• १३ साउन २०८१, आइतबार

लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’

blog

कपिल ज्ञवाली 

सिद्धार्थनगर, मङ्सिर २ गते ।  बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरवर्ग स्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो । 

रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउन्डेसन र रुसका बौद्धमार्गीको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनले जानकारी दिनुभयो ।

लुम्बिनी क्षेत्र विकास कोषभित्र रहेको एक बिघा क्षेत्रफल जमिनमा रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भई सन् २०२५ मा निर्माण सम्पन्न हुने लक्ष्य रहेको गौचनले बताउनुभयो । एक समारोहका बिच रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएको भिक्षुको बौद्ध पाठपरायणसहित रसियन राजदूत असेक्सेई नोभिकोभले मन्दिर निर्माणको शिलन्यास गर्नुभएको थियो । सो अवसरमा रसियाबाट आएका बौद्ध भिक्षु लामा बुदा बदमाएफ, जम्बालभ छिरिगङ्छाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमनले विशेष बौद्ध पाठपरायण गर्नुभएको थियो । नेपालको सिई कन्स्ट्रक्सनले साढे दुईतले मन्दिर निर्माण सुरु गरेको छ ।

रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता भई हाल निर्माण सुरु भएको हो । जहाँ रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाको डिजाइन गरिएको छ । शिलन्यास कार्यक्रममा बोल्दै रसियन राजदुत नोभिकोभले नेपाल रसिया मैत्री सम्बन्धमा संस्कृति आदानप्रदान उद्देश्यसहित बुद्ध जन्मभूमिको जमिनमा रसियन गुम्बाको निर्माण सुरु गरेको बताउनुभयो ।

उहाँले शान्तिको सन्देश बुद्धभूमि लुम्बिनी नेपालदेखि रसियाको सम्बन्ध थप प्रगाढ बन्ने बताउनुभयो । साथै राजदूतले नेपाल रसिया सम्बन्धमा लुम्बिनीको ‘रुसी बौद्ध मन्दिर’ कोसेढुङ्गा साबित बन्दै भावी पुस्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । शिलन्यास समारोहमा रुस नेपाल मैत्री समाजका उपाध्यक्ष दीनानाथ राजभण्डारीले दुई देशबिच द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने यो प्रयास संस्कृति संरक्षणमा बुद्धभूमि नेपालको पहिचान थप उजागर बनेको स्पष्ट पार्नुभयो ।

रुसी बौद्व समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसार शान्ति स्रोत राष्ट्र बन्न सक्ने बताउनुभयो । लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल ब्रजाचार्यले लुम्बिनीबाट प्रवाह हुने शान्ति सन्देशलाई संसारभरका मानव जातिले महत्वका साथ हेर्ने दाबी गर्नुभयो ।

नेपालको तर्फबाट रुसका लागि पूर्वराजदूत ऋषिराम घिमिरेले नेपाल र रसियाबिचको सम्बन्ध आपसी सहयोग, सद्भाव र मैत्रीको प्रतीकका रूपमा रहेको उल्लेख गर्दै बुद्ध भूमिको महत्व बढाउन नयाँ कडि भएको उल्लेख गर्नुभयो ।

नेपालले रुसको सदाशयतालाई सम्मान गरेर त्यसबाट लाभ लिनुपर्ने एनआरएनएका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले बताउनुभयो । उहाँले बौद्ध धर्म संस्कृति, समाज तथा जनजीवनको अध्ययनसँगै मन्दिर निर्माणले दुई देशबिच दौत्य तथा मैत्री सम्बन्ध विधिवत् रूपमा थप विस्तार गरेको बताउनुभयो ।

यसमा प्रवासी नेपालीले समेत सहजीकरण गरेको लु्म्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी गराउनुभयो । बुद्धको जन्मस्थान लुम्बिनीमा २७ देशले आफ्नो देशको प्रतिनिधित्व हुने गरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेका शाक्यले बताउनुभयो । लुम्बिनी विकास कोषका अनुसार, ४० वटा देश तथा सङ्घ संस्थालाई संरचना निर्माणका लागि सम्झौता भएको हो ।