गर्भावस्थादेखि आठ वर्षसम्मको उमेरलाई प्रारम्भिक बाल्यावस्था भनिन्छ । यस उमेरका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, भाषिक र संवेगात्मक पक्षको समष्टिगत र सन्तुलित विकास प्रक्रियालाई प्रारम्भिक बालविकास भनिन्छ । यो अवस्था मानव विकासको जग निर्माण हुने संवेदनशील र महत्वपूर्ण अवस्था हो । मानव जीवनका यी सुरुवाती वर्षमा बालबालिकाको मस्तिष्क निर्माण र बौद्धिक विकास तीव्र हुन्छ भन्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ । प्रारम्भिक उमेरमा सिकेका र अनुभव गरेका आधारभूत ज्ञान, सिप, व्यवहार र बानीहरू नै भावी जीवनको आधारशिलाका रूपमा स्थापित हुने गर्दछन् । यो समयमा पाएको वातावरणले नै एउटा बालकमा अन्तरनिहित प्रतिभा र सम्भावनाको प्रस्फुटन भई व्यक्तित्वको पूर्ण विकास सम्भव हुन्छ । यस अवस्थामा गरिने लगानीको प्रतिफल उच्च तथा लाभ दीर्घकालीन हुन्छ । बालविकासमा गरिने लगानीले राष्ट्रिय समृद्धिमा पु¥याउने योगदानलाई निम्न पक्षबाट हेर्न सकिन्छ :–
स्वास्थ्य र पोषणको अवस्थामा सुधार
प्रारम्भिक बालविकास गर्भधारणबाटै सुरु हुने हुनाले यतिखेर गरिने लगानीले मातृशिशु स्वास्थ्यको अवस्था सुधारमा महìवपूर्ण योगदान पुग्छ । समयमै गरिने गर्भ जाँच, खोप, पोषण र सुरक्षित प्रसूतिले स्वस्थ शिशु जन्मिने हुन्छ । आमाको स्वास्थ्यमा आउने जोखिम पनि कम हुन्छ । यसबाट नवजात शिशु तथा बाल मृत्युदर र मातृ मृत्युदरमा कमी आउँछ । सुरक्षित प्रसूति सेवाले महिलाको स्वास्थ्य अवस्था राम्रो हुँदा उत्पादकत्व वृद्धि भई शिशुको लालनपालनमा मद्दत पुग्छ । जन्मपश्चात् गरिने सरसफाइ, शिशु तथा आमालाई पोसिलो खाना, खोप आदिको व्यवस्थाले नवजात शिशुको स्वास्थ्य राम्रो हुनुका साथै रोगविरुद्ध लड्ने क्षमताको विकास भई बालबालिकाको शारीरिक विकास समुचित रूपमा हुन्छ । कुपोषण, कम तौल र पुड्कोपनाको समस्या न्यूनीकरण हुन्छ ।
स्वस्थ, सक्षम र दक्ष जनशक्ति उत्पादन
प्रारम्भिक बाल्यावस्थामा नै बालबालिकाको मस्तिष्कको विकास तीव्र हुने भएकोले यस उमेरमा गरिने लगानीबाट बालबालिकाको सर्वाङ्गीण विकास, उनीहरूको अन्तरनिहित प्रतिभा र सम्भावनाको प्रस्फुटन भई व्यक्तित्वको पूर्ण विकासमा मद्दत गर्दछ । व्यक्ति, समाज र राष्ट्रको समृद्धिका लागि शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सचेत, सृजनशील, सिपयुक्त, वैज्ञानिक सुझबुझ भएका र सामाजिक रूपमा उत्तरदायी नागरिक बनाउने आधार तयार हुन्छ ।
गरिबी न्यूनीकरण र जीवनस्तरमा सुधार
बालविकासमा गरिने लगानीले सानै उमेरदेखि नै व्यक्तिको स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण हुन्छ । व्यक्तिको अन्तरनिहित प्रतिभा र सम्भावनाको समुचित रूपमा प्रस्फुटन हुन पुग्छ । व्यक्ति शारीरिक रूपमा तन्दुरुस्त र मानसिक रूपमा उत्साही, कर्मशील र सृजनशील हुनुका साथै ज्ञान वृद्धि तथा सिप विकासबाट रोजगारीको प्राप्ति एवं आयवृद्धि, जीवनस्तरमा सुधार र अन्ततः गरिबी न्यूनीकरणमा प्रत्यक्ष योगदान पुग्छ ।
सामाजिक सुरक्षा एवं संरक्षणको प्रत्यभूति
प्रारम्भिक बाल्यावस्थाको उमेर क्षमता र प्रतिभाको विकासका दृष्टिले अत्यन्तै उर्वर र सम्भाव्य तर आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा जीविकोपार्जन एवं शारीरिक तथा बौद्धिक विकासका लागि घरपरिवार तथा राज्यको सहयोग चाहिने उमेर भएकोले यो सामाजिक सुरक्षा एवं संरक्षणका लागि लक्षित समूह पनि हो । यो उमेर समूहलाई गरिने लगानीबाट राज्यले नागरिकको मौलिक हकको सारभूत कार्यान्वयन तथा राज्यको दायित्व पूरा गर्न र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्छ ।
मानव विकास सूचकाङ्कमा सुधार
प्रारम्भिक बाल्यावस्थामा गरिने लगानीले गर्भावस्थादेखि नै व्यक्तिको राम्रो स्वास्थ्य, पोषण र असल मनोवृत्तिको निर्माणले सिकाइलगायत सर्वाङ्गीण विकासको अवसर सुनिश्चित बन्छ । व्यक्ति आफूमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने अवसर प्राप्त गरी जीवनका लागि आवश्यक ज्ञान, सिप र अभिवृत्ति हासिल गर्न सक्षम हुन्छ । रोजगारीका प्राप्ति तथा आय वृद्धिले व्यक्तिको जीवनस्तर, स्वास्थ्य र शिक्षाका सूचकमा बढोत्तरी हुन्छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय सम्मान अभिवृद्धि
सन् २०३० सम्म हासिल गर्ने गरी संयुक्त राष्ट्रसङ्घीय महासभाले २०१५ मा पारित गरेका विश्वव्यापी लक्ष्य दिगो विकासका लक्ष्य हुन् । प्रारम्भिक बालविकास दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यमध्ये ११ वटा लक्ष्यसँग प्रत्यक्ष परोक्ष रूपमा सम्बन्धित छ । बालविकासमा गरिने लगानीले गरिबी, असमानता र भोकमरीको अन्त्य, पोषणमा सुधार, गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, महिला सशक्तीकरण र समता, दिगो आर्थिक वृद्धि, उत्पादनशील रोजगारीको सिर्जनालगायत लक्ष्य प्राप्त गरी राष्ट्रिय समृद्धि हासिल र अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्न प्रत्यक्ष रूपमा मद्दत पुग्छ ।
सामाजिक विकासमा योगदान
गर्भावस्थादेखि आठ वर्षसम्मका सबै बालबालिकाको शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक, भाषिक, सांस्कृतिकलगायत पक्षको विकासका लागि गरिने लगानीले सबै बालबालिकाले आफ्नो सर्वाङ्गीण विकासको अवसर प्राप्त गर्दछन् । यसबाट समाजमा असमानता, विभेद र कुरीतिको अन्त्य तथा समानता, सामाजिक सद्भाव, सामूहिकता र सकारात्मक चिन्तनको विकास हुन जान्छ । यसले कालान्तरमा एउटा सुसंस्कृत, सभ्य, शान्तिपूर्ण र अन्ततः समृद्ध समाजको निर्माण गर्न प्रत्यक्ष रूपमा मद्दत पुग्ने भएकाले यस समयमा गरिने लगानी सामाजिक विकासका दृष्टिले पनि महत्वपूर्ण छ ।
विद्यालयका लागि तयारी
व्यक्तिको ज्ञान वृद्धि, सिप विकास र धारणामा सकारात्मक परिवर्तन गरी असल नागरिक बन्न विद्यालय शिक्षा अपरिहार्य छ । विद्यालयमा जानुपूर्व बालबालिकालाई शिशु विकास केन्द्र वा प्रारम्भिक बालविकास/पूर्वप्राथमिक कक्षामा सहभागी गराई सर्वाङ्गीण विकासका माध्यमबाट घरभन्दा बाहिरको वातावरणमा समायोजन, नयाँ व्यक्तिसँग अन्तव्रिर्mया, व्यक्तिगत सरसफाइ, पूर्व साक्षरता र गणितीय सिपको अभ्यासलगायत केही पूर्वतयारी आवश्यक हुन्छ । यसका लागि शिशु विकास केन्द्र वा प्रारम्भिक बालविकास/ पूर्वप्राथमिक कक्षामा गरिने लगानीले बालबालिकाको सर्वाङ्गीण विकास र विद्यालयका लागि तयारी गर्न मद्दत गर्छ ।
बाल अधिकारको सारभूत कार्यान्वयन
बाल अधिकार महासन्धि १९८९ ले बालबालिकाको सर्वोत्तम हितका लागि बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता जस्ता आयामसहित बाल अधिकारको प्रत्याभूति गरेको छ । यसका महत्वपूर्ण प्रावधान नेपालको संविधान र बालबालिकासम्बन्धी ऐन, २०७५ ले आत्मसात् गरेका छन् । बाल विकासमा गरिने लगानीले बालबालिकाका विश्वव्यापी नैसर्गिक अधिकारका रूपमा रहेका बाल अधिकारको सारभूत रूपमा कार्यान्वयन गर्न सहयोग पुग्छ ।
सबल अर्थतन्त्र
प्रारम्भिक बाल्यावस्थामा गरिने लगानीले गर्भावस्थादेखि नै स्वास्थ्य र पोषण तथा जन्मपश्चात् स्वास्थ्य, सरसफाइ र पोषणका साथै उमेर अनुसार सिकाइ र मनोरञ्जनको समुचित अवसरबाट नै बालबालिकाको शारीरिक, बौद्धिक, सामाजिक र संवेगात्मक पक्षको सन्तुलित र समष्टिगत विकास हुन्छ । जसबाट मुलुकको आर्थिक विकासका लागि शारीरिक रूपमा स्वस्थ एवं सक्षम र बौद्धिक रूपमा ज्ञान र सिपयुक्त, सिर्जनशील र नवप्रवर्तनात्मक मानव संसाधनको विकासले मुलुकको सबल अर्थतन्त्रको आधार तयार हुन्छ ।
अन्त्यमा
प्रारम्भिक बाल्यावस्था स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण, बालबालिकाको सर्वाङ्गीण विकास र विद्यालय शिक्षाको आधार तयार गर्ने अत्यन्तै उर्वर र निर्णायक समय हो । मानव पुँजी निर्माणको दृष्टिले महत्वपूर्ण यस अवस्थामा गरिने लगानीको प्रतिफल उच्च र लाभ दीर्घकालीन हुन्छ । बालबालिकामा अन्तरनिहित प्रतिभा एवं सम्भावनाको पूर्ण रूपमा प्रस्फुटन गरी व्यक्तित्व विकासका लागि यो अवस्था महत्वपूर्ण हुने तथ्य विभिन्न अध्ययनबाट समेत देखिएको छ । तसर्थ राज्यले लगानीका दृष्टिले प्रारम्भिक बाल विकासलाई प्राथमिकतामा राख्नु पर्छ तथा गैरसरकारी क्षेत्र र घरपरिवारसमेतलाई यसमा लागनी गर्न प्रोत्साहित गर्नु पर्छ ।