• २६ वैशाख २०८२, शुक्रबार

नवौं पोखरा स्पोट्र्स अवार्ड आज

blog

सन्ताेष सुवेदी

कास्की, वैशाख २६ गते । ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को अवार्ड कार्यक्रम आज (शुक्रबार) हुँदै छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रम पोखरा इभेन्ट सेन्टरमा दिनको ३ बजे सुरु हुने छ ।

आज हुने अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एकरएक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिने मञ्चले जनाएको छ । त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ताम्रपत्र, दोसल्ला प्रदान गरिने छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५-३५ हजार प्रदान गरिने छ । 

यस पटकको अवार्ड कार्यक्रममा गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुती समेत रहने मञ्चले जनाएको छ ।

त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्डबाट भगवती खत्री केसी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट विजय नेपाल सम्मानित हुने जनाइएको छ । मञ्चले सार्वजानिक गरेको ४ विधाका मनोनयन अन्तर्गत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा पर्न सफल ३-३ जना खेलाडीको नाम सार्वजनिक गरिएको मञ्चका अध्यक्ष एमबी आस्था मगरले जानकारी दिनुभयो ।

वर्ष खेलाडी पुरुषतर्फ वर्ष सर्वोत्कृष्ट पुरुष विधामा भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा पर्नुभएको छ । त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा भलिबलकी अरुणा शाही (कास्की), फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र आइटिएफ तेक्वान्दो-मुआथाइकी सुस्मिता थापा मगर (बागलुङ) पर्नुभएको छ । 

त्यसैगरी वर्ष उदीयमान खेलाडीमा एथ्लेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा), र क्रिकेटकी रचना चौधरी (कास्की) मनोनयनमा परेका मञ्चले जनाएको छ । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा पर्नुभएको छ ।