कृत्रिमताले जरा गाडेको छ । विश्वका अरू मुलुकले के गरे, के गरेनन्, त्यो आफ्नै ठाउँमा छ । हामीले के गरिरहेका थियौँ र अहिले के गर्दै छौँ, यो महìवपूर्ण विषय छ । वातावरण विनाशले विकासको दिगो आधार नै नष्ट हुँदै गर्दा पनि हामी अरूकै नाराको पछि लागिरहेका छौँ ।
कोप–२८ मा नेपालले आफूले भोगिरहेका समस्याको क्षतिपूर्ति र जलवायु अनुकूलताका लागि जिम्मेवार मुलुकहरूबाट लगानी बढाउने प्रयास त गर्नै पर्छ, यसका अतिरिक्त वातावरण संरक्षणमा हाम्रो आफ्नो मौलिकता र प्रकृतिलाई नै ईश्वर मानेर पूजा गर्ने संस्कृतिको पनि चर्चा आवश्यक छ । मानिसलाई प्रकृतिभन्दा ठुलो कोही छैन भन्ने अनुभूति गराउन नेपालले भूमिका निर्वाह गर्नु पर्छ । विश्व जलवायु सम्मेलनबाट नेपालले आफूलाई आर्थिक, सामाजिक सबै रूपबाट स्थापित गराउने क्षमता देखाउनु पर्छ । हामीले कोही रिसाउला वा खुसाउला भनेर हैन कि आफ्नो मुलुक र मुलुकबासीले भोगिरहेका समस्याको कारक पक्षलाई खबरदारी नै गर्नु पर्छ कि विश्वको कुनै एक कुनामा उत्पन्न समस्याले अर्को कुनालाई पनि अठ्याउँछ भनेर ।