इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर ४ गते । पाल्पाको रामपुर नगरपालिका वडा नं.४ को आन्द्राकुदे र ५ को गौडान जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । स्थानीयको सहजताका लागि भुलादी खोलामाथि निर्माण गरिएको झोलुङ्गे पुल उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।
सङ्घीय क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत निर्माण भएको आन्द्राकुदे घाट पुलको प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले उट्घाटन गर्नुभएको हो । पुल उट्घाटनपछि कार्यक्रममा बोल्नुहुँदै आचार्यले रामपुर क्षेत्रको विकासका पूर्वाधार निर्माणका लागि पहल गर्दै आएको बताउनुभयो । उहाँले झोलुङ्गे पुल निर्माणपश्चात् स्थानीयलाई थप सहज भएको बताउँदै यस क्षेत्रमा रहेको गुफाको प्रवर्धन आवश्यक पहल गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले रामपुर नगरको विकासको लागि तीनै तहको सरकारबीच समन्वय गर्दै अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । त्यसैगरी, वरिष्ठ चार्टर्ड एकाउण्टेन तथा नेकपा एमालेका युवा नेता निल सारू र रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनालले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । समाजसेवी बुद्धिप्रकाश रेग्मीले झोलुङ्गे पुल निर्माणसँगै आन्द्राकुदे घाट वरपर रहेको वशिष्ठ गुफालगायत अन्य गुफाको प्रवर्धनमा जुट्ने समय आएको बताउनुभयो ।
८९ मिटर लम्बाइ रहेको झोलुङ्गे पुल निर्माणकार्य ४२ लाख ७१ हजार ५ सय ५८ रुपियाँ ९ पैसामा सम्पन्न भएको आन्द्राकुदे घाट झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर पुलामीले जानकारी दिनुभयो । कुल लागतमध्ये स्थानीयको जनश्रमदान ८५ हजार ४ सय ३१ रुपियाँ १६ पैसा, रामपुर नगरपालिकाको ५ लाख ५५ हजार ३ सय २ रुपियाँ ५५ पैसा, सङ्घीय क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमबाट नगद ३२ लाख १४ हजार ४ सय ५३ रुपियाँ ७३ पैसा र जिन्सी ४ लाख १६ हजार ३ सय ७० रुपियाँ ६४ पैसा छ । पुल निर्माणमा इन्द्रेणी समाज केन्द्र नेपालको सामाजिक तथा प्राविधिक सहयाेग थियो ।