लीलाधर वली
घोराही, मङ्सिर ३ गते । दाङमा दसैँ र तिहार पर्वको समयमा दुईसय बढी सवारी दुर्घटना भएका छन् । दसैँ र तिहार पर्वका अवसरमा गत असोजको २७ गतेदेखि कात्तिक ३० गतेसम्म करिब एक महिनाको अवधिमा दुई सय ३१ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्लाका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु र दुईसय २६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक केसीका अनुसार दुर्घटनामा एकसय ६५ पुरुष र ६१ जना महिला घाइते भएका छन् ।
यो गतवर्षको चाडपर्वको समयमा भएका सवारी दुर्घटनाको तुलनामा बढी हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत वर्ष दसैँ र तिहार पर्वको अवसरमा करिब एक महिनाको अवधिमा एक सय ११ वटा सवारी दुर्घटना भएका थिए । जसमा ८७ जना घाइते र ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले प्रयास गरे पनि चाडपर्वको समयमा साना ठुला दुई सय ३१ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केसीले बताउनुभयो । प्रहरी उपरीक्षक केसीले भन्नुभयो, ‘चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सावधानी अपनाए पनि साना सवारी दुर्घटना धेरै भएका छन् । तर मानवीय क्षति भएको छैन ।’
चाडपर्वको समयमा बढी भिडभाड हुने, लाइसेन्स नभएका र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने भएका दुर्घटना बढी हुने गरेको प्रहरी प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार दुर्घटना मोटरसाइकल, स्कुटर, बस, ट्याक्टर, जिप लगायतका सवारी साधनहरू रहेका छन् ।