• २१ असार २०८१, शुक्रबार

सामा-चकेवा खेलिँदै

blog

जनकपुरधाममा सामाको पहिलो दिन । तस्विर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, मङ्सिर ३ गते । नेपालको पूर्वी तराई भेगमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व हो 'सामा–चकेवा' । यो पर्व छठको एकदिन पूर्व गरिने खरना विधिको दिनबाट प्रारम्भ भएको छ । 

तराई मधेशमा छठ पर्व आगमनसँगै चेलीबेटी र माइती पक्षका बीच रहेको अटूट श्रद्धा एवम् प्रेमको प्रतीक सामा–चकेवा पर्व शनिबारबाट प्रारम्भ भएको हो । दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामनासहित गीति शैलीमा गाउँदै खेल्दै रामाउँदै लोक पर्व कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनादेखि पूर्णिमाको दिनसम्म मनाइने गरिन्छ । नौंदेखि एघारौं दिनसम्म खेलिने उक्त पर्वमा चंगेरा, डलिया (बाँसले बनाइएको डालो) मा माटोेले बनाइएका रङ्गीचङ्गी सामा, चकेवा, चुगलालगायतका आकृति बनाई दियो बालेर चौक वा टोल गल्ली सडकमा गएर प्रत्येक साँझदेखि मध्यरात दिनसम्म खेलिने पर्व हो ‘सामा’ । 

सामा अधिकांश रुपमा गाइने गीतमध्ये “सामा खेले चलली सखीसँग सहेली हो.., साम चके साम चके अइहो हे जोतला खेत में बैसिहो है.., चुगला करे चुगलपन बिलैया करे म्याउँऊं, चुगला के फांसी देऊ” जस्ता लोकगीत भाकाका गाउँदै चुगलाको मूर्तिमा टाँसिएको दाह्री र जुँगालाई प्रत्येक दिन बलेको दियोमा डढाउँदै र त्यस चुगलाको प्रतिमालाई महिलाहरूले कुटेपिटे झैं गरी सामा खेल्दै यो पर्व मनाउने गरिन्छ । 

तराई मधेशको लोकपर्व मानिने सामा तराईका बजार क्षेत्रमा लुप्त हुँदै गए पनि गाउँघरतिर अझै पनि यसको महत्व उत्तिकै रहेको जनकपुरधामस्थित माइती घर आउनुभएकी मुन्नी सिंह बताउनुहुन्छ । "विभिन्न गाउँटोलमा आजभोलि सामा चकेवाको गीत गुञ्जिँदा पुराना दिनहरु सम्झना आउने गर्छ", मुन्नी भन्नुहुन्छ । चेलीबेटी घरबाट डालामा माटोका मूर्ति, दियो बालेर एकै स्थानमा भेला भइ सामाचकेवा खेल्ने मध्यरातमा विभिन्न चोक चौराहामा गएर खेलिने सामामा दाजुभाइका निम्ति दिदीबहिनीले लोकभाकामा गीत गाउँदै यस पर्वले मिथिलाको लोकसंस्कृतिलाई जोगाएर राखेको उहाँ बताउनुहुन्छ । 

मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको मानिँदै आएको छ ।

जनकपुरधाम–४ मा सामा खेल्दै गरेकी स्थानीयवासी कञ्चन कर्णले सामामा खेलिने त्रममा गाइने लोकगीतले मिथिलाको भाषा संस्कृति तथा परम्परालाई जोगाउनुका साथै परम्परादेखि चलदै आएको दाजुभाइ र दिदीबहिनीप्रतिको प्रेम दर्शाउने पर्वलाई जोगाएको बताउनुहुन्छ । उहाँले यो पर्वका लागि द्वितीया तिथिका दिनदेखि दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गर्दै छठपर्वको खरना वा पारणदेखि यस पर्वको क्रियाकलाप तीव्र रुपले चल्ने गरेको बताउनुभयो । ‘दाजुभाइको दीर्घायुको कामनाका गर्दै गीत गाउँदै सामा खेल्ने परम्परा चलिआएको उहाँ बताउनुहुन्छ । 

दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार मानिने यस पर्वले भाइ–बहिनीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्ने विश्वास समेत रहँदै आएको मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरी भ्रमर बताउनुहुन्छ ।

द्वापरयुगदेखि चली आएको सामा–चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्षाेल्लास र लोकाचारका साथ मनाउने यस पर्वमा विशेष गरी  नेपालका पूर्वी तराईका भेगका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन् ।

‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइती पक्षका बीच रहेको अटूट श्रद्धा एवम् प्रेमको प्रतीक मानिने यस पर्वमा गाइने भाकामा दाजुभाइका नाम उच्चारण गर्दै गीत गाउने यस पर्व खेलेको दशौं वा एघारौं दिन पूर्णिमाका तिथिमा नजिकैको पोखरी वा नदीमा सामा चखेवा भसाउने (विसर्जन) गरेपछि मिलिथाको लोकपर्व सामा समापन हुनेगर्छ ।

पद्मपुराण, स्कन्दपुराण र साम्बपुराण जस्ता विभिन्न पुराणमा यो पर्वको सम्बन्धमा चर्चा गरिएको पाइन्छ । ‘सामा–चकेवा’ लोकपर्वको शुभारम्भ द्वापरयुगमा भगवान कृष्णको समयदेखि नै भएको मानिन्छ ।