• २० वैशाख २०८१, बिहिबार

फिल्म सिटी निर्माण अलपत्र

blog

प्रस्तावित फिल्म सिटीमा निर्माण भएका सूचना केन्द्र र गेस्ट हाउस । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा, मङ्सिर ११ गते । दोलखाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यसमेत रहेको डाङडुङेमा बन्ने भनिएको फिल्म सिटी निर्माण अलपत्र परेको छ । 

चालु आर्थिक वर्षमा सङ्घ तथा प्रदेशबाट बजेट प्राप्त नभएपछि फिल्म सिटी निर्माण अलपत्र परेको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिनुभयो । “यस वर्ष सङ्घले अध्ययन, अनुसन्धान तथा अनुगमनका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । निर्माणकै लागि सम्बन्धित निकायको खासै चासो नदेखिएपछि निर्माण अलपत्र परेको हो,” उहाँले भन्नुभयो । 

एक दशकअघि सुरु भई स्थगित रहेको फिल्म सिटी निर्माण गत वर्षको बागमती प्रदेशको तीन करोड रुपियाँमा सूचना केन्द्र एक, गेस्ट हाउस दुई र प्रवेशद्वारका संरचना निर्माण भएका नगरका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन प्रमुख इन्जिनियर सुरेश राउतले जानकारी दिनुभयो । उहाँका अनुसार यी काम ठेक्कामार्फत भएका हुन् । पहिलो ठेक्का घटाघटमा आएको रकमले दोस्रो ठेक्काको व्यवस्था गरी यी संचना निर्माण भएका हुन् । तीनतले सूचना केन्द्रका दुई तला बनेका छन् । दुई वटा गेस्ट हाउस, कम्पाउन्ड, सिँढी र प्रवेशद्वारका संरचना निर्माण भएका हुन् । थप एक करोड रुपियाँ भए यी काम सम्पन्न हुन्छन् । 

निर्माण भएका संरचनाको व्यवस्थापन गर्न नगरपालिकालाई जिम्मेवारी दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ । नगरका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन प्रमुख इन्जिनियर राउतले भन्नुभयो, “बनेका संरचनाको उचित व्यवस्थापन नभए केही दिनमै मर्मत गर्नुपर्ने हुन सक्छ । यो वर्ष कहीँकतैबाट पनि बजेट परेको छैन । यस्तै हो भने अन्तर्राष्ट्रियस्तरको यो चलचित्र नगरी (फिल्म सिटी) कहिले सम्पन्न हुने हो, आशङ्का पलाउन थालेको छ ।” 

लामोसाँघु–जिरी सडकखण्डको खरीढुङ्गामा प्रवेशद्वार र प्रवेशद्वारदेखि करिब छ सय मिटरमाथि सिन्धुपाल्चोकको पिस्कोरबाट यहाँ जोडिने सडक नजिक सुन्दर ठाउँमा अरू संरचना निर्माण हुँदै गए आयोजनाको काम अगाडि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । ठुलो लगानी लाग्ने अन्तर्राष्ट्रियस्तरको यो फिल्म सिटीलाई सरकारले गौरवको आयोजनाका रूपमा अगाडि बढाउनुपर्नेमा यहाँका नौ वटै स्थानीय तहले एक अन्तव्र्रिmया कार्यक्रममार्फत जोडदार माग गरे पनि सङ्घ तथा प्रदेशबाट खासै सुनुवाइ भएको देखिँदैन । 

यसका परिकल्पनाकार एवं अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले निर्माण अलपत्र भएको गुनासो गर्दै भन्नुभयो, “सरकारले १२ करोड ४५ लाख रुपियाँको लागतमा फिल्म सिटी क्षेत्रमा साढे छ किलोमिटर लामो दुई लेनको सडक, फुट ट्रेल, नालासहितको पूर्वाधार निर्माण गरिसकेको छ भने एक करोड रुपियाँको लागतमा पानी तथा बिजुलीको समेत व्यवस्था गरिसकेको छ ।” 

सिमेका विम जेभीले करिब पाँच अर्ब रुपियाँको लागतमा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) निर्माण हुने गुरुयोजना (मास्टर प्लान) तयार भइसकेको छ । समुद्री सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा अवस्थित डाङडुङे डाँडामा ७६.२५ हेक्टर क्षेत्रफलमा फिल्म सिटी निर्माण गर्ने गरी यो गुरुयोजना तयार भएको हो । 

फिल्मको चाप र सङ्ख्या अनुसारको संरचना थप्दै जाने हो भने अन्तिमसम्म करिब १५ अर्ब रुपियाँ खर्च लाग्ने गुरुयोजनाले देखाएको छ । गुरुयोजना अनुसार फिल्म सिटीमा बसोबाससहितको प्रशासनिक भवन, इन्डोर सुटिङ स्टुडियो, पोस्ट प्रडक्सन युनिट, मनुमेन्टल एभिन्यु, गेस्ट हाउस, विभिन्न जातजातिको थिमाटिक भिलेज, हेलिप्याड र करिब ७५ रोपनी क्षेत्रफलमा पोखरी निर्माण हुने छ । 

त्यस्तै फिल्म सिटीमा पार्किङ, पाँचतारे होटल, ट्रेनिङ सेन्टर र आउटडोर सुटिङका लागि त्यहाँ उपलब्ध प्राकृतिक सम्पदालाई प्रयोग गर्न सकिने गुरुयोजनामा उल्लेख छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तथा टेक्निकल फिजिबिलिटी स्टडी (टिएफएस) र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सहित सरकारले यो फिल्म सिटीमा १७ करोड ४५ लाख रुपियाँभन्दा बढी खर्च गरिसकेको छ । सरकारको दायित्व र स्वामित्व रहेकाले यथाशक्य थप बजेट विनियोजन गरी निर्माण सम्पन्न गर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो ।