• २७ पुस २०८१, शनिबार

नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती छैन : मन्त्री महत

blog

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, मङ्सिर ५ गते । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्नुहुँदै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो ।

मन्त्री महतले कार्बन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्नका लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रूपमा स्थापित गरिरहेको जानकारी दिनुभयो ।

‘‘नेपालको ४५ प्रतिशत जमिनमा जङ्गल स्थापित गरिसकेका छौँ । सन् १९९० देखि ३० प्रतिशत रहेकोमा अहिले ४५ प्रतिशत पुर्‍याएका छौँ । नेपालले अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्ने काम गरिरहेका छौँ । यसलाई विश्वले प्रशंसा गर्नुपर्छ । अहिले नेपालको जलवायुसम्बन्धी चुनौती भनेको कार्बन उत्सर्जन शून्यमा बनाउन सक्छ की सक्दैन भन्ने होइन । त्यो नेपालले गर्दैछौं । त्यो नेपालले गर्छ । नेपालले एक्सनबाट नै बताइसकेका छौँ । कार्बन उत्सर्जन कम गर्न सवारीसाधनहरू समेत विद्युतीयमा परिमार्जन भइरहेका छन् ।,’’ मन्त्री महतले भन्नुभयो, ‘‘अहिले विद्युतीय सवारी साधनहरूको माग उच्च छ । त्यसैले नेपालले राखेको सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य कुनै शङ्का छैन । नेपालले एक्सन र तथ्याङ्कबाट प्रमाणित गर्छ । तर नेपालले कार्बन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभाव नेपालले भोगिरहेको छ । त्यसमा नेपालले कार्बन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभावबाट नेपाल मुक्त हुन्छ ? हुँदैन ।’’


अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न सवारीसाधनहरू समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गर्नुभयो । उहाँले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शङ्का नराख्न आग्रह गर्नुभयो । उहाँले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्बन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले विकसित देशले उत्सर्जन गरेको कार्बनका कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको बताउनुभयो । उहाँले नेपालका हिमालहरूको हिउँ पग्लिएको नेपालले कार्बन उत्सर्जन गरेको कारणले नभएर अन्य देशका कारणले भएको भन्दै विकसित मुलुकहरूले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नका लागि आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तन न्यूनीकरणका लागि विभिन्न फण्डहरुबाट पाउनुपर्ने सबै सहयोग नेपालले पनि पाउनुपर्ने माग कोप सम्मेलनमा राखिने बताउनुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘‘विकसित देशले उत्सर्जन गरेको कार्बनबाट नेपालले भोगी रहेको छ । नेपालका हिमालहरूको हिउँ पग्लिएको नेपालले कार्बन उत्सर्जन गरेका कारणले नभएर अन्य देशको कारणले हो । विकसित मुलुकहरूले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नका लागि सहयोग चाहियो । नेपालका ठुला आयोजनाहरूको लागत कष्ट बढ्ने गरेको छ । त्यो बढेको कष्ट व्यहोर्ने की न व्यहोर्ने ?’’

उहाँले नेपालमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने डोनर एजेन्सीहरूबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै प्रस्तुत गर्नेभन्दा पनि कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने गरी नेपालमा जलविद्युतमा लगानी भइरहेको बताउनुभयो ।