ज्योति पन्थी
बबई(बर्दिया) वैशाख २६ गते । अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनमा यस वर्ष बर्दियामा गहुँ उत्पादनमा वृद्धि भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले जनाएको छ ।
गत वर्ष बर्दिया जिल्लामा ८६ हजार ३ सय ४० मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने यस वर्ष उत्पादन बढेर ९२ हजार ८ सय मेट्रिक टन गहु उत्पादन भएको छ । गत वर्ष भन्दायस वर्ष ६ हजार ४ सय ६० मेट्रिक टन गहुँ बढी उत्पादन भएको हो ।
बर्दिया जिल्लामा मात्र २४ हजार एक सय ५० हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ । गहुँ उत्पादन गर्ने कृषकले गहुँको मूल्य पाउन थालेपछि गहुँ खेतीमा कृषकको आर्कषण बढ्दा गहुँ उत्पादन बढेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताउनुभयो । बर्दिया जिल्लाको गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, बढैयाताल गाउँपालिका र बारबर्दिया नगरपालिकामा बढी गहुँ खेती हुने गरेको छ ।
बर्दिया जिल्लामा मात्र ५० हजार १ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने २४ हजार १ सय ५ हेक्टर जमिनमा गहुँ खेती र ५ हजार २ सय ३० हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ । विगतका वर्षहरुमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने गहुँ मकै जस्ता क्बालीमा आर्कषित हुन थालेका छन् । गुहँ खेतीले बजार मूल्य पाउँदा कृषकलाई फाइदा भएपछि आफूहरु गहुँ खेतीतर्फ लागेको गुलरिया नगरपालिका ५ का स्थानीय कृष्णमोहन थारुले बताउनुभयो ।
बर्दियामा कृषकले उत्पादन गरेको गहुँ बर्दिया जिल्ला लगायत नेपालगञ्ज, बुटवल, पोखरा, नारायणघाट, सुर्खेत लगायतका जिल्लाहरुमा बिक्री वितरण हुँदै आएको कोटही एग्रोफर्मका सञ्चाल रोहित आचार्यले बताउनुभयो ।