• ७ मंसिर २०८१, शुक्रबार

अग्रगामी गणतन्त्र

blog

जननिर्वाचित संविधान सभाको अत्यधिक बहुमतद्वारा विसं २०७२ मा जारी नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेसँगै नेपालको राजनीतिक, आर्थिक, सामाजिक/सांस्कृतिक परिवेश नयाँ युगमा प्रवेश गरेको छ । एउटै आन्दोलनले एकै पटक बहुआयामिक फड्को मा¥यो, त्यसैले त्यो क्रान्ति भयो । व्यक्तिपूजक सामन्तवाद गल्र्यामगुर्लुम ढल्यो । राजनीति, अर्थनीति, संस्कृति– समाजका हरेक अवयवमा रहेको सामन्तवाद उखेल्ने त्यो क्रान्तिको शक्ति आधार नेपाली नागरिक नै हुन् । जनताले जनतामार्फत नै शासनप्रणाली चलाउने आधुनिक मानव चेतना ढिलै भए पनि नेपालमा अवलम्बन गरी जनचाहना पूरा गर्न तीन तहका सरकार गठन गरेर अधिकार र जिम्मेवारीको बाँडफाँटसहित राष्ट्र निर्माणमा सहभागी हुन पाएका छन् नेपाली नागरिक । निगाह, अनुकम्पा, हुकुमका आधारमा होइन; संविधानले दिएको हक अधिकार र अवसरलाई स्वविवेकीय स्वतन्त्रतामा उपयोग गरी नेपाली नागरिक समानुपातिक सहभागिताको सिद्धान्तबमोजिम राजकीय प्रक्रियामा सहभागी भइरहेका छन् । हिजो 

‘पाउलागी गरेँ’ भन्दै निगाहको भिख माग्ने तप्काका मान्छे आज शिर ठाडो पारेर निर्णायक कुर्सीमा बसेको सामन्तवादका अनुचरहरूलाई मन नपर्ने नै भयो । उनीहरूको छटपटी देखा पर्दै छ ।

सामन्तवादले रैती बनाएकाहरूलाई गणतन्त्रले सम्मानित, अधिकारसम्पन्न नागरिक हैसियत दिएको छ । समान्तवादी राज्य प्रणालीमा बोल्न, सङ्गठन गर्न, स्वतन्त्र हिँडडुल, विचार प्रवाह गर्न बन्देज भोगेको पुस्ताका नागरिकले जनविश्वासका आधारमा अहिले राज्यको बागडोर चलाइरहेका छन् । सामन्तवादको निरङ्कुशतामा स्वतन्त्रता र अधिकार खोज्दा कालकोठरीमा थुनिएका, मारिएका, बेपत्ता पारिएका, सर्वस्व हरण गरिएका नागरिकले भोगेको अन्नमुष्टि अँध्यारो सामन्तवादी बङ्गलाभित्र हुर्किएका वा गणतन्त्र स्थापनापछि जन्मिएकाहरूलाई महसुस नहुन सक्छ । त्यो अँध्यारोबाट मुक्त भएर स्वतन्त्रता, खुलापन र अवसरहरूको उज्यालो ल्याएका नागरिकले स्थापना गरेको गणतन्त्र सामन्तवादसँग अतुलनीय छ । सामन्तवादले नवीन चेतनालाई दबाउँथ्यो तर गणतन्त्रले कुनै पनि चेतनालाई स्वतन्त्रता दिएको छ । गणतन्त्रको सौन्दर्य यही हो– असहमतिलाई प्रकट हुने स्वतन्त्रता दिनु । त्यही सौन्दर्य उपभोग गरेर सामन्तवादका हिमायतीहरूले पनि असन्तुष्ट अभिव्यक्ति वा गतिविधि गर्न पाएका छन् ।

 हरेक क्षेत्रमा ‘नयाँ नेपाल’ को चाहनामा सामन्तवादी चट्टान खरानी बनाएका ती नागरिकमा रहेको तीव्र परिवर्तनको हुटहुटी स्वाभाविक हो तर विजय उन्मादमा राज्यशक्तिको निरङ्कुश प्रयोगद्वारा पराजितको अस्तित्व नै नामेट पार्ने सामन्तवाद जस्तो कठोर थिएन र होइन लोकतान्त्रिक गणतन्त्र । यसले सामन्तवादका अनुयायीलाई पनि अन्य नागरिकसरह संविधानमातहतका अधिकार प्रयोग गरी राष्ट्र निर्माणमा सहभागी हुने अवसर दिएको छ । राजकीय सत्ताको बलजफ्ती प्रयोगद्वारा आफूले चाहे जस्तो सबै नागरिकलाई लदाउने हो भने त चाहे वा भने जस्तो परिणाम निकाल्न सकिन्थ्यो होला तर कानुनको शासनमा त्यस्तो हुन असम्भव छ । त्यसैले पनि नागरिकको चाहना अनुरूप विकास गतिविधि हुन सकेका छैनन् । कतिपय नेतृत्व र मानवीय अनि स्रोतसाधनका अवरोध पनि नभएका होइनन् ।

विकास आजको भोलि हुँदैन, त्यो प्रक्रिया हो । तर पनि लोकतान्त्रिक गणतन्त्रपछि नै हो– हरेक गाउँमा सडक, बिजुली, घर घरमा पानी, हात हातमा सञ्चार सुविधा, गाउँ गाउँमा स्वास्थ्य चौकी पुगेको । गोरेटा जस्ता सडक विमानस्थल जस्ता बन्दै छन्, खोलाबाट तुइन विस्थापित भएका छन् । आर्थिक उपार्जनका अवसर वृद्धि भएका छन् । खुलापनका कारण स्वदेश वा विदेश– नागरिकका लागि व्यक्तित्व विकासको स्वैच्छिक अवसरका ढोका खुला छन् । निरङ्कुशताको पिँजडाबाट मुक्त भएर पखेँटा फैलाई उड्ने स्वतन्त्रता पाएको नवपुस्ताले संसारको प्रगति देखेर स्वदेशको अवस्थाप्रति चिन्ता चासो व्यक्त गर्नु स्वाभाविक हो । आगो निल्न र ओकल्न तम्सिने त्यो युवा सौर्यलाई स्वदेशमै परिचालन गर्न नसक्नु राज्यको कमजोरी अवश्य हो तर सामन्तवादी विरासत बोकेको राज्यले छुमन्तर गरेन भनेर निराशा र आव्रmोश फैलाउने अनि धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने दुस्वप्न कसैले नदेखे हुन्छ । 

सात दशक अगाडिदेखि जरा गाडेको परिवर्तनकारी चेतनाको जरा खुलापन र स्वतन्त्रताको पौष्टिकताले झन् गाडिएको छ । दुई वटा आवधिक निर्वाचनमार्फत विकल्पको छनोट अभ्यास गरिसकेका नेपाली नागरिकले कुनै विषय वा नेतृत्व मन नपराए यही संविधानबमोजिम शान्तिपूर्ण रूपमा यही व्यवस्था र प्रणालीभित्र फेर्न सक्ने अधिकार राखेकै छन् । निःसन्देश चाहना र कल्पना जस्तो तीव्र आर्थिक समृद्धि ल्याउने विकास गतिविधि हुन सकेको छैन । यो व्यवस्था वा प्रणालीको दोष होइन । प्रणालीले दिएको अधिकार र अवसरको सदुपयोग गर्ने नागरिक र नेतृत्वको कमजोरी प्रणालीको थाप्लोमा चढाएर मसान जगाउन खोज्नुको कुनै तुक छैन । सामन्तवादको खरानी दलेर कायापलट हुन्छ भन्ने अन्धविश्वास त्यागेका नेपाली अग्रगामी गणतन्त्रका सर्जक हुन् ।