• २१ असार २०८१, शुक्रबार

प्रचार–प्रसार नहुँदा ओझेलमा कालिका भगवती मन्दिर

blog

बाटुलेचौर कालिका भगवती मन्दिर ।

प्रनिश गिरी

कुश्मा पर्वत, मंसिर १० गते । पर्वतको धार्मिक पर्यटनको सम्भावना बोकेको कालिका भगवती मन्दिरको प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीयको बुझाइ छ । 

यहाँ थुप्रै धार्मिक पर्यटन महत्वका मठ मन्दिर, देवालय, गुफा र शक्तिपीठहरु छन् । उचित प्रचारप्रसारको अभावमा कतिपय धार्मिक पर्यटनको सम्भावना बोकेका शक्तिपीठहरु ओझेलमा छन् । 

ओझेल परेकामध्ये सपनामा प्रकट भई स्थापना भएको मानिने प्रसिद्ध बाटुलेचौर कालिका भगवती मन्दिर पनि एक प्रसिद्ध शक्तिपीठ हो । कुस्मा नगरपालिका–१२ स्थित सुन्दर र रमणीय स्थल बाटुलेचौरमा अवस्थित बाटुलेचौर कालिका मन्दिरको स्थापना वि.सं. १९५० मा भएको हो ।

कुस्मा–१० निवासी किर्तिनाथ पौडेल पाध्याले कालिका भगवतीको मन्दिर बनाउनु भएको थियो । सामाजिक व्यक्तित्व पाध्यालाई सपनामा कालिका प्रकट भई मन्दिर स्थापना गरी पूजा गर्न भनेपछि कालिकाको मन्दिर स्थापना गरिएको स्थानीयवासीको भनाइ छ । 

मन्दिर स्थापनापछि निरन्तर मूर्ति राखेर भगवतीको पूजा गरिदैआएको छ । विशेषगरी दसैँको घटस्थापनादेखि नवरात्रीको दिनसम्म देवीको विशेषपूजा हुन्छ । कालिका देवीको पूजा गरेपछि शक्ति प्राप्त हुने र मनोकाङ्क्षा पूरा हुने विश्वास बोकेर टाढा–टाढाबाट भक्तजन श्रद्धाका साथ देवीको दर्शन गर्न आउनेगरेका छन् । 

कालिका मन्दिरलाई धार्मिक पर्यटन प्रवर्धन गर्न वडाले विशेष पहल गर्न लागेको बताउँदै वडा अध्यक्ष झलक रिमालले भन्नुभयो, “ऐतिहासिक र धार्मिक पवित्रस्थलमा रहेको कालिका भगवतीको नित्यपूजाका लागि मासिक आठ हजार रुपियाँ तलब दिनेगरी वडाले पुजारी राखेको छ । 

खासगरी विजयादशमी, चैत्राष्टमीलगायत विशेष पर्वमा आउने भक्तजनलाई प्रसादी ग्रहण साथै पूजाआजा व्यवस्थापनका लागि वडाले रकम विनियोजन गर्नेगरेको छ । ऐतिहासिक र धार्मिक महत्त्व बोकेको स्थलमा रहेको बाटुलेचौर कालिका मन्दिरको केही समय पहिलेसम्म पूजाको व्यवस्थापन हुन नसक्दा प्रचार–प्रसार नभएको वडा अध्यक्ष रिमालले बताउनुभयो ।  

अहिले बाटुलेचौर कालिका भगवतीको मन्दिर रहेको स्थान पहिलेदेखि नै धार्मिक–ऐतिहासिक महत्त्व रहेको क्षेत्र हो । पहिले बाटुलेचौरलाई राजा दशरथको यज्ञस्थल भनी पूजा गरिदैआएको थियो । राजा दशरथले भान्जा श्रवण कुमारको हत्याको पाप मोचन गर्न बाटुलेचौरमा अश्वमेघ यज्ञ गरेको किंवदन्ती छ । 

स्थानीयवासीले वि.सं. २०१८ मा बाटुलेचौरमा ६ महिने कोटीहोम महायज्ञको आयोजना गरेका थिए । उनीहरूले महामारी र प्राकृतिक विपत्ति लामो समय झेल्नु परेपछि यसबाट मुक्ति पाउन भनी १०८ ब्रम्हाण पण्डित लगाएर कोटीहोमको आयोजना गरेका थिए । कोटिहोमपछि स्थानीयवासीलाई सुख शान्ति मिलेको जनविश्वास छ । 

धार्मिक पर्यटकीय दृष्टिले महत्त्व बोकेको बाटुलेचौर भगवती मन्दिरको संरक्षण बाटुलेचौर कालिका क्षेत्र विकास समितिले गर्दैआएको छ । करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको कालिका क्षेत्रमा स्थानीयवासीको सहयोगमा १०८ वरपीपलको रुख रोपिएको समितिको अध्यक्ष गणेश पौडेलले बताउनुभयो ।