मैले पनि मङ्सिर ९ गते नेपालगन्जमा हुने म्याराथनमा अरू धावकसँगै सडकमा दौडिन खेल सामग्रीको जोहो गरिसकेँ । पक्कै, म पनि सडकमा धावक बन्ने छु । म ७० तिर लम्कँदै गरेको युवा हुँ । म्याराथनको यो सिरिज नेपालगन्जको गौरव हो । अन्तर्राष्ट्रिय मान्यता पाएको एथलेटिक्स पनि हो ।
सद्भावनामै खलल आइरहेको र घृणा व्यवसाय फस्टाइरहेका बेला यसले सबै जाति, धर्म, भाषा, संस्कृतिलाई प्रतिनिधित्व गराएर एकै लयमा सडकमा उतारेर दौडन प्रेरित गर्दै छ । आयोजकको सफलताको कसी यही बन्ने छ । यो दौड मात्रै हैन, हुने छैन । सद्भावको थप अभ्यास र सन्देशसमेत हुने छ । विश्व अभ्यास नियाल्दा पनि भन्न सकिन्छ, हरेक लोकप्रिय खेल र यस्ता आयोजनाले जातीय र धार्मिक असहिष्णुता, द्वन्द्व र युद्धमय भावलाई पनि सद्भाव प्रतीक, राजनीति र कूटनीतिको माध्यम बन्ने गरेका छन् ।
हरेक इभेन्ट, खेल र राजनीति सबै शान्तिपूर्ण युद्ध नै हुन् । सबैमा जित मुख्य लक्ष्य हुन्छ । खेल अनेकौँ प्रकारका हुन्छन् । राजनीति, कूटनीतिका, भावना, विश्वास, मान्यताका । सबै खेलमा झेल पनि हुन सक्छ । झेली खेलेर जित्न खोज्ने वा उत्तेजक औषधीले ऊर्जा लिएर नक्कली शक्तिवान् पनि हुन सक्छन् । एन्टिडोपिङ परीक्षणले वास्तविक शक्ति र क्षमता लुकाउन भने सकिँदैन । अन्य खेलभन्दा स्टेडियममा खेलिने वा सडकमा दौडिने खेल अनुशासित हुन्छन् । रेफ्रीको निर्णय सबैले पालन गर्नु पर्छ । राजनीतिक र भावना खेलमा भने कुनै न नीति, विधि हुन्छ न रेफ्री नै हुन्छन् । दर्शकले खेल मात्रै हेर्दैनन् उनका भावना पनि भएका भिन्न सोचका हुन्छन् । देशै वा विश्वनै स्टेडियम बनाउने राजनीतिक नेतृत्वलाई भने संविधान, कानुन र राष्ट्रसङ्घको कुनै चार्टरले पनि नियममा बाध्न सक्दैन । शक्तिका आफ्नै तर्क पनि हुन्छन् ।
नेपालगन्जका पनि राम्रा र नराम्रा आफ्नै ऐतिहासिक विरासत छन् । टोले भिडन्तलाई खेलले नै विस्थापित गरेर खेलाडीको सहरमा फेरिदियो । कुनै समय घरबारी टोल, गडिहनपुरवा र गगनगन्ज आपसमा भिडेर बिनाटिकटको बीभत्स तमासा सहरलाई दिन्थ्यो । ३० कै दशकमा व्यवस्थाले भिजलान्ते तयार गर्न गुराँस क्लब खोल्यो भने परिवर्तनवादी युवाले दीपेन्द्र क्लब । तब राजपुत्रको नाम राख्दा प्रशासनको विभाजन हुनु परेन । त्यससँगै टोले भिडन्तको ठाउँ राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन थलोमा फेरियो । हिन्दु, मुसलमान, पहाडी, मधेशी सबै खालका खेलाडी नायक बनेर निक्लिए, सबैले उनीहरूमाथि गर्व ग¥यो । आफ्नो सान, मान र गौरव सोच्यो ।
साहित्यको अभ्यासमा मुसायरा र गजलले पनि खेलजस्तै साम्प्रदायिक सद्भावमा टेका पु¥याउँदै गए । खेलाडी र साहित्यकार उन्मादीका आवेगमा नबगेर असहिष्णुतालाई घृणा मात्रै हैन प्रतिकार पनि गर्थे, अहिले पनि गर्छन् । खेल र साहित्यमा सबै जाति र धर्मका हुन्थे र हुन्छन् । बहुभाषिक कवि गोष्ठी नेपालगन्जको साहित्यिक परिचय हो । दङ्गा व्यवसायी उन्मादी भने खेल र साहित्यलाई रुचाउँदैनथे, अझै रुचाउँदैनन् । उनलाई लम्पट भिड आवश्यकता हुन्छ । खेल र साहित्यमा भने लम्पटको कुनै स्थान हँुदैन, दिल र दिमाखी ऊर्जाको मात्रै आवश्यकता हुन्छ । अझ खेलमा त इच्क्षा शक्ति भरपुर हुनु पर्छ । खेल र राजनीतिक सम्बन्धबारे
राजनीतिमा खलनायक भएका पनि खेल जगत्का भने नायक बन्ने पनि गर्छन् । कतिपय देशमा खेलाडी, साहित्यकार, कलाकार त्यस देशकै नायक बनेर देशले नै गौरव हासिल गरेको छ । पञ्चायतकालमा खेलको अत्यन्तै विकास भयो । त्यसपछाडि युवा राजनीतिबाट टाढा रहून् भन्ने आशय थियो । राणा शासन बचाउन जसरी नरशमशेरले एथलेटिक्स, फुटबल र क्रिकेटको संस्थागत विकास गराए । उनको राजनीतिक भूमिकालाई वास्ता नगरेर त्यसैले उनलाई नेपाली खेलकुदका पिता भनिएको हो । पञ्चायतकालमा त्यसै सोचको व्यवस्थित निरन्तरता शरत्चन्द शाहले गरे । अझै शाहका पालामा बनेका खेलका स्थायी संरचनाहरू खेल जगत् उपयोग र उपभोग गर्दै छ । खेलकुदका उनी पहलकर्ता नायक नै हुन् । उनीसँग सार्क, एसियाली र विश्वकपको योजना थियो । खेलाडी खोज्न र क्षमता पहिचान गर्ने कौशलता उनमा थियो । हरेक कामका सबल पक्ष इतिहासमा दरिएका हुन्छन् । अहिले भने खेलकुद मन्त्रालय सबै राजनीतिक पार्टीको रोजाइ नभएको मन्त्रालयमा पर्छ ।
चर्चा विदेशको पनि गरौँ । खाडीका मुलुकका शासकहरूको युवाशक्ति चरम उपभोगवादी वा खेलप्रेमी बनोस् भनेर अरब इमिरेटसमा आधुनिक स्टेडियम छन् । विश्वकप फुटबल कतारले आयोजना ग¥यो । अर्कोतर्फ, संसारका साना देश र कमजोर अर्थतन्त्रले पनि शक्ति राष्ट्रलाई पराजय गरेर कीर्तिमान खडा गरेका छन् ।
खेललाई सकारात्मक राजनीतिक अभ्यास भने दक्षिण अफ्रिकामा राष्ट्रपति नेल्सन मन्डेलाले गरे । २७ अप्रिल १९९४ मा रङ्गभेदबाट थिलथिलो देशले सबै सहभागी बनेको निर्वाचित पहिलो राष्ट्रपति पायो । १० मेमा मण्डेला राष्ट्रपति भए । तब अर्को वर्ष हुने रग्बी प्रतियोगितालाई अवसर बनाउने योजना बनाए । रग्बी दक्षिण अफ्रिकाको लोकप्रिय खेल हो ।
सप्तरङ्गी देश भनेर चिनिने दक्षिण अफ्रिकामा रग्बीका सबैजसो खेलाडी गोरा थिए भने क्याप्टेन कोलिसी पनि । पहिलो पटक गोराहरू सत्ता गुमेर अब के होला भन्ने संशयका बेला राष्ट्रपति मन्डेलाले क्याप्टेन कोलिसीसंँगै देशव्यापी यात्रा गर्दै उनलाई अफ्रिकी खेल नायकका रूपमा उभ्याए । तब जातमा विभाजित देश, संशयमा रहेका गोरा, आवेगमा आएर पुरानो अपमानको बदला लिन सक्ने कालाहरूलाई देशकै लोकप्रिय खेल रग्बीमार्फत काला र गोराबिचमा विभाजित दक्षिण अफ्रिकी जनताबिचको दूरीलाई मेटाएर साझा राष्ट्रिय गौरव बनाउन सफल भए ।
खेल र कूटनीति
परापूर्वदेखि नै खेल र कूटनीतिको गहिरो नाता छ । आधुनिककालकै चर्चा गरौँ । अमेरिकामा म्याकार्थीकाल कम्युनिस्ट फोविया ग्रसित उग्रतामा थियो । अझ सन् १९५० मा कोरियाली युद्धमा प्रवेश गरेपछि उसले चीनमाथि प्रतिबन्धसहित अन्य आर्थिक नियन्त्रण लागु ग¥यो । दुई देशबिच लगभग २० वर्ष न त कूटनीति न आर्थिक सम्बन्ध नै रह्यो । दुवै देशले अन्ततः एकअर्कालाई बन्द द्वार खोल्दा फाइदा देखे । चीनले अमेरिकासँगको घनिष्ठ सम्बन्धलाई सोभियत सङ्घसँग बढ्दो तनावपूर्ण सम्बन्धका लागि लाभदायक सोच्यो । उसले रक्तपातपूर्ण सीमा घटना शृङ्खलाको प्रकोप देखेको थियो । अमेरिकाले सोभियतलाई रोक्न चीनसँग नजिकिन खोजेको थियो । उसले उत्तर भियतनामसँगको शान्ति वार्तामा चीनको सम्बन्धलाई फाइदाका रूपमा लियो । त्यो घनिष्टता हुने सोचलाई जापानको नागोयामा सन् १९७१ मा आयोजित ३० औँ विश्व टेबलटेनिस च्याम्पियनसिप खेलले अवसर प्रदान ग¥यो । त्यस खेलकुद कूटनीतिलाई नै पिङ्गपङ्ग डिप्लोमेसी अथ्र्याइन्छ । त्यो खेल नै शीतयुद्धको चरम अवस्थामा अमेरिका र चीन सम्बन्ध जोडिने पुल बन्यो । विदेशमन्त्री हेनरी किसिन्जरको गोप्य चीन भ्रमणले दुई शत्रु राष्ट्र भनिएका देशका शीर्षस्थ नेता अध्यक्ष माओजेदुङ र राष्ट्रपति रिचर्ड निक्सनको २८ फेब्रुअरी १९७२ मा भेट गरायो । त्यसले शीत युद्धमा मात्रै सकारात्मक प्रभाव छोडेन, राजनीतिमा भिन्न विचार, सिद्धान्तको व्यावहारिक अभ्यासको ढोका खोल्ने नयाँ सिद्धान्तसमेत दियो ।
भारत र पाकिस्तानको स्वतन्त्रता नै कटुतामा भयो । सद्भावको मूल्य महात्मा गान्धीको ३० जनवरी १९४८ मा उग्रहिन्दुवादी नाथुराम गोडसेले हत्या ग¥यो । राजनीति घृणाले चल्न सक्दैनथ्यो । खेल कूटनीतिको सहारा लिएर १७ वर्षपछि १९७८ मा भारतीय प्रधानमन्त्री मोरारजी देसाईको पालामा भारत र पाकिस्तानबिच क्रिकेट फेरि सुरु भयो । भारतका देसाई र पाकिस्तानमा जनरल जियाउल हकको प्रयास र प्रेरित थियो । यहाँसम्म प्रधानमन्त्री देसाईले पाकिस्तानमा भारतको रिसर्च एन्ड एनालाइसिस विङ्ग (र) को जासुसी गतिविधि बन्द गर्नेसमेत आदेश दिए । उनलाई १९९० मा पाकिस्तानले त्यहाँको सर्वोच्च नागरिक पुरस्कार, निसान ‘ए’ पाकिस्तानले सम्मान पनि ग¥यो ।
राष्ट्रपति जनरल जियाउल हकले ‘शान्तिका लागि क्रिकेट’ अवधारणाको सुरुवात गरे । त्यसले निरन्तरता भने पाउन सकेन । प्रधानमन्त्री अटलविहारी बाजपेयीको अर्को सुरुवात कप्तान सौरभ गाङ्गुली र भारतीय क्रिकेट टिमलाई दिइएको सल्लाह अनुसार भारतीय टोलीले २००४ मा पाकिस्तान भ्रमण गरेको थियो ।
दक्षिण एसियाका शत्रु छिमेकीसँग शान्तिलाई प्राथमिकता दिन उनले काफी प्रयास गरे । नवाज सरिफसंँग लाहौर बस–कूटनीति पनि भयो । कूटनीतिक प्रयासमा सद्भावनाको प्रयासस्वरूप भारतीय क्रिकेट टिमलाई पाकिस्तान पठाएर एक जैतुन शाखा पनि विस्तार गरियो । बाजपेयीले भारतीय क्रिकेट टिमलाई दिइएको उपहार क्रिकेट बैटमा लेखिएको थियो, “सिर्फ खेल ही नहीं बल्कि दिल भी जितें, शुभकामनाएं ।” तर दुवै देशका धार्मिक अतिवादी र घृणा व्यवसायीलाई भने त्यो पचेन ।
व्रिmकेट कूटनीतिमै अप्रिल २००५ मा राष्ट्रपति मुसर्रफ नयाँ दिल्लीमा क्रिकेट म्याच हेर्न आउनुभयो । त्यो शान्ति स्थापनाको एक अर्को प्रयास थियो । २००४ देखि २००८ सम्म भारत र पाकिस्तानको क्रिकेट मात्रै हैन, व्यापक राजनीतिक सम्बन्ध पनि विकास भएको थियो । समय बित्दै जाँदा दुवैतर्फको धार्मिक अतिवादले न त खेल, न त राजनीतिक सम्बन्ध न कलाकार र साहित्यकार नै आदानप्रदान हुन दियो । त्यति मात्रै नभई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) पनि प्रभावित बन्यो ।
नेपालगन्जको साम्प्रदायिक सद्भाव कायम गर्न असहिष्णुता व्यवसायीका घृणा, असहिष्णुता र अभ्यास सूक्ष्म नियालिनु पर्छ । भावनाले उत्तेजक हुनेलाई पनि विवेकीजनले आस्थाभित्र लुकेका व्यवसाय नियाल्न प्रेरित गर्न आवश्यक हुन्छ । सद्भाव कायम गर्ने नामक पाखण्डी अभ्यासको ठाउँमा खेल, इभेन्ट एवं साहित्यका विभिन्न विधामा नेपाली, अवधी, उर्दु र था रू साहित्य कला र सङ्गीतलाई योजनाबद्ध विकास गरिनुपर्छ । उन्मादीहरूको कुनै धर्म र आस्था हुँदैन, घृणामा मात्र अस्तित्व देख्छन् । विवेकी समाजले भने जागृत अभियान चाल्नु अनिवार्य हुन्छ । हाम्रा सन्तानलाई उन्मादी नबनाउन र सहरको गौरव बचाउन र बढाउन, नयाँ पुस्तालाई उन्मादबाट जोगाउने सिद्धान्तको राजनीति, खेल, साहित्य, कला, सङ्गीत मात्रै हो भन्ने कुरा राज्य, समाज, सामाजिक अभियन्ता र संवेदनशील नागरिकले बुझ्नै पर्छ । त्यसैले खेल र यस्ता इभेन्टको प्रोत्साहन गर्न आवश्यक हुन्छ । त्यसैले म त ९ गते नेपालगन्ज म्याराथन दौडिन्छु ।