सञ्चार भनेको के हो ? मानिसका अनुभूति, विचार र जीवन भोगाइ आदिलाई अरू मानिससमक्ष अभिव्यक्त गर्नु सञ्चार हो । आदिम मानवको उदयसँगै विस्तार भएको सञ्चार हरेक सम्बन्धको जग हो । मूल्यमान्यता पनि हो । जस्तो कि ढुङ्गालाई माटोको भर, माटोलाई ढुङ्गाको भर । सञ्चार प्रक्रियामा सूचना लिने दिने मात्र गरिँदैन त्यस क्रममा सन्देशको साझेदारी भइरहेको हुन्छ । सञ्चार गर्दा प्रयोग हुने प्रविधि वा साधनलाई माध्यम भनिन्छ । त्यो माध्यम भनेको मिडिया हो ।
व्यक्ति व्यक्ति आमुन्ने सामुन्ने बसेर गफगाफ गर्नु पनि सञ्चार हो । टाढा रहेका मानिस अथवा आफन्तजनसँग कुनै प्रविधिका माध्यमबाट कुराकानी गर्नु वा भलाकुसारीमा जम्नु पनि सञ्चार हो । मानिसका आफ्ना अनुभूति, विचार अनि जीवन भोगाइ सञ्चार व्यवहारकै जगमा रहेर मानव समाजका सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिलगायतका क्षेत्रमा विस्तारित हुँदा विश्व समुदायसँग एकाकार हुने अवसर जुटेको छ ।
सञ्चार मानव जीवनको अनिवार्य प्रक्रिया हो । यसमा हाम्रो खुसी छ । अपेक्षा छ र यसैमा दुःख पनि । आँसु, हासोसँगै हाम्रो सफलता, असफलता सबै कुरा सञ्चारसँग जोडिएको हुन्छ । वास्तवमा भन्नुपर्दा सञ्चार त्यो माध्यम हो, जसलाई सही किसिमले प्रयोग गर्न सकिएन वा जानिएन भने जिन्दगीको बाटो सोचे जस्तो सहज नहुन पनि सक्छ । अतः प्रभावकारी सञ्चार हामी सबैको आवश्यकता हो ।
२१ औँ शताब्दीको हाम्रो जीवन विज्ञान, प्रविधिको क्षेत्रमा उल्लेख्य सफलताको कारण विश्व नै एउटा घर जस्तो भएको छ । अनि, मान्छे ? एउटै परिवारका सदस्य । मोबाइल फोनमा ‘इन्टरनेट कनेक्ट’हुनु लेखेर वार्तालाप गर्ने कि अनुहार देखादेख गरेर ? सूचनाको यो पहुँच आदानप्रदानले कहाँ मात्रै जोडिन सकिँदैन ? यस किसिमको ‘नेटवर्क’ले मानव जीवनलाई झन् बढी सक्रिय बनाएको छ । मानिसलाई अब्बलताको प्रमाणपत्र ग्रहण गर्नसमेत निकै नै प्रभावकारी साधन भएको छ । जसले समाजमा रहेर असल कार्य गरेका छन्, तिनीहरूको बखान संसारले हेर्छ नै । अनि त्यही काम कतिका लागि प्रेरणा स्रोतसमेत बन्छ । भाषामा लेख्नुपर्ने कुरा मिनेट बोल्दा सबै छर्लङ्ग हुन्छ ।
हाम्रो दैनिकी लेख्यमा भन्दा कथ्यमा रस हुनाले सञ्चारविद्को सुझाव छ कि– बोलीचाली नम्र एवं शिष्ट हुनु पर्छ । जो कोहीसँग कुरा गर्दा शब्दहरूको स्पष्ट उच्चारण आवश्यक हुन्छ । बोल्दा छिटोछिटो बोलेको राम्रो सुनिँदैन र धेरै ढिलो पनि उपयुक्त हुँदैन । चर्को स्वर झगडा गरे जस्तो सुनिन्छ भने मधुरो बोलीलाई लायक मानिँदैन । झगडालु बोलीचाली प्रायः कसैलाई मन पर्दैन । व्यङ्ग्यात्मक, रुखो बोली वा अरूको भावनामा ठेस पुग्ने गफ कदापि पनि राम्रो होइन ।
कसैको आत्मसम्मानमा चोट पुग्ने गरी गिज्याउने, जिस्क्याउने, होच्याउने, उडाउने शब्दको प्रयोग गर्नु हुँदैन । आफूभन्दा ठुला व्यक्तिसँग भेट हुँदा कसरी अभिवादन गर्ने र सानालाई कसरी माया गर्ने भन्ने कुरा जानेर व्यवहार गर्नु पर्छ । कोहीसँग भेट हुँदा एकोहोरो आफू मात्र बोलिरहनु पनि शोभनीय कार्य होइन । सुन्ने क्षमता त झन् महìवपूर्ण मानिन्छ । त्यस्तै, कोही व्यक्ति बोलिरहेका ठाउँमा प्याच्च अघि सरेर प्रसङ्ग बिथोल्नु तथा ध्यान दृष्टि विचार नगरी मोबाइल चलाएर बस्नु पनि सिधैँ अपमान गरेको ठहर हुन्छ ।
बोल्ने र सुन्ने दुवैले एक अर्काको कुरा बुझ्ने गरी संवाद गर्नु पर्छ । कानमा परेको कुरा नबुझे सोध्नु अन्यथा ठहर्दैन । परिस्थिति चाहे जस्तो होस्, भरसक आक्रामक प्रस्तुति हुनु हुँदैन । कुराकानीका क्रममा आवश्यकता अनुसार क्षमाप्राथी बन्न पनि हिच्किचाउनु हुँदैन । रङ्ग, लिङ्ग, उमेर, कद, विचार, भावना र अभिव्यक्ति आदिका आधारमा भेदभावपूर्ण बोली बोल्नु हुँदैन । पेसा, पद, रूप, ज्याला, ठाउँ, गाउँ र सिमाना आदिका आधारमा पनि कोहीप्रति नकारात्मक विचार प्रवाह गर्नु हुँदैन । धर्म, संस्कार, संस्कृति, भाषा, भेष र परिवेश आदिको आधारमा पनि कसैले कसैलाई औँल्याउनु उचित हुँदैन ।
प्रभावकारी सञ्चारका लागि मिडियाको प्रयोग गर्न जान्नु अर्को आवश्यक पक्ष हो । सञ्चार दुई तरिकाले गर्न सकिन्छ । एउटा शब्दको प्रयोग गरेर र अर्को बिनाशब्दको प्रयोग सङ्केत, इसारा वा हाउभाउबाट । जसलाई साङ्केतिक भाषा पनि भनिन्छ । यहाँ प्रश्न उठ्छ, कहाँ कस्तो किसिमको हाउभाउ हुनु पर्छ ? कुनै रमाइलो ठाउँमा पुगिएका बेला हसिलो अनुहार राम्रो हुन्छ, देखिन्छ । त्यो रूप सबैलाई मन पर्छ । जस्तैः विवाह, व्रतबन्ध, जात्राउत्सव वा महोत्सव आदि सञ्चालन भए ठाउँहरूमा । यदि हामी शोकको घडीमा पुगेका भए, अनुहार हसिलो देखिनु गलत हुन्छ । त्यसको सिधा अर्थ रमाएझैँ लाग्छ । अतः अनुहारमा गम्भीरता झल्किनु पर्छ । बोल्दा शिर, हात, गोडा वा शरीरका अन्य अङ्गको चाल पनि हेरिन्छ ।
पुस्तक, पत्रिका, अखबार, रेडियो, टेलिभिजन र अनलाइन माध्यम सबै सञ्चार माध्यमका माध्यमहरू हुन् । आजको समय पढाइको अलवा भिडियो कलमार्फत गफ गर्ने, मेसेज लेख्नेदेखि गेमिङ, प्रोगामिङ र शब्द कोषदेखि लाइब्रेरी मोबाइलमै हुन्छ । अर्को, ‘वर्क फ्रम’ घरले पनि निकै ठुलो बजार लिएको छ । यसलाई प्रविधिको विकासको प्रतिफल मानिन्छ । हो, यहाँ उल्लेख गर्न यकिन डाँटा नभए पनि नेपालमा घरका कोठाभित्र बसेर विदेशी कम्पनीमा काम गर्ने जनशक्ति धेरै छन् । त्यो पनि विदेशी तलबमा । लाग्छ यस कारण पनि मिडियाको प्रयोग गर्दा सुरक्षित तरिकाले गर्नु पर्छ । मकै भटमास बाँडे जसरी सोसल नेटवर्किङको पासकोर्ड अरूलाई दिनु हुँदैन ।
सोसल मिडियामा असत्य, अप्रमाणित तथा झुटा कुरा फैलाउनु हुँदैन । साइबर बुलिङ तथा ट्रोल गर्ने जस्ता व्रिmयाकलापमा लाग्नु हुँदैन । ‘इन्बक्स’मार्फत गरिने कुरा पनि अमर्यादित हुनु हुँदैन । सञ्चारको यस पाटोमा पनि भरपुर मात्रामा मर्यादाको ख्याल गर्नु पर्छ । सोसल मिडिया खास गरेर फेसबुक अर्थात् मुहार पुस्तिकामा लेख्दा, तस्बिर तथा भिडियो अपलोड गर्दा जहिले पनि सकारात्मक र उपयुक्त सामग्री मात्र पोष्ट्याउनु पर्छ । सकारात्मक विचारको प्रवाह गर्नु पर्छ । मरेका मान्छेका तस्बिरहरू पोष्ट गरेको राम्रो मानिँदैन । अन्दाज गरौँ त हाम्रो त्यो कार्यशैलीले मृतकका परिवारमा कस्तो प्रभाव पर्छ ? यसबारे अनुमानसम्म गर्न सकिँदैन । फेरि गन्थने स्टाटर्स लेखेर तिक्तता पोख्नु पनि जायज कार्य मानिँदैन । कसैको पोष्टलाई लाइक, कमेन्ट र सेयर गर्दा विचार गरेर मात्र हात अघि सार्नु पर्छ । हामीले आफ्नो मर्यादालाई कायम गर्न सोही अनुसारको सञ्चार विधि प्रयोग गर्नु उपयुक्त हुन्छ ।