• २१ असार २०८१, शुक्रबार

छठपर्व मनाउने पहाडिया समुदाय बढ्दै

blog

छठपर्व

चितवन, मङ्सिर ३ गते । तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठपर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन् । छठीमाईको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने भन्दै पहाडिया समुदायका व्यक्ति पनि यस पर्वलाई मनाउन थालेका हुन् । तराई सामुदायिक सेवा समितिले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएको छ ।

यहाँ पूजा गर्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको समितिका सल्लाहकार राजकुमार गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो “तराई मुलकासँगै पहाडिया समुदायका व्यक्तिमा पनि छठपर्वको महत्त्व बढ्दै गएको छ । अहिले ४५ प्रतिशत हाराहारी पहाडिया समुदायका व्यक्तिले यो पर्वमा पूजा गर्ने गरेका छन् ।”

गुप्ताका अनुसार वि.सं २०२२ तिर नारायणगढमा छ/सात घरले मात्रै छठपर्व मनाउने गरेकामा अहिले यो सङ्ख्या बढेको हो । प्रकृति र अदृश्य शक्तिसँग जोडेर सूर्य भगवानलाई पूजा गर्ने गरिएको उहाँको भनाइ थियो । उहाँले थप्नुभयो “छठीमाईको पूजा गर्दा सन्तान प्राप्ति हुनुका साथै दीर्घरोग निको हुने विश्वासका साथ मनाइने गरिएको छ ।” छठपर्वप्रति आस्था र विश्वास बढ्दै गएको गुप्ताले  बताउनुभयो ।

व्रत बस्ने र छठीमातालाई प्रसाद चढाउनेको सङ्ख्या पहाडिया समुदायमा बढ्दै गएको भन्दै उहाँले भन्नुभयो “पहाडिया समुदायका व्यक्ति तराई समुदायका व्यक्तिकामा गएर पर्वको विधिबारे बुझ्ने र आफूले पनि मनाउने प्रचलन बढ्दै गएको छ ।”

नदी किनारमा बसी बालुवाको स्तूप बनाउने भन्दा प्रसाद चढाउन आउने पहाडिया समुदाय धेरै रहेका समितिका सल्लाहकार गुप्ताले जानकारी दिनुभयो । यसवर्ष नारायणी नदी किनारमा २५/३० हजार भक्तजनले छठीमाईको पूजा गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । समितिले पूजा व्यवस्थापनका लागि नदीको बगरमा त्रिपाल टाँगेर व्यवस्थित गरेको छ । व्रत बस्ने भन्दा हेर्न आउनेको सङ्ख्या निकै धेरै हुने उहाँले जानकारी दिनुभयो ।

भरतपुर–१० की जुना पौडेलले विगत पाँच वर्षदेखि छठीमाईको पूजा गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो “छठीमाईको बर्त बस्दा मनलाई शान्ति मिल्नुका साथै मनोकाङ्क्षा पूरा भएपछि हरेक वर्ष व्रत बस्ने गरेकी छु ।” आफू मात्रै नभई अन्य दिदीबहिनी पनि परिवारको श्रीवृद्धि र दीर्घायुको कामना गर्दै छठपर्वको व्रत बस्ने गरेका उहाँको भनाइ थियो ।

भरतपुर–१९ की नवीना चौलागाईं ढकालले दुई वर्षदेखि छठपर्वको व्रत बस्न थालेको बताउनुभयो । छठीमाईप्रति विश्वास भएकाले व्रत बस्न थालेको बताउँदै उहाँले व्रत बस्दा मनोकाङ्क्षा पूरा भएको अनुभव सुनाउनुभयो । विधिपूर्वक व्रत बसेर आज अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य चढाउने, प्रसाद चढाउने गरेको उहाँले जानकारी दिनुभयो ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठपर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल भरि धूमधामका साथ मनाइँदैछ ।

छठपर्वका अवसरमा सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा अर्घ्य चढाउने गरिन्छ । छठपर्व सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा मनाउने गरिन्छ । रासस