• ७ जेठ २०८१, सोमबार

भूकम्प प्रभावित क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर

blog

शिविरमा बिरामीको स्वास्थ्य जाँच गरिदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर ६ गते । रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प प्रभावित तथा सर्वसाधारणका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ । आठविसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवालगायतका निकायको संयुक्त आयोजनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको हो । 

दुई दिने स्वास्थ्य शिविर अन्तर्गत आज पहिलो दिन आठविसकोट नगरपालिका १४ घेत्मामा शिविर आयोजना गरिएको हो । यहाँ १५९ जना बिरामीले सेवा लिएको आयोजक संस्थाका वासुदेव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा डाक्टर मणिन्द्र कँडेलसहित आठजना स्वास्थ्यकर्मी टोली खटेको छ । 

शिविरमा नाम, कान, घाँटी, ज्वरो, ग्याष्टाईटिस, एलर्जी, रुघाखोकी, झाडापखाला, निमोनियाजस्ता समस्या भएका बिरामीको उपचार गरिएको सापकोटाले बताउनुभयो । घेत्मामापछि आजै उक्त टोलीले पीपलचौरमा पनि शिविर सञ्चालन गरेको बताइएको छ । 

दुई दिने घुम्ती शिविर आठविसकोट नगरपालिकाको वडा १०, ११, १२, १३ र १४ मा सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ । चिसोको कारण भूकम्प प्रभावितहरू बिरामी हुन थालेपछि विभिन्न निकायको साझेदारीमा शिविर सञ्चालन गरिएको छ ।