हरिकृष्ण ऐडी
मुगु, वैशाख २५ गते । जिल्ला स्वास्थ्य कार्यालय मुगुमा विज्ञ चिकित्सक नहुँदा ‘सिटीफोर र एविजी एनालाईजर’ मेसिन करिब सात वर्षदेखि प्रयोगविहीन बनेका छन् ।
जिल्लाको स्वास्थ्य कार्यालय गमगढी मुगुमा सिटीफोर मेसिन सेवाग्राहीको एचआईभी अवस्थाको परीक्षण गर्नका लागि त्यसैगरी अर्को एविजी एनालाईजर मेसिन दातृनिकाय कोरिया सरकारको आर्थिक सहयोगमा र कोइका नेपालको प्राविधिक सहयोगमा २०७५ सालमा उक्त दुई वटा मेसिन खरिद गरि जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेको जिल्ला स्वास्थ कार्यालय मुगुले जानकारी दिएको छ ।
एचआईभी परिक्षण गर्ने, त्यसैगरी अन्य स्वास्थ्य सम्बन्धि परिक्षण गर्ने उक्त दुई वटा मेसिन कर्णाली प्रदेश भरमै स्वास्थ कार्यालय मुगुमा मात्रै रहेको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनुभयो ।
डाक्टर नगरकोटीका अनुसार जिल्ला स्वास्थ्य कार्यालय मुगुमा उक्त मेसिन चलाउनका लागि लामो समयदेखि विएमटी चिकित्सक नहुँदा ‘एविजी एनालाईजर र सिटीफोर’ मेसिन प्रयोगविहीन हुँदा सो मेसिनको समय अवधी सम्पन्न भइ पुन प्रयोगमा नआउने अवस्थामा छन् । कर्णाली प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सहकारी गरि यी उपकरणलाई समयमै विज्ञ चिकित्सक र विएमटी प्राविधिबाट समयमै प्रयोगमा ल्याएको भए आज प्रयोगविहीन अवस्थामा नआउने उहाँको सुझाव छ ।
यता जिल्ला नागरिक समाजका संयोजक रुप बहादुर मल्लका अनुसार दुर्गम जिल्लाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उद्येश्यले दातृनिकायले करोडौंको मेसिन जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेकोे हो । तर सम्बन्धित निकाय सम्वेदनशिल नहुँदा आज करोडौंका मेसिन कवाडीमा परिणत हुँदा राज्यलाई पनि नोक्सानी भएको छ ।
छायाँनाथ रारा नगरपालिका १० का स्थानीय रामबहादुर बुढाका अनुसार जिल्ला स्वास्थ्य कार्यालयमा ल्याब सम्बन्धी विज्ञ चिकित्सकको अभावले गर्दा भएका मेसिन पनि कवाडीमा परिणत हुँदा आज जिल्लाका नागरिकले सामान्य स्वास्थ्य परिक्षण गर्नलाई पनि जिल्लाभन्दा बाहिर गएर उपचार लिनुपर्ने बाध्यता छ।
जिल्लाका प्रतिनिधी सभाका सदस्य त्यसैगरी प्रदेश सभका सदस्य, सम्बन्धित मन्त्रालय पनि जिल्लाका नागरिकहरुप्रति सम्वेदनशिल नहुँदा आज जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि अनुदानमा आएका करोडौंका मेसिन आज प्रयाेगविहीन भएका छन् ।