• १२ साउन २०८१, शनिबार

कांग्रेसले संसदमा विकृति जन्मायो : महासचिव पोखरेल

blog

नेकपा (एमाले) बाँकेको नवौ जिल्ला अधिबेशनमा महासचिव शंकर पोखरेल लगायत नेताहरु । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, जेठ ४ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेसले संसदीय राजनीतिमा विकृति र गलत संस्कार भित्र्याएको आरोप लगाउनुभएको छ । एमाले बाँकेको नवौँ जिल्ला अधिवेशनको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो,  ‘२०५१ सालमा गम्भीर घाइते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई अस्पतालको शय्याबाट सम्बोधन गर्न बाध्य पार्ने कांग्रेसले अहिले सदनमा बोल्न रोक्न खोजिरहेको छ ।’ कांग्रेसले भन्नासाथ संसदीय छानबिन समिति नबन्ने भन्दै विगतमा कांग्रेस आफै संसदीय छानबिन समिति गठनको विपक्षमा रहेको उहाँले चर्चा गर्नुभयो ।

सरकारबाट हटेपछि कांग्रेसमा छटपटाहठ देखिएको भन्दै उहाँले कांग्रेसले किस्तीमा राखेर विभिन्न नेतालाई प्रधानमन्त्रीको पद दिए पनि सफल नहुने बताउनुभयो । 

कार्यक्रममा पार्टी सचिव पद्मा अर्यालले कांग्रेस सहकारी पीडितलाई न्याय नभई सरकार बनाउन दाउमा रहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा पोलिटब्युरो सदस्य लीला गिरी, सुजिता शाक्य, खेममान खड्का, भैरवसुन्दर श्रेष्ठ, बाँकेका उपाध्यक्ष डिल्ली बिसी, सचिव रत्न खत्रीले शुभकामना व्यक्त गर्नुभएको थियो ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव महिला र खुलागरी ५ पदाधिकारीसहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा ४६८ जना प्रतिनिधि सहभागी छन् । अध्यक्षमा वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्व अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष डिल्ली बिसी र प्रदेश कमिटी सदस्य घननाथ खनालको नाम चर्चामा छ ।