• १२ साउन २०८१, शनिबार

एकसय सात स्थानमा सडक बत्ती जडान

blog

सडक बत्ती जडान गर्दै प्राविधिक । तस्विर सौजन्य : मेखबहादुर सुनारी

इमानसिं राना 

रामपुर (पाल्पा), मङ्सिर १३ गते । निस्दी गाउँपालिकाले एकसय सात स्थानमा स्वचालित सडक बत्ती जडान गरेको छ । उज्यालो निस्दी कार्यक्रम अन्तर्गत पालिकाको मुख्य स्थानमा स्वचालित सडक बत्ती जडान गरेको हो । 

पालिकाको मुख्य बजार, सडक, विद्यालय, स्वास्थ्य चौकी तथा टोलका एकसय सात स्थानमा बत्ती जडान गरिएको निस्दी गाउँपालिकाका सूचना अधिकारी एवं योजना अधिकृत अर्जुन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा १ मा १३ वटा, वडा २ मा १३ वटा, वडा ३  मा १३ वटा, वडा ४ मा १४ वटा, वडा ५ मा १० वटा, वडा ६ मा ३१ वटा र वडा ७ मा १३ वटा सडक बत्ती जडान भएको छ ।

पालिका भित्रको सार्वजनिक स्थल तथा आवतजावत बढी हुने स्थानमा सुरक्षासँगै उज्यालो प्रदानका लागि बत्ती जडान गरिएको निस्दी गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०–८१ मा उज्यालो निस्दी कार्यक्रमका लागि पालिकाले विनियोजन गरेको १० लाख र वडा ६ को २ लाख गरी १२ लाखको लागतमा स्वचालित बत्ती जडान गरिएको उहाँले बताउनुभयो । पहिलो चरणमा जडान गरिएको बत्ती पर्याप्त नभएको भन्दै आगामी वर्ष थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । 

निस्दीका गाउँहरू विद्युत लाइन विस्तारसँगै उज्यालो बनेको छ । पालिकाको वडा ३ को सार्की डाँडाटोल बाहेकका स्थान, वडा ४, ५, ६ र वडा ७ को केही स्थानमा लालीगुराँस सामुदायिक विद्युतीकरणले विद्युत सेवा प्रदान गर्दैआएको छ । वडा २ र ७ को बाँकी रहेको स्थानमा नेपाल विद्युत प्राधिकरणमार्फत विद्युत सेवा सुरु भइसकेको छ । वडा १ र बाँकी स्थानमा प्राधिकरणमार्फत लाइन विस्तारको काम तीव्र रूपमा भइरहेको गाउँपालिकाले जनाएको छ । वडा १ का जनताले लघु जलविद्युतमार्फत विद्युत सेवा उपभोग गर्दै आइरहेका छन् ।