• ९ मंसिर २०८१, आइतबार

शान्तिको प्रयासमा कतार

blog

इजराइल र हमासबिचको सङ्घर्षबाट हजारौँ मानिसको नरसंहार भइरहँदा मूकदर्शक बनेका शक्ति राष्ट्रको ध्यान अहिले कतारतर्फ केन्द्रित भएको छ । पछिल्ला वर्षमा कतारले आफ्नो छिमेकमा मात्र नभएर विश्वभरका शान्ति वार्तामा मुख्य भूमिका निर्वाह गरेको छ । हालै इजराइल र प्यालेस्टिनी विद्रोही समूह हमासबिच मैत्रीपूर्ण शान्ति वार्ता गर्दै युद्धविराम गराउन र मानवीय सहायता प्रदान गर्न अगुवाइ गरेको छ । कतारको उक्त कदमले विश्वलाई राम्रो पाठ सिकाएको छ । खाडी मुलुक कतारले मानवीय कूटनीतिको संसारमा बढ्दो रूपमा महत्वपूर्ण मध्यस्थता गर्दै आएको हामीमाझ जगजाहेर छ । कतारले आफूलाई कल्याणकारी कूटनीतिक हब र वर्तमान बहुपक्षीय प्रणालीको अनिवार्य सदस्यको रूपमा स्थापित गर्ने दिशामा विश्वासिलो कार्यसम्पादन गरिरहेको छ । 

मध्यपूर्वका धेरै देश मध्यस्थकर्ताको भूमिका खेल्न चाहन्छन् । तीमध्ये इजिप्ट, ओमान र कुवेत पनि हुन् तर कतारले आफूलाई यस क्षेत्रको प्राथमिक समस्या समाधानकर्ता र वार्ताको वकालतको रूपमा प्रस्तुत गरिरहेको छ । कतार तरल ग्यासको विशाल उत्पादन र आपूर्ति गर्ने सानो तर सानदार धनी देश हो । यसले आफूलाई अन्तर्राष्ट्रिय समुदायका लागि अपरिहार्य बनाउन रणनीतिक योजना लिएको छ । आफ्ना ठुला छिमेकीहरू साउदी अरब र संयुक्त अरब इमिरेट्सको अनावश्यक हस्तक्षेपबाट सुरक्षित रहँदै सौहार्दपूर्ण बहुपक्षीय कूटनीतिक सम्बन्ध दरिलो बनाएको छ ।

शान्तिको पक्षमा संवैधानिक व्यवस्था 

विश्वमा भएका द्वन्द्व मध्यस्थताका लागि कतारको संविधान सन् २००३ को धारा ७ मा भनिएको छ । कतार राज्यको विदेश नीति शान्तिपूर्ण माध्यमबाट अन्तर्राष्ट्रिय द्वन्द्वको समाधानलाई प्रोत्साहन गर्दै, जनताको आत्मनिर्णयको अधिकारलाई समर्थन गर्दै, आन्तरिक मामिलामा हस्तक्षेप नगरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा अभिवृद्धि गर्ने सिद्धान्तमा आधारित छ । अन्य देश र शान्ति खोज्ने सबै राष्ट्रसँग सहकार्य गर्दै अघि बढ्ने छ । कतारको राज्यको यस संवैधानिक व्यवस्थालाई दुनियाँको सर्वोत्कृष्ट र उदाहरणीय कानुनी दस्ताबेज मान्न सकिन्छ । अर्कोतर्फ कतारको मध्यस्थताको भूमिकाले कूटनीतिक रूपमा रणनीतिक फाइदा निर्माण गर्ने तरिका मानिएको छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा सुदृढ गर्ने, सार्वजनिक र निजी स्वतन्त्रता र मानव अधिकारको रक्षा गर्ने प्रतिबद्धता कतारको छ ।

पर्सिअन खाडीमा अवस्थित कतार एउटा सानो मुलुक हो । कुनैबेला मध्यपूर्वको निकै गरिब देश हाल त्यस क्षेत्रको धनीमध्येमा पर्छ । कतारका नेताहरूले कैयौँ वर्षदेखि मध्यपूर्व र संसारभरका द्वन्द्वमा सबै पक्षसँग लगभग सबै छलफल गर्ने रणनीति अङ्गीकार गरेको छ । कतारले यसअघि भेनेजुएला, गणतन्त्र चाड र सुडान संलग्न शान्ति वार्तामा समेत सहभागी भएको थियो । यो अन्तर्राष्ट्रिय मञ्चमा दोहालाई बढ्दो रूपमा फरक फरक पक्षका लागि उपयोगी बनाउने कूटनीतिक रणनीतिको एउटा दरिलो पाटो पनि हो ।

केही राष्ट्रका सरकारले दोहाको हमास जस्ता अतिवादी समूहसँगको सम्बन्धलाई लिएर आलोचना गरे तापनि मानव अधिकारको पक्षमा कतार राष्ट्रको सक्रियता अग्रणी स्थानमा छ । अन्तर्राष्ट्रिय सम्बन्धमा मध्यस्थतालाई समर्थन गर्ने बलियो नियामक ढाँचालाई सुदृढ गर्न र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको दिगोपनलाई अगाडि बढाउने उद्देश्यका साथ क्षेत्रीय द्वन्द्व र विवादहरूलाई परिपक्कता, बुद्धिमता र धैर्यताका साथ सम्बोधन गर्न अगुवाइ गर्न सक्नु चानचुने विषय होइन ।

गतिरोध हटाउन कतारको पहल

अन्तरदेशीय विवादका मुद्दा समाधानका लागि कतार अघि सर्छ किनभने उसको कूटनीतिक सम्बन्ध अधिकांश मुलुकसँग बलियो देखिन्छ । सन् २०२१ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लगेसँगै तालिवानले सिङ्गो अफगानिस्तान कब्जामा लियो । कतार सरकारले तालिबानी कब्जापछि अफगानिस्तानमा शान्ति स्थापना गर्न सरोकारवाला पक्षलाई कतारमै सुरक्षित रूपमा राखी वार्ता र संवादबाट समस्या समाधान गर्न प्रेरित गरेको थियो । रुस, युक्रेन युद्धविराम गर्न युद्धरत पक्षसँग दोहाले छलफल गरेको थियो । लिबिया र सिरियामा युद्ध सुरु भएपछि कतारले पनि शक्तिशाली इस्लामवादी मिलिसियाहरूलाई समर्थन गरेको थियो । यसले कतारले आतङ्कवादीहरूलाई समर्थन गरिरहेको आरोप लगाइयो तर दोहाको आतङ्कवादी समूहसँगको सम्बन्ध कहिलेकाहीँ पश्चिमका लागि महत्वपूर्ण साबित भयो । जसले तिनीहरूलाई सिरिया जस्ता देशमा बन्धकको रिहाइका लागि वार्ता गर्न प्रयोग गरेको छ । कतारले इस्लामिक लडाकुहरू र अन्य विभिन्न आवाराका लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रतिष्ठा पाएको छ ।

सन् २०१७ मा साउदी अरब नेतृत्वमा केही देशले कतारसँग सम्बन्ध तोडेका थिए । जस क्रममा उनीहरूले कतारलाई अतिवादी र इस्लामिस्ट समूहहरूसँग सम्बन्ध तोड्न बाध्य पार्न त्यसो गरेको दाबी गरेका थिए । कतारले आतङ्कवादलाई समर्थन गरेको भनिएका दाबीलाई कडा रूपमा खण्डन गर्दै आफ्नो राष्ट्रको संवैधानिक व्यवस्था र मानवीय कल्याणकारी हित अनुरूप त्यस्ता समूहसँगको जुनसुकै सम्बन्धलाई दोहाले त्यस क्षेत्रका विभिन्न पक्षसँग सम्बन्ध राख्ने आफ्नो स्वतन्त्र नीतिको एउटा पक्षमा उभिएको छ । कतार उपयोगी मध्यस्थकर्ताका रूपमा देखा परेको यो पहिलो घटना भने होइन । 

अमेरिका र उसका साझेदारहरू तालिबानसँग लडाइँमा हुँदा उसले वासिङ्टनलाई उनीहरूसँग वार्ता गर्ने ठेगाना कतार उपयोगी हुने भन्दै आश्वस्त पार्दै अमेरिकी सेना फिर्ता लैजाने सहमति गरायो । सन् २०२० मा काबुलबाट पश्चिमा शक्तिहरू भद्रगोल तरिकाबाट निस्किए । अरब, इस्लामिक र अफ्रिकी राज्यमा सङ्कट सम्बोधन गर्न एक प्रमुख नेतृत्वका रूपमा कतार नै उभिएको थियो । 

शान्ति र मेलमिलापका लागि वैश्विक प्रयासहरू सामूहिक दृष्टिकोणमा मात्र सफल हुन सक्छन् । जुन विश्वास, संवाद र सहयोगमा निर्मित छ । शान्तिको संस्कृतिले राष्ट्रहित विश्वशान्तिको मानसिकता उत्पन्न हुन्छ । शान्ति, मानव अधिकार र लोकतन्त्रका लागि शिक्षामा आधारित एकीकृत दृष्टिकोणको विकास हुनु पर्छ । त्यसका लागि सबै राष्ट्रबिच एक ठुलो गठबन्धन निर्माण गर्नु पर्छ । विशेष गरी सक्रिय सक्रियता, नागरिक समाजको सहभागिता र सबै मुलुकले प्रयास गर्दै विश्व शान्तिको पक्षमा उभिन कतारले कडा सन्देश यस पटक दिएको छ ।

मानवीय कूटनीतिक सहायता 

सन् २००७ मा प्यालेस्टिनी गुट फताह र हमासबिचको विभाजनपछि अझै पनि जारी रहेको प्रतिद्वन्द्वीलाई अन्त्य गर्न कतारले लगातार पहल गरेको छ । दोहाको पनि इजरायलसँग तल्लो तहको सम्बन्ध छ । गाजालाई इन्धन किन्न, निजामती कर्मचारीको तलब भुक्तानी र खाँचोमा परेका परिवारलाई नगद उपलब्ध गराउन कतारले आर्थिक सहयोग गरेको छ । चाडको सैन्य सरकार र विद्रोही समूहबिच मध्यस्थकर्ताको रूपमा सेवा गरेको छ । चाडले योजनाबद्ध राष्ट्रिय मेलमिलाप वार्ता अगाडि ४० भन्दा बढी विद्रोही समूह र विपक्षी व्यक्तिसँग कतारमा एउटा वाचामा हस्ताक्षर गरेको थियो ।

अफ्रिकामा कतारले गत वर्ष केन्या र सोमालियाबिचको कूटनीतिक समस्या अन्त्य गर्न मध्यस्थता गर्न मद्दत ग¥यो, जुन हिन्द महासागरमा तेलको धनी पानीलगायत धेरै मुद्दामा विवादमा थिए । ओमानले लामो समयदेखि अमेरिका र इरानबिच मध्यस्थकर्ताको रूपमा काम गर्दै आएको छ भने कतारले तेहरानको टुटेको आणविक सम्झौतालाई लिएर इरान र अमेरिकाबिच उच्च स्तरीय अप्रत्यक्ष वार्ता गराउन सफल भएको देखिन्छ । 

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले भर्खरै मानवीय सन्दर्भमा कतारको महìवपूर्ण भूमिकालाई पुनः पुष्टि ग¥यो । यसले निरन्तर रूपमा समर्पित सहायता मात्र नभई आपत्कालीन कार्यक्रमहरूका लागि आर्थिक सहायता र रणनीतिक सहयोग पनि प्रदान गरेको उल्लेख छ । अरब एकताको बुझाइमा मानवीय र विकास सहायता अन्तरसम्बन्धित छन् । सन् २०१७ मा खाडी सङ्कटको बावजुद मानवीय दाताको रूपमा कतारको भूमिकाले आर्थिक र राजनीतिक चुनौतीहरूको प्रतिरोध गरेको थियो । यसले मानवीय हस्तक्षेपमार्फत आतङ्कवादलाई समर्थन गरेको आरोपको जवाफ पनि दियो । 

अहिले कतारी सहायताको मात्रा २०१७ पछि घटेको छैन तर बहुपक्षीय संस्थालाई प्रदान गरिएको कतारको कोषको ठुलो हिस्साको साथ बजेट विनियोजनमा परिवर्तन भएको छ । दोहाले आफ्नो सहायतालाई वैध बनाउन, पारदर्शी रूपमा रकम विनियोजन गर्न र संयुक्त राष्ट्र सङ्घ वा युरोपेली एजेन्सीसँग परियोजना कार्यान्वयन गर्न इच्छुक रहेको सङ्केत हुन सक्छ ।

कतारले आपत्कालीन कार्यक्रमहरूका लागि समर्पित सहायता, आर्थिक सहायता र रणनीतिक सहयोग प्रदान गर्दै आएको छ । संयुक्त राष्ट्र एजेन्सीहरू र अन्य अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने प्रयास, आपत्कालीन वित्तीय राहतको विकासमा कतारले विस्तृत सहायता नीति र मानवीय कूटनीतिमा आफ्नो स्वतन्त्रता कायम राख्दै अन्तर्राष्ट्रिय संस्थासँगको वार्तालाई बढावा दिनु पर्छ ।  

Author

दधिराम खतिवडा