• ४ जेठ २०८१, शुक्रबार

गाउँबस्तीमा गहुँ झार्ने चटारो

blog

शेरबहादुर सार्की 

बाजुरा, वैशाख २० गते । बाजुराका धेरै जसो गाउँबस्तीमा यतिबेला गहुँ चुट्ने (झार्ने) कामको निकै चटारो परेको छ । वैशाख पहिलो सातादेखि खेतबाट टिपेर खलामा जम्मा गरेको गहुँ चुट्न चटारो परेको हो । खेतबाट गहुँ घरमा ल्याएर जम्मा गरिए पनि समयमै चुटिएन भने पानीले बिगार्ने डरले यतिबेला गहुँ चुट्न निकै चटारो परेको स्थानीय महिला बताउँछन् ।

आधुनिक खालका मेसिन नहुँदा कतै गोरुले दाइँ लगाउने र कतै ग्याब्री (घँगारुको लौरोबाट बनाएको काठको सामग्री) को सहायताले गहुँ चुट्ने गरेको बुढीनन्दा नगरपालिका–२ का राधा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा गहुँ चुट्ने मेसिन आएका छन् । त्यही मेसिनले कोहीकसैले एक दिनमा खेतमै गहुँ टिप्ने र चुट्ने गर्छन् तर हाम्रोमा भने त्यो मेसिन नआएकाले पुरानै प्रविधिका औजार प्रयोग गर्दै आएका छौँ ।”

आधुनिक मेसिनका लागि कृषकले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरे पनि सुनुवाइ नभएको भनाइ कार्कीको छ । अधिकांश गाउँमा ग्याब्रीको सहायताले गहुँ चुट्ने गरिन्छ । कतै दानलौरीले (काठको सामग्री) र कुनै ठाउँमा गोरुले दाइँ गर्ने चलन छ । यहाँका गाउँबस्तीमा न गहुँ काट्ने मेसिन छ न त झार्ने मेसिन नै । किसान गहुँ चुट्ने थ्रेसरको प्रतीक्षामा छन् । हँसियाको सहयोगले गहुँ हातले टिप्नुपर्ने बाध्यता छ । निगालाको सरेटा (निगालाको दुई फिट जति लामो काठ) ले गहुँ समात्ने र त्यसपछि कम्मरमा राखेको हँसियाले काटेर डोकोमा राख्ने गरिन्छ ।

यस जिल्लाको हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी, छेडेदहलगायतका ठाउँमा गहुँ खेती गरिन्छ । भिरालो तथा पाखो ठाउँमा गहुँको खेती कम भए पनि खोलाको किनार तथा सिँचाइ सुविधा भएको ठाउँमा भने गहुँ उत्पादन राम्रो हुन्छ ।

बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिन भए पनि सोमध्ये २२ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ । पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुने गरेको छ । खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइको सुविधा छ । ८० प्रतिशत जमिनमा अहिले पनि आकासे पानीको भरमा खेती हुने गरेको छ । 

जिल्लामा कृषि उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पुर्‍याउन सिँचाइको क्षेत्र विस्तार गर्न आवश्यक रहेको स्थानीयवासी बताउँछन् । कृषि ज्ञान केन्द्र बाजुराले १० हजार ४६० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने र सो जमिनबाट १७ हजार ७८२ मेट्रिक टन उत्पादन हुने गरेको जनाएको छ ।