विसं २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएको गएको भूकम्पले नेपालमा ठुलो धनजनको क्षति भयो । त्यसको पुनर्निर्माण अझैसम्म सम्पन्न हुन सकेको छैन । मानवशास्त्रको विद्यार्थीका नाताले सोही भूकम्पले पु¥याएको क्षतिको अध्ययन अनुसन्धान गर्नु र त्यसमा भूकम्प जस्ता जोखिमबाट बच्न गर्नुपर्ने पूरा तयारीमा केही योगदान पु¥याउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयबाट ‘एन्थ्रोपोलोजी अफ डिजास्टर’ (भूकम्पमा) विद्यावारिधि गर्ने सोच आयो ।
नेपालमा यो विषयमा कसैले पनि विद्यावारिधि नगरेकाले पनि मेरो रोजाइ यो विषय बन्न पुग्यो । विद्यावारिधिका रूपमा शोधपत्र प्रस्तुत कार्य सम्पन्न गर्ने अन्तिम तयारी भइरहेकै बेला यही कात्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलै क्षति पु¥यायो । यो भूकम्पले पनि २०७२ सालको भूकम्पबाट पुगेको क्षति, राहत, पुनस्र्थापना, जीविकोपार्जनलगायत विषयमा सात वर्ष गरेको अध्ययनलाई पुनर्ताजकी गरिदिएको छ ।
त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागको पहिलो ब्याचमा एमफिल अध्ययन गरेपछि विसं २०७२ को विनाशकारी भूकम्पको कारणले नेपालको धादिङ जिल्लाको जीवनपुर गाउँमा रहेका भूकम्प प्रभावित दलित समुदायको सामाजिक, सांस्कृतिक र जीविकोपार्जनमा प्रभाव, पुनस्र्थापना र रेजिलियन्सको बारेमा सात वर्ष लगाएर मानवशास्त्रीय दृष्टिकोणबाट पङ्क्तिकारले अध्ययन गरेको थियो । जीवनपुरका १६७ दलित घरपरिवारको भूकम्पपछिको अवस्था, उद्धार, राहत, पुनस्र्थापना रेजिलियन्स जस्ता आयाममा अध्ययन गरेको थिए । जसको भूकम्पले घर पूर्ण रूपमा क्षति गरेको थियो, पुनर्निर्माण प्राधिकरणले रातो कार्ड दिएको थियो ।
भूकम्पको प्रकोपले अति सीमान्तकृत समुदायमा पर्ने प्रभावबारे नेपालमा बिरलै अध्ययन भएको कुरालाई मध्यजनर गर्दै पङ्क्तिकारले यस क्षेत्रमा मानवशास्त्रीय दृष्टिकोणबाट अध्ययन गरेको थियो । भूकम्पले भौतिक, मानवीय मात्र होइन सामाजिक र सांस्कृतिक क्षति पनि गराएको पाइयो । भूकम्पलगात दैवी प्रकोपमा सबैभन्दा बढी क्षति र प्रभावित हुने दलित समुदाय नै रहेको हालै जाजरकोटको भूकम्पले पनि प्रस्ट पारेको छ । जाजरकोट भूकम्पमा दलित समुदाय व्यक्तिले पनि मृत्यु भयो, मुस्किलले ज्यान बचाएका दलितले चिसोका कारण मृत्यु भोग्न बाध्य भए । दलित बस्तीमा राहत नपुगेको गुनासो पनि आएको छ । २०७२ को विनाशकारी भूकम्पले नेपालमा करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए । दुई लाख ५० हजारभन्दा बढी घरलगायत अन्य भौतिक संरचना ध्वस्त भएका थिए । भूकम्पले तीन जना दलित समुदायका सदस्यको मृत्यु भएको थियो । १६७ दलित समुदायका व्यक्तिका घर पूर्ण रूपमा ध्वस्त भएका थिए भने दर्जनौँ गाईबस्तुको क्षति भएको थियो ।
नेपालमा दलित निम्न आर्थिक र सामाजिक सूचकाङ्कमा रहेका छन् । त्यसैले पनि उनीहरूलाई भूकम्पलगायत अन्य विपत्मा अन्य समुदायलाई भन्दा उच्च प्रभाव रहेको पाइएको छ । अध्ययनमा दलित समुदायमा परेको भूकम्पको असरलाई विभिन्न पक्षमा बुझ्ने प्रयास गरिएको छ । दलित जनताको सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षलाई भूकम्पले कसरी प्रभाव पारेको छ ? तिनीहरूको अनुकूलन र रेजिलियन्स क्षमता, तिनीहरूको जोखिम, विपत्को प्रभाव, आदिलाई न्यूनीकरण गर्न स्थानीय संस्था राज्य र गैरराज्य निकायको भूमिका र सामाजिक, सांस्कृतिक र आर्थिक जीवनका समग्र परिवर्तन समावेश भएका थिए । साथै भूकम्पको प्रकोपमा स्थानीय दलित समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक कार्य एक अर्कामा के कसरी गरिरहेका छन् भन्ने अध्ययनको अर्को महत्वपूर्ण विषय रहेको थियो ।
मानवशास्त्रीको बुझाइमा संस्कृति नै मानव जीवनको मुख्य स्रोत हो । संस्कृति भन्नाले मानवका ज्ञान, सिप, प्रविधि, क्षमता, प्रथा, परम्परा, चालचलन, दैनिकी, आयआर्जन, जीविकोपार्जन, रहनसहन, घर जस्ता सम्पूर्ण विषयलाई समेट्छन् । यावत् विषयमा भूकम्पले पारेको प्रभाव र त्यसबाट बाहिर निस्किन स्थानीय दलित समुदायले गरेको प्रयास र रेजिलियन्स हुनका लागि आवश्यक कारक तìवको गहिरो र एथ्नोग्राफी अध्ययन मुख्य विषय हो । यस अध्ययनले तल्लो तहबाट विपत्को अवस्थाका दलित समुदायको विविध समस्याको खोजी गर्ने, पुनस्र्थापना र रेजिलियन्स हुन सक्ने कारण पत्ता लगाई ती भूकम्प प्रभावित दलित समुदायलाई नीति तर्जुमा प्रक्रियामा केन्द्रमा राखेर समस्याको समाधान गर्न नयाँ ज्ञान उत्पादन गर्न मद्दत गर्ने छ । यो अध्ययन विपत्को ‘बायोपिक’ चित्रमा आधारित छैन बरु विपत्का घटनाबाट प्रभावित सीमान्तकृत व्यक्तिको वास्तविकतालाई जस्ताको तस्तै चित्रण गरी वास्तविक रूपबाट उजागर गर्न प्रयत्नशील छ । यस अध्ययनले निम्न प्रश्नको जवाफ दिने प्रयास गरेको छ ।
क. विसं २०७२ को भूकम्पले धादिङ जिल्लाको जीवनपुर क्षेत्रका भूकम्प प्रभावित दलित जनताको उद्धार राहत र रेजिलियन्सको प्रक्रिया र अवस्था के कस्तो छ ?
ख. विसं २०७२ को भूकम्पपछि त्यस क्षेत्रका भूकम्प प्रभावित जनताको सामाजिक सांस्कृतिक र जीवीकोपार्जनमा के कस्तो प्रभाव परेको छ ?
ग. त्यस क्षेत्रका भूकम्प प्रभावित दलित समुदायमा विपत्पश्चात्को पुनस्र्थापना र रेजिलियन्स प्रक्रिया के कस्तो छ ?, समान छ वा फरक छ ?
यिनै प्रश्नको व्यवस्थित र वैज्ञानिक जवाफ दिने क्रममा यस अध्ययनले दुई विशिष्ट उद्देश्य स्थापित गरेको छ ।
क. धादिङ जिल्लाको जीवनपुर क्षेत्रका भूकम्प प्रभावित दलित समुदायले २०७२ को भूकम्पमा अपनाएको उद्धार, राहत र रेजिलियन्स प्रक्रियाको अन्वेषण र आलोचनात्मक विश्लेषण गर्ने ।
ख. विसं २०७२ को भूकम्पपछि अध्ययन क्षेत्रका दलित समुदायको सामाजिक सांस्कृतिक र जीवीकोपार्जनको स्थिति र रेजिलियन्सको अवस्था पत्ता लगाउने ।
यी अध्ययन उद्देश्यमा आधारित रही विपत्को मानवविज्ञान, सांस्कृतिक परिस्थिति र राजनीतिक परिस्थिति जस्ता तीन वटा मानवशास्त्रीय सैद्धान्तिक दृष्टिकोणद्वारा अनुसन्धानलाई मार्गदर्शन गरेको छ । अन्वेषणात्मक, वर्णनात्मक र विश्लेषणात्मक अनुसन्धान ढाँचा रहेको अध्ययनमा गुणात्मक र मात्रात्मक अनुसन्धान उपकरणलाई समाविष्ट गरी जीवनपुर क्षेत्रका भूकम्प प्रभावित दलितको अवस्था र रेजिलियन्स प्रक्रियाको एथ्नोग्राफिक अध्ययनद्वारा प्रारम्भिक सूचना सङ्कलन गरिएको थियो ।
भूकम्प, विपत्लगायत अन्य मानव समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने मानव केन्द्रित विषयको अध्ययन अनुसन्धानमा मूलभूत रूपमा मानवशास्त्रीय ज्ञानको प्रयोग गर्नु पर्छ । मानवशास्त्रीय ज्ञानले विपत्को समयका स्थानीय विपत् प्रभावित, पीडित जनसमुदायका निम्न विषयलाई नजिकबाट हेरी रजिलियन्स, पुनस्र्थापना र पुनर्निर्माणका प्रक्रियामा सहयोग गर्न अन्य विषयभन्दा प्रभावकारी छ । भूकम्पलगायत विपत्को समयमा मानवशास्त्रीय ज्ञानलाई समाविष्ट गरी सांस्कृतिक पुनर्निर्माण र रेजिलियन्स प्रक्रियामा मानवशास्त्रीले निम्न तरिकाबाट सहयोग गर्न सकिन्छ ।
क. भूकम्प प्रभावित स्थान र समुदायका संस्कृति केन्द्रित स्थानीय आवश्यकता के के हुन तिनको पहिचान गरी सहयोग गर्न ।
ख. भूकम्प प्रभावित स्थानीय जनताले रेजिलियन्स र पुनर्निर्माण प्रक्रियामा आफैँले के के गर्न सक्छन ? र केके सक्दैनन् ? ती पत्ता लगाइ सहयोग गर्न ।
ग. भूकम्प प्रभावित क्षेत्रको स्थानीय स्रोत साधनले स्थानीय रूपमा के के गर्न सकिन्छ वा के के गर्न सकिँदैन ? ती पत्ता लगाइ त्यसमा सहयोग गर्न ।
धादिङ जिल्लाका भूकम्प प्रभावित दलित समुदायको पुनस्र्थापना प्रक्रिया एकरेखीय नभई बहुरेखीय अर्थात् फरक फरक थियो । भूकम्प प्रभावित दलित परिवारको राम्रो आर्थिक र आय आर्जनको अवस्थाको बावजुद सामाजिक पुँजी, भाइचारा, आत्मीयता, मेलमिलाप र समभाव, सडक सञ्जाल आदिले रेजिलियन्स प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको पाइयो । २०७२ को भूकम्प प्रभावित क्षेत्रका समुदायमा नयाँ सामाजिक वर्ग (ब्रोकर) जन्माएको, दलित समुदायमा सामाजिक गतिशीलता जस्ता विषयमा परिवर्तनकारी प्रभाव पारेको, अन्तर्जातीय र चलिआएका भेदभावपूर्ण सामाजिक अभ्यासलाई सङ्कुचित गर्न मद्दत पुगेको छ । बलियो सामुदायिक बन्धन र भाइचारा कायम बस्तीमा (जस्तो, तल्लो मिजार टोल) तुलनात्मक रूपमा भूकम्पपछि छिटो रेजिलियन्स भएको, भूकम्पले स्थानीयको स्वास्थ्य, सरसफाइ, भाइचारा, महिला सशक्तीकरण, जातीय भेदभाव जस्ता विषयमा सकारात्मक परिवर्तन आएको र पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।