गुणबहादुर रोका
सुलीकोट, मङ्सिर ७ गते । गोरखाको दोस्रो नगरपालिका पालुङटार नगरपालिकाले मुख्य बजार क्षेत्र सुन्दर र व्यवस्थित बनेको छ । आर्थिक वर्ष २०७९-८० मा २० लाख लागतमा निर्माण कार्य सुरु गरेको नगरपालिकाले पालुङटारको मुख्य बजार क्षेत्र ठाँटीपोखरी बजारलाई सौन्दर्यीकरण गर्नका लागि फुटपाथ निर्माण गरेको हो ।
पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनका अनुसार बजार क्षेत्रमा हुने फोहोर मैलासहित अव्यवस्थित पार्किङको कारण बजार क्षेत्रको सौन्दर्यीकरणको लागि मुख्य बजारमा रेलिङसहितको फुटपाथ निर्माणमा जोड दिएको बताउनुभयो ।
रेलिङसहितको फुटपाथले आन्तरिक तथा बाह्य पर्यटक बढ्ने र नगरपालिकाको विकासमा टेवा पुग्ने बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष खुमबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले मुख्य बजारदेखि ऐतिहासिक लिगलिगकोट दरबारसम्म सफा र चिटिक्क बाटो र फुटपाथ बनाउनुपर्ने उहाँको माग छ ।
नगरपालिकाले निर्माण गरेको पुटपाथमा स्थानीय बासिन्दाहरुले मौसम अनुसारको फलफुल रोप्नुपर्ने नगरपािलकाले नियम बनाएको छ । त्यसका लागि सम्बन्धित वडा कार्यालयले सहजीकरण गर्नुपर्ने भएको छ । नगरपालिकाले विनियोजित बजेटमध्ये कुल २० लाख सहित ४ लाख श्रमदानमा करिब ५ सय मिटर सडकमा रेलिङसहित फुटपाथ निर्माण गरेको हो । यसको अलवा चालु आर्थिक वर्षमा थप पाँच लाख बजेट विनियोजन गर्दै नगरपालिकाले थप दुई सय मिटर सडकमा फुटपाथमा निर्माण गर्ने योजना रहेको नगरपालिकाका इन्जिनियर सन्दीप मरहट्टाले जानकारी दिनुभयो ।
रेलिङसहितको फुटपाथले सवारी दुर्घटना न्यूनीकरण हुने भन्दै यसलाई विस्तार गर्दै पैदलयात्रु, सवारीसाधन प्रयोगकर्ता, सवारीचालक तथा बालबालिका, सडक दुर्घटना र स्थानीयको चापलाई दृष्टिगत गर्दै नगरपालिकाले फुटपाथ निर्माण गरेको नगरपालिकाले जनाएको छ ।