• २२ वैशाख २०८२, सोमबार

स्याङ्जा सहयोग समाजको विश्व सम्मेलन हुने

blog

विश्व सम्मेलनको बारेमा पत्रकार सम्मेलनमा गराउँदै ।

अर्जुन काफ्ले 

स्याङ्जा, मङ्सिर ६ गते । पुतलीबजार नगरपालिका-१ मा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाँचौँ विश्व सम्मेलन मङ्सिर ९ गते हुने भएको छ । 

सम्मेलनको पुतलीबजार नगरपालिका वडा नं. १ मा रहेको जिल्ला समन्वय समिति स्याङ्जाको सभा हलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’को मूल नारा लिएर ०६६ साल भदौ १२ गते स्थापना भएको समन्वय समितिले बुधबार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । 

विश्व सम्मेलनमा कुल ४३ देशका प्रतिनिधि तथा पर्यवेक्षकसहित ३४२ जना सहभागिता रहने अध्यक्ष टुकराज अर्यालले बताउनुभयो । समाजका २३ देशमा राष्ट्रिय समिति र २० देशमा सम्पर्क प्रतिनिधि छन् । विश्व सम्मेलनमा १५० भौतिक तथा १९२ भर्चुअल माध्यमबाट सहभागी हुने अर्यालले जानकारी दिनुभयो । 

भूकम्प, कोरोना महामारी तथा आगलागी, बाढी पहिरोजस्ता विपत्तिमा समितिले विभिन्न समयमा गरी करिब आठ करोड रकम सहयोग गरेको छ । 

यस्तै, विद्यालयहरूमा शैक्षिक सामग्री, अक्षयकोष स्थापना, बालगृह, वृद्धा आश्रममा सहयोग पनि गर्दै आएको छ । सम्मेलनले आगामी दुई वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ भने संस्थाको आफ्नै एक करोड रुपियाँको अक्षयकोष रहेको छ ।