• ५ जेठ २०८१, शनिबार

कम्पनी नै खोलेर ठगी गर्ने सक्रिय

blog

हरिले मलेसियाबाट तिलबहादुर रानामगरको नाममा पठाएको रकमको भौचर ।

कमल खत्री

नेपालगन्ज, वैशाख २० गते । खाडी मुलुकमा दुःख गरेर युवाले कमाएको अर्बौं रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । बाँकेमा मात्र यसरी ठगिने सयौँ युवा रहेको पीडितले बताएका छन् । यसरी ठगिने एक युवा हुन् मलेसिया काम गरेर चार वर्षअघि फर्किएका हरिबहादुर बुढाक्षेत्री ।

बाँकेको खजुरा गाउँपालिका–२, गौघाटनिवासी हरिबहादुर बुढाक्षेत्री डेढ दशकअघि रोजगारीको सिलसिलामा मलेसिया जानुभएको थियो । त्यहाँ उहाँको कमाइ राम्रै थियो । मासिक राम्रो तलब आउने भएपछि नेपालबाट गएका हरि जस्तै थुप्रै युवा ‘डिएक्सएन’ कम्पनीको नेटवर्किङ बिजनेसतर्फ आकर्षित भए । मलेसियन उक्त कम्पनीले उत्पादन गरेका सामान राम्रो थिए । कम्पनीबाट सिधै उपभोक्ताको हातमा सामान जाने भएकाले किन्ने मानिसले धेरै छुट पाउने गर्छ ।

नेटवर्किङ बिजनेसमार्फत नेपाली युवाबिच परिचय हुँदै गएपछि नेपालमा लगानी गर्ने भन्दै एउटा कम्पनी ‘एभरेस्ट गु्रप’ स्थापना भयो । मासिक रूपमा नेपालमा उक्त गु्रपमा पैसा पठाउने र उक्त गु्रपले नेपालको जलविद्युत्, रिसोर्ट, जग्गा, होटल, जिम क्लबलगायतका विभिन्न ठाउँमा लगाउने गर्ने विश्वास दिलाइयो । त्यही विश्वासमा विदेशमा भएका युवाले कसैले बैङ्क, कसैले हुन्डी त कसैले आफ्नो परिवारमार्फत उक्त समूहले खोलेका देशभरका विभिन्न अफिसमा मासिक रूपमा रकम जम्मा गर्ने गरेका थिए । यसरी कति रकम जम्मा भयो र कहाँ लगानी भएको छ अहिले स्पष्ट प्रमाण छैन । 

पीडितका अनुसार देशभरका युवा यसरी ठगिएका छन् । आफू जस्तै हजारौँ युवाको अर्बौं रकम ठगिएको हुन सक्ने अनुमान हरिको छ । 

खजुराका हरिले मासिक रूपमा सन् २०१५ देखि सन् २०२० सम्म पाँच लाख ६५ हजार रुपियाँ नेपालगन्ज–१८ का तिलबहादुर रानामगरको नाममा पैसा पठाउनुभएको छ । यसका साथै उहाँको परिवारका सदस्यले पनि नेपालगन्ज कारकाँदोको कार्यालयमा गएर केही रकम बुझाएका छन् । चार वर्षअघि मलेसियाबाट नेपाल आएपछि हरिले आफ्नो लगानीका बारेमा खोज्न थाल्नुभयो । उहाँले लगानी गरेको रकम सुरक्षित नभएको भन्दै फिर्ता गर्न ताकिता गरेपछि मात्र आफू ठगिएको थाहा भयो ।  पुरानो घर खजुरा–४, डी गाउँ भएका कारण आफ्नै गाउँघरको दाइ भन्ने विश्वासमा हरिले उक्त गु्रपमा रकम पठाउने गरेको बताउनुहुन्छ । अहिले आफूले गरेको लगानी कहाँ छ भनेर सोध्दा तिलबहादुरले स्पष्ट उत्तर नदिने गरेको हरिले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले दुःख गरेर कमाएको रकम उनीहरूले गलत तरिकाले व्यक्तिगत रूपमा खर्च गरेको रहेछन् । आफ्नो घरजग्गा, गाडीमा खर्च गरेको देखियो । नेपाल आएपछि थाहा भयो, देखावटी रूपमा लगानी गरेर म जस्ता हजारौँ  युवाको अर्बौं रकम ठगेर उनीहरू भागिरहेका छन् । रकम फिर्ता गर्छु भनेर भन्थे, अहिले फोन पनि उठ्दैन ।”

हरिले भन्नुभयो, “मैले तिलबहादुरको नाममा रकम पठाएको प्रमाण राखेको थिएँ तर धेरै साथीको त प्रमाण नै छैन । म जस्ता धेरै साथी आफ्नो घरपरिवारमार्फत नेपालगन्जको कारकाँदो अफिसमा गएर तिलबहादुरलाई रकम बुझाएका छन् । अन्य जिल्लाका साथीहरूले उहाँहरूले खोलेको कार्यालयमा गएर रकम बुझाउने गरेका थिए ।”

चार महिनाअघिसम्म फोन सम्पर्कमा रहेका तिलबहादुर अहिले फोन सम्पर्कमा पनि नआएपछि हरि कानुनी रूपमा अगाडि बढ्ने तयारीमा हुनुहुन्छ । 

यसरी ठगिने हरि मात्रै होइन, बाँके, बर्दियालगायतका देशभरका हजारौँ युवाको रकम उक्त समूहले गलत तरिकाले खर्च गरेको आरोप लागेको छ । उनीहरूको मुख्य कार्यालय सुरुवातमा काठमाडौँ भनिएको थियो । अहिले त्यहाँ कार्यालय पनि नभएको हरिले बताउनुभयो । 

मलेसिया, साउदी अरब, कतार जस्ता देशमा काम गरिरहेका हजारौँ युवाको अर्बौं रकम उक्त समूहले अपचलन गरेको हरिले आरोप लगाउनुभयो । खजुरा गाउँपालिकाभित्र मात्रै आफूले चिनेका एक दर्जन साथीको रकम यसरी हिनामिना भएको उहाँले बताउनुभयो । खजुरा गाउँपालिका–२ कै राजकुमार सुनार, आशिष मगर, सुर्खेत मटेलाका मानबहादुर बिसीलगायतको साथीहरूले आफूसँगै मासिक रूपमा तिलबहादुरको खातामा रकम पठाउने गरेको हरिले जानकारी गराउनुभयो । हरिले चिनेका तिलबहादुर केही समयअघि नेपालगन्जको १८ नम्बर वडामा बसेर डिएक्सएनको व्यवसाय गरेर बसिरहेका थिए तर हाल नेपालगन्जको घरमा जाँदा उहाँसँग सम्पर्क नहुने गरेको पीडित युवाले बताउनुभयो । 

यसरी विदेशमा रहेका युवालाई ठग्ने मुख्य योजनाकारका रूपमा तिलबहादुरसँगै झापाका कृष्ण घिमिरे, काठमाडौँका पुकार छन्त्यालसहित एक दर्जन व्यक्ति रहेको हरिले बताउनुभयो । 

युवाको रकम ठगेको पैसाले कृष्णले दुबई र काठमाडौँमा व्यवसाय गरिरहेका छन् । पुकारले मलेसियामै व्यापार गरेर बसेका छन् । नेपालमा कानुनी रूपमा अप्ठ्यारोमा पर्ने भएकाले नेपालको सम्पूर्ण सम्पत्ति र व्यवसाय आफन्तलाई रेखदेख गर्न दिएर उनीहरू विदेश गएको आरोप छ । 

ठगीको आरोप लागेका तिलबहादुर रानामगरले पनि झापाका कृष्ण घिमिरे, पुकार छन्त्याललगायतको व्यक्तिको योजनामा आफूले बाँके क्षेत्रमा रकम सङ्कलनको काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म पनि पीडित छु । मभन्दा माथिल्लो निकायमा बसेर काम गरेका साथीले धोका दिए । उनीहरूले गरेको गलत कामका कारण म पनि समस्यामा परेको छु । यस्तो विजनेसको मुख्य योजनाकार कृष्ण र पुकार हुन् । उनीहरू अहिले विदेशमा छन् ।”

मङ्गलबार आफू ठगिएको प्रमाणसहित हरि जिल्ला प्रहरी कार्यालय बाँके नेपालगन्जमा पुग्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले कानुनी रूपमा घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी नारायण डाँगीले सुरुवातमा ठगी मुद्दामा घटनाको अनुसन्धान गरिने बताउनुभयो ।