• १३ असोज २०८१, आइतबार

मृत्यु रोज्नेको मृत्यु खोज्ने जागिर

blog

काठमाडौँ, मङ्सिर १४ गते । नाटक ‘काल’ को मञ्चन सुरु भएको छ । काल अर्थात् मृत्यु र समयचक्र । नाटकले दुवैलाई छुने प्रयास गरेको छ । नाटक एक सामाजिक कथा हो, जुन कथाभित्र दर्शकले कहीँ न कहीँ आफैँलाई पाउँछन् । नाटकले विश्व परिवेशमा देखा परेको आर्थिक मन्दीलगायत प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई दुर्बल ठानेर आत्महत्याको बाटो रोजिरहेका छन्, उनीहरूको मनोवैज्ञानिक उपचारको वकालत गर्छ । नाटकलाई नाट्य विधाका रूप दिएर प्रस्तुत गरिएको छ । जहाँ भनिएको छ, मृत्यु रोज्ने मान्छेको मृत्यु खोज्ने जागिर । 

शङ्कर खरेलको काल कथाबाट प्रभावी भएर नाटक लेखेको नाटकका लेखक तथा निर्देशक रामभजन कामत बताउनुहुन्छ । यो नाटक तयार पार्दा आफू नाटककारका रूपमा पूर्ण रूपमा रहन नसकेको उहाँको भनाइ छ । एउटै व्यक्ति लेखक र निर्देशकका रूपमा काम गर्दा गाह्रो हुँदो रहेछ । निर्देशकले कलात्मक कथा खोज्छ तर लेखक आफ्नो लेखन अडान छोड्न चाहँदैन । यो अवस्था धेरैले भोग्नुभएको होला । नाटक तयार गर्ने क्रममा कैयौँ पटक तथ्यगत सामग्री खोज अनुसन्धान गर्दा कैंयौँ पटक गुगलले तिमीलाई मानसिक डाक्टरको आवश्यकता छ भनेर सुझाव दिएको पनि उहाँले सम्झनुभयो ।

राजकुमार पुडासैनीको प्रकाश परिकल्पना रहेको नाटकको सहायक निर्देशकका रूपमा सुवास तिमल्सिना हुनुहुन्छ  । नाटकमा सुनील पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, निता राई, केशव शाही, आशिष घिमिरे, अर्ज‘न सिवाकोटी, सन्देश कार्की, रोशनचन्द, सलिना क्षेत्री, सुरभी कामतको अभिनय रहेको छ । 

नाटकमा ध्वनि तथा सङ्गीत परिकल्पना उत्सव बुढाथोकीको रहेको छ भने वेशभूषा निता राई र सलिना क्षेत्रीले गर्नुभएको छ । त्यस्तै मञ्च निर्माण हुम बिसी, पोस्टर स्केच सजन थापामगर, मञ्चव्यवस्थापन सुवास तिमल्सिना र पोस्टर/ब्रोसर सुदर्शन पुलामी रहनुभएको छ । नाटक थापागाउँको आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा मङ्सिर १४ देखि ३० गतेसम्म मञ्चन हुँदै छ । 

सडक नाटक मञ्चन

महिला हिंसाविरुद्ध दृश्य सादृश्यले कचहरी नाटक ‘चुप’ मञ्चन गरिएको छ । १६ दिने लैङ्गिक हिंसाविरुद्धमा दृश्य सादृश्यले कचहरी नाटक ‘चुप’ मञ्चन भएको हो । नाटकको लेखन सालिक भण्डारीको रहेको छ भने निर्देशक सरस्वती अधिकारी रहनुभएको छ । 

नाटकले बालविवाह, लैङ्गिक हिंसाविरुद्धको कथा बताउँछ । नाटकमा प्रभाकर न्यौपाने, उन्नत उप्रेती, अस्मिता ढकाल, शान्ति भट्टराई, दीपमाला परियार, प्रतीक दुलाल, सालिकराम भण्डारी र सरस्वती अधिकारी रहनुभएको छ ।