• २६ वैशाख २०८२, शुक्रबार

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपहार

blog

कार्यक्रममा महिला स्वयंसेवकहरू ।

कल्पना खरेल

नवलपरासी पश्चिम, वैशाख २६ गते । नवलपरासी पश्चिमस्थित बर्दघाट नगरपालिकाले सेवा अवधि पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई दुई लाख ५० हजार नगद प्रोत्साहन तथा १५ हजार मूल्य बराबरको मोबाइल फोन दिने घोषणा गरेको छ । 

बर्दघाट नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका सुनिश्चित्ता तथा दिगोपना घोषणा समारोहमा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले सो घोषणासहित प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

पालिकाले यसअघि दिँदैआएको २ लाख प्रोत्साहन रकममा ५० हजार थप गरी अबको आर्थिक वर्षदेखि २ लाख ५० हजार र एक– एक थान मोबाइल उपलब्ध गराउन लागेको छ ।

नगर प्रमुख श्रेष्ठले  भन्नुभयो, “स्वास्थ्य सेवा नागरिकको घरदैलोमा पुगाउन स्वयंसेविकाले रातदिन नभनी खटेर जुन योगदान दिनुभएको छ, त्यसको सम्मानस्वरूप यो निर्णय लिएको छु ।” 

कार्यक्रममा सहभागी स्वयंसेविकाले नगर प्रमुखको यो उद्घोषले निश्वार्थ सेवाभावमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मुल्याङ्कन भएको भन्दै खुसी व्यक्त गरेका छन् । 

यस्तो प्रोत्साहनले आफुहरूमा अझ जिम्मेवार र उर्जाशील भएर समाज सेवामा लाग्न थप हौसला मिलेको समेत बताएका छन् । हाल बर्दघाट नगर क्षेत्रभित्र ४४ जना कार्यरत रहेका छन् ।