साबिकका धारापानी, ताचैबगरछाप र थोँचेलगायत गाविस मिलेर बनेको नासोँ गाउँपालिकामा नौ वटा वडा समावेश छन् । सडक पहुँच पुगे पनि साना चारपाङ्ग्रे सवारीबाहेक अन्य सवारीसाधन यहाँ चल्दैनन् । नासोँ गाउँपालिकाले सडक, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकतामा राखी विकास गरिरहेको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित धनबहादुर गुरुङले पालिकाको विकास र समृद्धिमा नै योजनालाई केन्द्रित गर्दै आउनुभएको छ । अध्यक्ष गुरुङसँग गाउँपालिकाका विकास निर्माण, योजना र विकासका लागि देखिएका चुनौती तथा सम्भावनाका सन्दर्भमा गोरखापत्रका पत्रकार यदुप्रसाद भट्टले गर्नुभएको कुराकानी :
तपाईंको पालिकामा गर्नैपर्ने कामलाई कसरी प्राथमिकता दिनुभएको छ ?
नौ वटा झोलुङ्गे पुल बनाउनुपर्नेमा एउटा मात्रै सम्पन्न भएको छ । हाम्रै कार्यकालमा अरू बाँकी पुल पनि सम्पन्न गर्ने लक्ष्य लिएर काम गरिरहेका छौँ । शिक्षाका क्षेत्रमा आवासीय विद्यालयको रूपमा प्रकाशज्योति उमाविलाई लिएका छौँ । वार्षिक ५० लाख रुपियाँ छुट्याएर राखेका छौँ । त्यो रकम भनेको खाजा खानाका लागि प्रयोग गरिने हो । टाढाबाट आएर आवासीय विद्यालयमा अध्ययन गर्न पाउँदा विद्यार्थीलाई समय बचत हुन्छ भने शिक्षाको गुणस्तर बढ्छ । सूचना प्रविधिको युगमा गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । एउटा शिक्षित व्यक्तिले मात्र परिवर्तन गर्न सक्छ भन्ने ठानेर यसैमा लागिपरेका छौँ । प्रत्येक वडामा स्वास्थ्यको पहुँच पु¥याउन सफल भएका छौँ । वडा नं. १ ताल, ५ थोँचे, ८ ताचैमा स्वास्थ्य चौकी स्थापना गरी सेवा दिइरहेका छौँ भने बाँकी वडा नं २ नाचौ, ३ खोत्रो, ४ ओडार, ६ तिल्चे, ७ तिल्चे र ९ बगरछापमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिइरहेका छौँ । हामीले गर्नुपर्ने मुख्य कामहरू सडक, बत्ती, खानेपानी, शिक्षा र स्वास्थ्य नै हुन् ।
निर्वाचनताका जनतासामु व्यक्त गरेका प्रतिबद्धता पूरा गर्नुभयो त ?
मनाङको मुख्य समस्या भनेको मोटर बाटो हो । जनतासँग निर्वाचनका बेला मैले मोटर बाटोको कुरा गरेको थिएँ । २०७८ सालको बाढीले ध्वस्त बनाएको बाटो बल्ल आएर हिउँदमा साना सवारीसाधन जान सक्ने बनाएका छौँ । त्यसै गरी नासोँका ताल, धारापानी, थोँचेका भत्किएका घरहरू तथा डुबानमा परेको गाउँलाई सुरक्षित गरी बस्न योग्य बनाएका छौँ । जनताको हरेक समस्यामा दत्तचित्त भएर काम गरेका छौँ । बाढीले दुइटा बैङ्क बगाएको थियो । हाल आएर ती पुनस्र्थापना भएका छन् । हामी ती सबै कामलाई आवश्यकताका आधारमा पूरा गर्नेतर्फ लागेका छौँ ।
जनप्रतिनिधिका रूपमा डेढ वर्षमा के कस्ता चुनौती भोग्नुभयो ?
पहिलो वर्ष पालिकाको अवस्था, कार्य प्रणालीबारे बुझ्न पनि समय लाग्यो । पालिकाको भवन निर्माण र कर्मचारी परिचालनमा अलि बढी समय खर्च भयो । कर्मचारीको भूमिका पहिचान गर्न पनि समय लाग्यो । पूर्वाधार नहुँदा पनि काम गर्न समस्या भयो । जनतामा बजेट कार्यान्वयनका सवालमा पहिलाको सरकारले बसालेको बानी सुधार गर्न पनि समय लाग्यो । समाधान खोज्दै काम अघि बढाएका छौँ ।
‘स्थानीय तहको अधिकार, गाउँ गाउँमा सिंहदरबार’ लागु भएको छ ?
स्थानीय तहलाई दिइएका २२ वटा अधिकार त्यति सबै हामी जस्तो दुर्गम विकट हिमाली जिल्लाले पु¥याउन सक्ने कुरै भएन । यो त्यति धेरै सान्दर्भिक होला जस्तो लाग्दैन मलाई । अधिकार दिएर मात्रै पुग्दैन, कार्यान्वयनको पक्षलाई पनि ध्यान दिनुप¥यो । तै पनि हामी जनप्रतिनिधिले जनतालाई सक्दो सेवासुविधा उपलब्ध गराउन पछि सरेका छैनौँ ।
गम्भीर खालका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गराउन कस्ता योजना बनाउनुभएको छ ?
पाँच सय शøया क्षमताको अस्पताल बनाउने हाम्रो लक्ष्य हो । त्यसका लागि जग्गा प्राप्त गर्न समय लागेको थियो । दाताबाट निःशुल्क पाँच रोपनी जग्गा दान आएको छ । प्रक्रिया मिलाएर लिन मात्र बाँकी छ । जग्गा वर्गीकरण गरी प्राप्तका लागि ९० प्रतिशत हाराहारीमा काम भएको छ । प्रदेश तथा सङ्घीय सरकारलाई विकटका बिरामीका पीडा कम गर्न अस्पतालको आवश्यकता भएकाले बजेट विनियोजन गर्न आग्रह गरेका छौँ । मनाङीलाई महँगो शुल्कमा हेलिकोप्टर चढेर उपचार गर्न सहर पस्ने कार्यको अन्त्य गर्नुपर्ने छ ।
पर्यटनमार्फत समृद्धि ल्याउन योजना बनाउनुभएको छ ?
पक्कै पनि मनाङ पर्यटकीय दृष्टिले अग्रस्थानमै छ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल जान आउने पर्यटक धेरै हुन्छन् । अन्नपूर्ण पदमार्ग पनि यहीँ पर्छ । थोरोङ्ला पासलगायत थुप्रै ताल हिमताल छन् । यी पर्यटकीय स्थानमा आउने पर्यटकलाई खुसी पारी संसारभर मनाङलाई चिनाउने योजना छ । केही समयअघि हामीले पदमार्गमा मेटिएका साइन बोर्ड बनायौँ । जिल्लाभर नै सञ्चालनमा रहेका होटलमा अनुगमन गरी सुलभ शुल्कमा सेवा प्रदान गर्न अभिप्रेरित पनि ग¥यौँ । पदमार्ग निर्माण गरी प्रचारप्रसार गर्न सकियो भने पर्यटकको ओइरो लाग्नेमा कुनै शङ्कै गर्नु पर्दैन ।
कृषि विकाससम्बन्धी योजना के कस्ता छन् ?
मनाङमा यहाँको उत्पादनले मुस्किलले तीन महिना खान पुग्छ । धान, मकै, कोदो फल्दैन । उवा, आलु, जौ, गहुँ, करु र फापर नै यहाँको मुख्य खेती हो । यसबाहेक व्यावसायिक रूपमा स्याउ खेती गरेर लाभान्वित हुन भने सकिन्छ । विकट भएकाले बल्लबल्ल स्याउ फलाए पनि बिव्रmीका लागि समस्या छ । हिजोआज आएर केही कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्न थालेका छन् । हामीले सकेसम्म पालिकाबाट दिन मिल्ने अनुदान दिएर कृषकलाई खुसी पार्ने काम गर्ने छौँ ।