• १२ साउन २०८१, शनिबार

दुई पटक जग्गा किनबेच भयो तर जग्गाधनी बेखबर

blog

दीपकप्रसाद गौतम

वीरगन्ज, मङ्सिर १३ गते । एका बिहानै जग्गानजिकै घर भएका व्यक्तिले तपाईँको जग्गा बिक्री गर्नु भयो कि के हो जग्गा त अर्कै मान्छेले नाप जाँच गरी रहेको छ भनी राजेन्द्र महतो कोइरीलाई मोबाइल फोनमा भने पछि उनलाई सपना जस्तै लाग्यो । 

जग्गा भने राजेन्द्र महतोले आफ्नी श्रीमती उर्मिला देवीको नाममा नामसारी गराएका थिए २०६६ साल मङ्सिर २३ गते त्यसपछि मालपोत नै गएका छैनन् श्रीमान् श्रीमती तर उनीहरूको जग्गा जिल्ला मालपोत कार्यालय पर्साले एक पटक होइन दुई दुई पटक नामसारी गरी सकेको रहेछ । 

मङ्गलवार जिल्ला मालपोत कार्यालय पुगेका राजेन्द्र अचम्मित मात्र भएनन् , छक्क परे मालपोत कार्यालयको कागजातहरू देखेर २०७५ असोज ५ गते जग्गा सुमित्रादेवी कनुईन र २०७५ फागुन २९ गते सुशीला देवीको नाममा नामसारी भई सकेको रहेछ । 

हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा पर्ने साबिक नगवा बि को कित्ता नम्बर ३४०२ को ७ घुर ८ कनवा जग्गा धनुषा जिल्ला सबैला गा.वि.स.३ की दया देवी भगतबाट मिति २०६६ साल मङ्सिर २३ गते ६५ हजारमा बकस पत्र गराई  रौतहट को पोखरिया गा.वि.स. ९ हाल कटहरिया नगर पालिका ५ बलिरामपुरकी उर्मिलादेवीले लिएकी थिइन । 

जग्गाधनी उर्मिला देवीलाई कुनै जानकारी नै नदिई , मालपोत कार्यालय पर्साबाट उक्त जग्गा मिति २०७५ असोज ५ गते वीरगन्ज १५ का जगदीश प्रसाद साहकी पत्नी सुमित्रा देवीको नाममा नामसारी भएको जग्गाधनी दर्ता स्रेस्तामा  देखिएको जग्गाधनी उर्मिला देवीका पति राजेन्द्र महतो गोरखापत्रलाई बताउनुभयो । 

त्यति मात्र कहाँ हो र उक्त जग्गा त्यसपछि २०७५ फागुन २९ गते पुन बारा जिल्ला मोतिसर १ का सुरेन्द्र यादवकी पत्नी सुशीला देवीको नाममा नामसारी भएको मालपोत कार्यालयको जग्गाधनी दर्ता स्रेस्तामा देखिएको जग्गाधनी उर्मिला देवीका पति राजेन्द्र महतो गोरखापत्रलाई जानकारी दिनुभयो ।

जिल्ला मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख राजेश्वर साह तेलीले जग्गाधनी बिना किनबेच , नामसारी केही पनि हुन नसक्ने बताउँदै भन्नुभयो तपाईँले ती स्रेस्ताको कागजात लिएर म कहाँ आउनुस् रेकर्ड हेरेर के वास्तविकता रहेछ भनूला ।

यता जग्गाधनी उर्मिलादेवी आफ्नो जग्गा फिर्ता आउने हो कि होइन भन्ने चिन्ता लागेको बताउनु हुन्छ । मङ्गलबार मालपोत कार्यालय पर्सामा जाँदा कार्यालय प्रमुखसँग भेट नभएकाले बुधवार पुनः एक पटक मालपोत कार्यालय गएर कार्यालय प्रमुख सामुन्ने आफ्नो समस्या राख्ने उर्मिलादेवीले बताउनुभयो ।