• ९ मंसिर २०८१, आइतबार

बैङ्किङ कसुरसम्बन्धी मुद्दा बढ्दै

blog

बैङ्किङ कसुर तथा चेक बाउन्सका घटना वृद्धि भइरहेका छन् । त्यसमा पनि सबैभन्दा बढी चेकमार्फत कारोबार गरे पनि ठगिने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयको तीन वर्षयताको तथ्याङ्कले पनि दुई वर्षयता बैङ्किङ कसुरमा दर्ता भएका उजुरीले ‘ग्राफ’ बढिरहेको देखाउँछ । देशभर सबैभन्दा बढी चेक बाउन्स तथा बैङ्किङ कसुरमा मुद्दा आउने जिल्ला प्रहरी परिसर काठमाडौँमा हो । यहाँ यस्ता मुद्दाको चाङ नै छ । परिसरमा चेक बाउन्सका दैनिक २०÷२५ वटा उजुरी पर्ने गरेका छन् । ती उजुरी एक लाखदेखि दस करोडसम्मका चेक बाउन्ससम्बन्धी छन् । परिसरको तथ्याङ्क अनुसार बैङ्किङ कारोबार अन्तर्गत चेकमार्फत ठगी गर्नेको सङ्ख्या बढेको छ । 

बैङ्किङ कसुर अन्तर्गत चेक बाउन्स, हुन्डी, सहकारी ठगी, नेपाल राष्ट्र बैङ्कविरुद्धको ठगी, अनधिकृत रूपमा चेक, चेक बुक वा बैङ्क विवरण प्राप्त गर्न वा दिने कार्य, अनधिकृत रूपमा नगद निकाल्दा वा भुक्तान दिएको लगायत कसुर पर्छन् । यी मुद्दाको प्रहरीका चाङ नै छ । 

आव २०७९/८० मा बैङ्किङ कसुरसम्बन्धी सबै मुद्दामा ६९ अर्ब १५ करोड ८८ लाख २२ हजार ९४३ रुपियाँ हिनामिना भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । यी घटनामा प्रहरीले दुई हजार ४७७ जनालाई पक्राउ गरेको छ । प्रहरीमा सबैभन्दा बढी चेक बाउन्सका घटना छन् । २०७९÷०८० मा चार अर्ब ७५ करोड २६ लाख ६८ हजार ७७९ रुपियाँ ठगी भएको कसुरमा प्रहरीमा मुद्दा दर्ता भएको छ । चेक बाउन्सका घटनामा एक हजार ८७१ जना पुरुष र ४७० जना महिला संलग्न छन् भने १२ हजार ३० वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै हुन्डीसम्बन्धी अपराधका घटना पनि डरलाग्दो छ । 

२०७९/८० मा दुई करोड ५२ लाख ३१ हजार ४२५ रुपियाँ अवैध कारोबार भएको भन्दै प्रहरीले ३१ जना पुरुषलाई कारबाही प्रक्रियाअघि बढाएको छ । त्यस्तै प्रहरीमा सहकारी ठगीसम्बन्धी मुद्दाको पनि चाङ छ । १८ अर्ब ८२ करोड ७५ लाख ९४ हजार ८५१ रुपियाँ सहकारीमार्फत कारोबार भएको छ । सो घटनामा प्रहरीले ५१ जना पुरुष र १३ जना महिलालाई पक्राउ कारबाही प्रक्रिया अघि बढाएको छ । त्यस्तै नेपाल राष्ट्र बैङ्कविरुद्धको कसुरमा पनि पक्राउ पर्नेको सङ्ख्या धेरै छ । यस घटनामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ भने उनीहरूले नेपाल राष्ट्र बैङ्कको दुई अर्ब ४९ करोड ६८ लाख चार हजार १६० रुपियाँ हिनामिना तथा ठगी गरेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबाहेक प्रहरीमा बैङ्किङ कसुरसम्बन्धी मुद्दाको सङ्ख्या धेरै छ ।

आव २०७८/७९ मा बैङ्किङ कसुरमा १४ अर्ब २१ करोड ७५ लाख ७२ हजार रकम हिनाहिना भएको थियो । जसमा एक हजार ३५८ जना पुरुष र २१० जना महिला पक्राउ परेका छन् भने पाँच हजार ४१६ वटा मुद्दा दर्ता भएका छन् । यसवर्ष चेक बाउन्समा छ अर्ब ७१ करोड ९२ लाख ८५ हजार २२९ रुपियाँ ठगी भएको छ । त्यस्तै सहकारी ठगीका घटना पनि बढेको छन् । यसवर्ष १५ वटा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भए भने सात अर्ब ३९ करोड ३५ लाख २९ हजार रकम हिनामिना भए । हुन्डीमार्फत कारोबारमा १५ वटा मुद्दा दर्ता भए । यस घटनामा १८ करोड ६४ लाख तीन हजार ६५३ रुपियाँ अवैध कारोबार भएको नेपाल प्रहरीको तथ्याङ्क छ । 

त्यस्तै आव २०७७/७८ मा पनि बैङ्किङ कसुरसम्बन्धी घटना भए । यस वर्ष बैङ्किङ कसुरका दुई हजार ३६५ वटा मुद्दा दर्ता भएका छन् भने तीन अर्ब ३७ करोड ५८ लाख रूपियाँ हिनामिना तथा ठगी भएको छ । यसवर्ष प्रहरीले ८५४ जना पुरुष र १५८ जना महिलालाई पक्राउ गरेको थियो । त्यस्तै हुन्डीमार्फत अवैध रकम कारोबार गर्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने सहकारी ठगीमा पनि ६२ जना पुरुष र १५ जना महिला पक्राउ परेका थिए । 

बैङ्किङ कसुर र विद्युतीय कारोबार ऐन अन्तर्गतका मुद्दा २०८० असार ११ गते राजपत्रमा कानुन मन्त्रालयले सूचना प्रकाशन गरेसँगै अब जिल्ला अदालतहरूले हेर्न पाउने व्यवस्था सरकारले गरिसकेको छ । यसअघि बैङ्किङ कसुरसम्बन्धी मुद्दा उच्च अदालतले हेर्ने गथ्र्यो । प्रहरीका अनुसार चेकमार्फत १० लाखभन्दा बढीको कारोबार गर्दा व्यक्तिले आवश्यक कागजातसहित सम्पत्ति विवरण खुलाउनु पर्छ । कोही व्यक्तिले नक्कली कागजात बनाएर नभएको सम्पत्ति देखाएको छ भने प्रहरीले सम्पत्ति शुद्धीकरण विभागसँग प्रमाण माग्छ । पुरानो तथ्याङ्कलाई हेर्दा दुई वर्षयता बैङ्क तथा वित्तीय क्षेत्रमा हुने अपराध बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अपराधीको निसानामा बैङ्क तथा वित्तीय क्षेत्र परेकाले बैङ्किङ कसुरका उजुरी बढेको छ । 

पछिल्ला वर्षमा यससम्बन्धी घटनाहरू बढ्नुमा मुख्य त वित्तीय संस्थाकै कमजोरी मानिएको छ । त्यस्तै नियामक निकायका नीतिनिर्देशन प्रभावकारी रूपमा पालना नभएको कारणले पनि बैङ्किङ कसुरका घटना बढिरहेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार वित्तीय संस्था नाफाकेन्द्रित हुँदा सूचनाप्रविधिमा कम लगानी गर्दा पनि पनि बैङ्किङ कसुरका घटना बढेका छन् । 

के हो चेक बाउन्स ?

चेक काटिदिने व्यक्तिले आफ्नो बैङ्क खातामा रकम छैन वा रकम भए पनि पर्याप्त छैन भनी जान्दाजान्दै चेक काटिदिएमा चेक लिने व्यक्तिले प्राप्त गर्नुपर्ने रकम बैङ्कबाट प्राप्त गर्न नसकेको अवस्था अर्थात् कुनै पनि बैङ्कले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्था ‘चेक बाउन्स’ हो । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ । बैङ्कले पर्याप्त रकम नभएको जानकारीसहित अनादर गरेपछि कानुनी उपचार खोज्ने विधि बैङ्किङ कसुर तथा सजाय ऐन अनुसार २०६४ अन्तर्गत कानुनी प्रक्रियामा जान सकिन्छ । 

बैङ्क तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नु परेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी दिने गर्छ । यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैङ्कमा भुक्तानीका लागि बैङ्कमा आयो र त्यस समयमा पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नु प¥यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैङ्क तथा वित्तीय संस्थाले उजुरी दिने गर्छ ।

हरेक पटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट माग्नु पर्छ । चेक बाउन्स हुँदा बैङ्कले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्ने गर्छ । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैङ्क आफँैले जानकारी दिने गर्छ । तीन पटकसम्म चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी दिन सक्छ । कालो सूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैङ्किङ कारोबार गर्न पाउँदैनन् ।

कानुनी पक्ष

पछिल्लो मुलुकीसंहिता २०७४ अनुसार बैङ्किङ कसुरसम्बन्धी मुद्दा फौजदारीभित्र पर्छ । बैङ्किङ कसुरसम्बन्धी कानुन अनुसार खातामा पैसा नभएको चेक दिएर झुक्याउनेलाई ६० दिन हिरासतमै राखेर अनुसन्धान गर्न सक्ने अधिकार प्रहरीलाई छ । त्यस्तै बिगोसहित जरिबाना तथा क्षतिपूर्ति र तीन महिनासम्म कैद हुने व्यवस्था छ ।

  

Author

रामहरि कार्की