• २१ असार २०८१, शुक्रबार

सत्यवतीमा चिच्याएर बर माग्ने मेला सुरु

blog

रेखीराम राना

तानसेन, मङ्सिर ७ गते । पाल्पाको सत्यवतीमा चिच्याएर बर माग्ने मेला सुरु भएको छ । हरेक वर्ष जस्तै यो वर्ष बिहीबारदेखि चिच्याएर बर (मनको इच्छाउने) माग्ने मेला सुरु भएको हो । 

तिनाउ गाउँपालिकाको वडा नं. ४ स्थित सत्यवती तालको परिक्रमा गर्दै यहाँ आउने भक्तजनले चिच्याएर बर माग्ने प्रचलन छ । परापूर्व कालमा सत्यवती बज्यैले यहाँ आएर तपस्या गरेको र शक्ति प्राप्त गरेको जनविश्वास छ । यहाँ आउने भक्तजनले बाँस, निगालो, साल लगायतको लिङ्गो, प्रसाद सहित आउने गर्छन् । भक्तजनले आफूले ल्याएको लिङ्गो रातिको समयमा तालमा गाड्ने र भोलिपल्ट सोही लिङ्गोमा पूजा गरेर फर्कने प्रचलन छ । 

सत्यवती बज्यै बहिरी भएकाले यहाँ आउने भक्तजनले चिच्याएर बर मागे पुरा हुने विश्वास रहेको सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । सत्यवती तालको छेउ वरपर घुमेर दर्शनार्थीले मैले छोरा, पाम, डाक्टर, इन्जिनियर हुन पाम, पल्टनमा भर्ती हुन पाम, धनसम्पत्ति कमाउन पाम, मेरा छोराले यो पाओस् भन्दै बर माग्ने गरेको अध्यक्ष गाहाले बताउनुभयो । 

सत्यवतीमा पहिलो पटक बर माग्न जाने भक्तजनले अचम्म मान्दै बर माग्छन् र मागेको वर पुरा भएपछि भाक्कल लिएर पुनः यहाँ आउने प्रचलन छ । यो वर्ष मङ्सिर ७ गतेदेखि ११ गतेसम्म बर माग्ने मेला लाग्ने गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । मेलामा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ्, बाँके, चितवन लगायतका जिल्लाबाट हजारौँ भक्तजन आउने अपेक्षा गरिएको छ ।

मेलामा सहभागी हुनेहरूको सुरक्षालगायत बसाइको व्यवस्थापन गरिएको वडाध्यक्ष तुलबहादुर आलेले बताउनुभयो । सत्यवती बज्यैको भक्तजनको सुरक्षाको लागि स्थानीय बासिन्दा र प्रहरीसँगको खटिने उहाँले बताउनुभयो । मेलामा दुई लाख बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।