• १२ साउन २०८१, शनिबार

बरघरलाई मेलमिलाप र अपराधसंहिता तालिम

blog

तालिममा सहभागी बरघर । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, जेठ ४ गते । थारु संस्कृति जोगाउँदै समुदायमा मेलमिलाप र अपराधका घटना निरुत्साहन गर्न बरघरलाई नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरिएको छ । 

लुम्बिनी प्रदेशका थारु समुदाय बस्तीबाट वरघरलाई पारिवारिक कानुन, फौजदारी अपराधसंहिता, मेल मिलाप, संविधानले दिएका हक तथा अधिकारको विषयमा सहजीकरण गरिएको छ ।

पर्यटन डिभिजन कार्यालय भैरहवाले रुपन्देही, कपिलवस्तु र नवलपरासी (पश्चिम) का वरघरलाई प्रशिक्षण दिएको डिभिजन प्रमुख गीता आचार्यले बताउनुभयो । थारु जातिमा बरघर प्रथाको संरक्षण गर्दै समुदायमा हुन सक्ने सम्भावित घटना र त्यसलाई सहजीकरण गर्ने कानुनी पाटोको विषयमा जानकारी दिइएको छ ।

शुक्रबार बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा कपिलवस्तुका वरघरलाई ५ दिने तालिम दिइएको छ । उहाँहरूको निर्णय सबैले मान्ने हुँदा तालिमपछि मेलमिलापबाट समुदायका समस्या समाधान हुने बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । 

थारु समुदायमा बाल विवाह, पढाइ छाड्ने समस्या बढ्दै गएको हुँदा त्यसलाई निरुत्साहन गर्न बरघरले जोड दिनुपर्ने श्रेष्ठले सुझाव दिनुभयो । डिभिजन कार्यालयले तीन जिल्लाका १५० बढी बरघरको क्षमता विकास तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । 

प्रचलन तथा संस्कृति जोगाउँदै कानुनी सिपको विकास गर्न थारु कल्याणकारी सभाको संयोजनमा तालिमको आयोजना गरिएको सहकर्ता तथा अधिकृत जनकराज खनालले बताउनुभयो ।