• ४ जेठ २०८१, शुक्रबार

पालिकाको लक्ष्य शिक्षा सुधार

blog

प्रकाश ओझा अध्यक्ष, बौदीकाली गाउँपालिका

बौदीकाली नवलपुर जिल्लाको पहाडी भेगमा अवस्थित गाउँपालिका हो । यस गाउँपालिकाको उत्तरमा तनहुँ, पश्चिममा पाल्पा, दक्षिणमा हुप्सेकोट र पूर्वमा बुलिङटार गाउँपालिका छन् । यहाँ स्थानीय तहको २०७९ को निर्वाचनमा नेकपा (एमाले) बाट अध्यक्षमा प्रकाश ओझा निर्वाचित हुनुभएको हो । युवा उमेरका उहाँ गाउँको विकासमा एकाग्र भएर लाग्ने प्रण गर्दै राजनीतिमा होमिनुभएको हो । अध्यक्ष ओझासँग गोरखापत्रका पत्रकार होमराज रानाभाटले गर्नुभएको कुराकानी : 

जनप्रतिनिधिका रूपमा दुई वर्षको आफ्नो कार्यकाललाई कसरी लिनुभएको छ ? 

गाउँपालिकाको अध्यक्ष भएर आउँदा गाउँपालिका पूर्ण रूपमा थितिमा बसेको थिएन । विषयगत समिति र सम्बन्धित शाखा निकै कमजोर थिए । शाखा कमजोर हुनुको प्रत्यक्ष असर गाउँपालिकाको कार्यसम्पादनमा परेको महसुस गरेको छु । अहिले शाखालाई बलियो बनाउन लागिपरेका छौँ । समग्रमा भन्नुपर्दा मेरो दुई वर्षको कार्यकाल थिति बसाउने कार्यमा उपलब्धिमूलक छ । 

कामको प्राथमिकता तय गर्नुभएको छ ? 

दुध, तरकारी, फलफूल, मासु उत्पादनलाई प्राथमिकतामा राखी अघि बढेका छौँ । बाटोघाटो र भौतिक विकासका कारण बजारको समस्या भएकाले कृषकको उत्पादन बजारसम्म पुर्‍याउने समस्या समाधान गर्दै छौँ । बौदीकालीको दुध र तरकारी अन्य सहरको भान्सासम्म पुर्‍याउने वाचा अनुसार हामी अगाडि बढेका छौँ । 

शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिको अवस्था के छ ?

शिक्षा सुधारका लागि हाम्रो शिक्षा ऐन, २०७४ कार्यान्वयनमा ल्याएका छौँ । यस अनुसार दुई कार्यकालभन्दा धेरै समय प्रधानाध्यापक भएका र मापदण्ड नपुगेका शिक्षकलाई ससम्मान बिदाइ गरी नयाँ प्रधानाध्यापक नियुक्त गरेका छौँ । विद्यार्थीलाई उत्प्रेरक कक्षा र मानव पुस्तकालय कार्यक्रम सञ्चालन गरिरहेका छौँ । शिक्षा सुधार पालिकाको लक्ष्य हो । गाउँपालिकाले पाँच वर्षमा पाँच सय प्राविधिक उत्पादन गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष प्राविधिक शिक्षा अध्ययन गर्ने ४२ विद्यार्थीलाई मासिक पाँच हजार रुपियाँका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । स्वास्थ्यमा चौबिसै घण्टा सेवा, आवश्यकता अनुसार सामुदायिक स्वास्थ्य एकाइ स्थापना र सञ्चालन भएका छन् । स्वास्थ्य बिमा कार्यक्रम, आँखा उपचार केन्द्र सञ्चालन, घुम्ती शिविर, गर्भवती तथा सुत्केरीका लागि जटिल प्रकारका अवस्थामा यातायात खर्चको व्यवस्थालगायतका काम गरिरहेका छौँ । १५ शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ । हामीले चौबिसै घण्टा आकस्मिक सेवा दिएका छौँ । फलफूल पकेट क्षेत्रको काम अगाडि बढ्दै छ भने कृषि विश्वविद्यालयको टोलीसँग बौदीकालीको सबै उचाइमा हुने कृषिको सम्भावनाबारे सम्भाव्यता अध्ययन सम्पन्न गरेका छौँ ।

बृहत् खानेपानी योजनाको काम छिटो सम्पन्न गर्न काम भइरहेको छ । सिँचाइ कार्यक्रम चलिरहेको छ । ठुला सिँचाइ आयोजनामा आवश्यक सहयोग उपलब्ध गराएका छौँ । कृषिमा प्राविधिक सेवा उपलब्ध गराएका छौँ । नयाँ कृषि उत्पादनमा पनि हाम्रो पालिका लागेको छ । दुध उत्पादनको लक्ष्यका साथ हामीले अकला दुग्ध सहकारी स्थापनामा सहयोग गरी पालिकाको लगानीमा दुग्ध सहकारीमार्फत डेरी स्थापना र सञ्चालनमा सहयोग गरेका छौँ । पशु खरिदमा ब्याज अनुदानका लागि वित्तीय संस्थासँग सम्झौता गर्दै छौँ । दुधको बजारीकरणका लागि संवाद तथा सम्झौता गरिसकेका छौँ । दुध उत्पादन बढाउन कृषक तालिम तथा भ्रमण सम्पन्न गरेका छौँ । दुधका परिकार बनाउने तालिम सम्पन्न गरिसकेका छौँ । तरकारी उत्पादन गर्ने किसानलाई हामीले हाटबजारको व्यवस्था गरेका छौँ । कृषि एम्बुलेन्समार्फत निःशुल्क रूपमा किसानको खेतमै गएर तरकारी सङ्कलन गरेर हाटबजारमा ढुवानी गर्ने व्यवस्था गरेका छौँ । 

बौदीकाली विकासमा पछाडि पर्नुलाई कसरी लिनुहुन्छ ?  

भौगोलिक विकटता विकासको बाधकका रूपमा छ । जिल्ला सदरमुकामबाट आउनुपर्ने सेवासुविधा महाभारत पहाड छिचोलेर आउन नसक्नु, पाल्पा र तनहुँको सिमानामा रहँदा अन्तरजिल्ला सेवासुविधा उपलब्ध नहुनु पनि अर्को समस्या हो । यहाँ उत्पादित कृषि उत्पादनको बजारीकरणको समस्याका कारण कृषकमा पेसाप्रति वितृष्णा भएको छ । बसाइँ सरेर जानु पनि यहाँको विकास पछाडि पर्नुको कारण हो । जनशक्ति र पुँजी पलायन नै विकासका बाधक हुन् । शिक्षा, स्वास्थ्य र रोजगारीको विकासका लागि सरकारको ध्यान अझै पुगेको छैन । 

बसाइँसराइबारे गाउँपालिकाको सोच के छ ? 

वर्तमान अवस्था हेर्दा बसाइँसराइले एकातिर गाउँ उजाड हुँदै जान थालेका छन् भने अर्कातिर खेतबारी बाँझै रहन थालेका छन् । सुविधा खोज्दै स्थानीयले गाउँ छाडेका हुन् । यो समस्या देशका धेरै गाउँपालिकाको समस्या हो । यो समस्या समाधानका लागि स्थानीयलाई आर्थिक रूपमा सक्षम बनाउनु आवश्यक छ । त्यसैले स्थानीयस्तरमै रोजगारी दिनेबारेमा छलफल भइरहेको छ । पालिकाले खेती गर्ने किसानका लागि जग्गा उपलब्ध गराउन भूमि बैङ्कको परिकल्पना गरेको छ । बाँझो जग्गालाई पालिकाले लिजमा लिएर खेती गर्ने किसानलाई उपलब्ध गराउन भूमि बैङ्क कार्यक्रममार्फत बजेटको व्यवस्थापन गरिएको छ । 

‘समृद्ध बौदीकाली’ नारा प्रभावकारी बन्न सकेन त ? 

आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा जीवनस्तर उठाउने दिशामा काम भइरहेकाले गाउँपालिका समृद्ध हुनेमा विश्वस्त छु । 

सूचकाङ्कका आधारमा बौदीकाली गाउँपालिका जिल्लामा सर्वोत्कृष्ट नभए पनि उत्कृष्ट छ । वित्तीय सुशासनको क्षेत्रमा ८३.५ अङ्कका साथ अन्य गाउँपालिकाको तुलनामा अगाडि छौँ । जिल्लामा ७३.७५ अङ्कका साथ चार गाउँपालिकामा उत्कृष्ट र एक नगरपालिकाभन्दा अगाडि छौँ । अन्य सूचकाङ्कमा पनि हाम्रो स्थान राम्रो छ । उत्कृष्ट हुने लक्ष्यका साथ काम गर्दै छौँ । 

बौदीकालीमा बेरुजुको स्थिति कस्तो छ ? 

बेरुजु देशैभरिको समस्याका रूपमा रहेको हुँदा यो पालिकामा पनि केही हदसम्म छ । जम्मा हुँदै आउँदा बेरुजु देखिएको हो । अहिले हामी बेरुजु घटाउन लागेका छौँ । गाउँपालिका भएपछि हामीले जनतालाई लोभी र अल्छी बनाएछौँ  । पहिला सामान्य श्रमदान हुने र गर्ने सामान्य काममा पनि अहिले बजेट माग हुन्छ । गाउँपालिकाको बजेट सामान्य पूजाआजा, खेलकुद, मन्दिर, चर्च भवनलगायतका क्षेत्रमा पनि माग हुने, अनुत्पादक क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यताले बेरुजु बढेका छन् । जनता, बजेट विनियोजन गर्ने जनप्रतिनिधिका साथै सबै सरोकारवाला इमानदार भएको खण्डमा बेरुजु घट्छ ।